गठबन्धनविरुद्ध माओवादी उम्मेदवार: तनावमा कार्यकर्ता

हामीमाथि ठुलो अन्याय भयो, माओवादी कार्यकर्ताहरु गठबन्धनबाट पीडित छौं, पार्टी विघटनबाट जोगाउन स्वतन्त्रसहित सबै वडामा उम्मेदवारी दर्ता गराएका छौं । ८ वडा दिएको भए कुरा मिल्न सक्थ्यो, हामीलाई निकै तुच्छ व्यवहार गरियो, हाम्रो तागतलाई केन्द्रलेनै खुम्च्याएर अन्यायमा पार्यो ।


केन्द्रले तालमेलका क्रममा पार्टी बिघटनकै जोखिममा पुग्नेगरि बेवास्ता गरेको भन्दै नेकपा (माओवादी केन्द्र) ले नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनविरुद्ध जाने निर्णयसहित उम्मेदवारी दर्ता गराएको छ ।


नगर प्रमुखमा टंक धामी र उपप्रमुखमा ताराकुमारी रोकायलाई पार्टी नेताहरुले समर्थक प्रस्तावक जुटाएर ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गराएको माओवादीले २३ वटै वडामा उम्मेदवार उठाएको जनाएको छ । ‘हामीमाथि ठुलो अन्याय भयो, माओवादी कार्यकर्ताहरु गठबन्धनबाट पीडित छौं,’ माओवादी केन्द्रका नेता–कार्यकर्ता भन्छन्, ‘पार्टी विघटनबाट जोगाउन स्वतन्त्रसहित सबै वडामा उम्मेदवारी दर्ता गराएका छौं ।’

ठुला पार्टीहरु शक्ति प्रदर्शनसहित सोमवार मुख्य निर्वाचन कार्यालय नेपालगन्जमा उम्मेदवारी दर्ता गराउन आउँदा माओवादी कार्यकर्ताहरुको उत्साहप्रद प्रदर्शन देखिएन । ‘अबेर राती ११ः३० बजे नेकपा (माओवादी केन्द्र)बाट नेपालगन्ज उपमहानगरपालिका वडा नं.०४ को अध्यक्ष पदमा मैले उम्मेद्वारी दर्ता गराएको छु,’ युवा नेता गोपाल पुनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै भनेका छन् ।


सत्तागठबन्धनमा रहेका दलका केन्द्रिय तहका नेताले नेपालगन्जमा तालमेल गर्ने सहमति गरे । तर, माओवादी केन्द्र नेपालगन्ज कमिटीले पत्रकार सम्मेलननै गरेर गठबन्धनमा नरहने घोषणा गर्यो । माओवादी नगर अध्यक्ष रतन शाहीले सबै वडामा उम्मेदवारी दिइएको जानकारी दिंदै भने, ‘मेयर, उपमेयरमा हाम्रै साथीहरुले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।’


बाँडफाँडमा नेपाली काँग्रेस र जनता समाजबादी पार्टी (जसपा) ले नगर प्रमुुख र उपप्रमुख पाएपछि माओवादीले १५ वडाध्यक्ष माग गरेका थिए । काँग्रेस र जसपाको हैकमबादी चरित्रका कारण गठबन्धन हुन नसकेको प्रतिक्रिया माओवादी अध्यक्ष शाहीको छ । ‘कम्तिमा ८ वडा दिएको भए कुरा मिल्न सक्थ्यो,’ काँग्रेसले माओवादीले जितेका वार्डमात्रै दिन सकिने भनेपछि कुरा भाँडिएको जानकारी दिंदै एक नेताले भने, ‘हामीलाई निकै तुच्छ व्यवहार गरियो, हाम्रो तागतलाई केन्द्रलेनै खुम्च्याएर अन्यायमा पार्यो ।’


दिनभर जसो उम्मेदवारी दिने विषयलाई लिएर माओवादीमा अलमल थियो । अबेरराती उम्मेदवारी दर्ता गराएका माओवादीहरु मंगलवार पनि प्रचारप्रसारमा कसरी जाने भन्ने अन्योलमै देखिन्थे ।

प्रचार–प्रसारमा हुनुहुन्न त, उम्मेदवारी फिर्ता लिंदै हो र ? दैनिक नेपालगन्जको जिज्ञासामा नगरप्रमुख पदका उम्मेदवार धामीले आफ्नो उम्मेदवारी पदको बार्गेनिङ वा फिर्ता लिनका लागि नभै ‘विवेकशील राजनीतिका लागि’ भएको बताए । ‘अब कसरी जाने भन्ने छलफलमैं छौं,’ सोमवार साँझ धामीले दैनिक नेपालगन्जसँग भने, ‘हामी घोषणापत्र बनाउने देखि प्रचारका योजना तयारीका लागि टिम बनाउँदैछौं, २÷३ दिनमा पत्रकार सम्मेलनमार्फत सबै सार्वजनिक गरिनेछ ।’


धामी माओवादीको संस्थागत सिफारिसमा परेका आकांक्षी हुन् । उनीसँगै नविन शर्मा, आदेश अग्रवाल र तेज प्रसाद रेग्मीको नाम सिफारिश गरिएको थियो । सिफारिसमा परेका अर्का आकांक्षी नन्दलाल बैश्य बाँडफाँड नमिलेपछि रातारात टिकटसहित राप्रपा पसेर नगरप्रमुखमा उम्मेदवारी दिइसकेका छन् ।

उप–प्रमुख रोकाया पनि माओवादी सिफारिसमा परेकी उम्मेदवार हुन् । उनीसँगै सिफारिसमा परेकी कस्मिरा खातुनलाई वडा नम्बर २ को वडाध्यक्ष उठाइएको छ । ‘माओवादी भोट जोगाउन योजनामैं उम्मेदवारी दिइएको हो,’ माओवादी नेताहरु ‘प्रचण्डको कारबाहीको धम्कीबाट जोगिन’ उम्मेदवार बन्नेमा हानाथाप भन्दा भागाभाग भएको जानकारी दिंदै भन्छन्, ‘गठबन्धनका कारण स्वतन्त्र भनिएपनि माओवादीका आधिकारिक उम्मेदवार हुन् ।’


माओवादी केन्द्रले नेपालगन्जको वडा नं १ मा निरक पोखरेल, २ मा कस्मिरा खातुन, ३ मा याकुव अन्सारी, ४ मा गोपाल पुन, ५ मा मुस्तफा हलवाई, ६ मा झुपलाल रावल, ७ मा कलिम राई, ९ मा फरजन खाँ, १० मा धन बहादुर पुन, ११ नन्दकिशोर कहार, १२ मा तिरथराम चिडिमार, १४ मा गुलाम रसुल, १५ मा राकेश बर्मा, १६ कलिम प्रधान, १८ मा परमेश्वर डिसी, १९ शम्भुनाथ योगी, २० धर्मराज सत्याल, २१ मा रज्जित खाँलाई वडाध्यक्षको उम्मेदवार बनाएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तुलसी मणि केसीले जानकारी दिए ।

माओवादी केन्द्रका नेताहरुले केन्द्रबाट प्रमुख–उपप्रमुखसँगै वडा पनि टुंग्याइदिएको भए यसखालको समस्या नआउने बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया