४० डिग्रीको गर्मीले छेकेन निर्वाचनप्रतिको उत्साह

देबेन्द्र राज पौडेल
‘वाह निर्वाचनको रौनक !’ नहोस् पनि किन, ५ बर्षमा एकचोटी आउने पर्व । लोकतन्त्रको गहना, निःशर्त आवधिक निर्वाचन । जनताले आफुले चाहेको जनप्रतिनिधि छान्ने अवसर ।
यो अवसरलाई नेपालगन्जमा सोमवारको झण्डै ४० डिग्री तापक्रमले पनि उत्साहमा प्रतिकुल प्रभाव पार्न सकेन । पार्टी कार्यकर्ताहरुको उत्साहमा गर्मीका कारण कुनै कमी थिएन । वडा वडामा स्थापना गरिएका राजनीतिक दलका निर्वाचन लक्षित कार्यालयबाट समूहमा निस्केर भेला भई कार्यकर्ता तथा समर्थक बाजागाजा र नाँचगानसहित सम्बन्धित पालिकाका निर्वाचन कार्यालयमा पुगेका थिए ।
रंगीविरंगी ब्यानर । पार्टीका चुनाव चिन्ह झल्किने सेता, हरिया र राता टिसर्ट र टोपीमा सजिएका सहभागीहरु । जोशिलो नारा । संगीतमय वातावरण । वरिपरी कार्यकर्ता विचमा नाँचगान । उम्मेदवारहरु प्रायःले फूलका माला र खादा लगाएका । बजार र चोक सबैतिर पार्टीका झण्डा सहितका मोटरसाइकल कुदिरहेका । सबैको मनमा विजयी भाव । चर्को गर्मीको परवाह विना र्यालीमा सहभागी । अबिर जात्रा । यो दृश्य सोमबार बाँकेका ८ वटै निर्वाचन अधिकृतको कार्यालय वरिपरी देखिए । बाजागाजा सहितको दृष्यले जिल्ला पुरै रमाएको देखियो । बाँकेमा उत्साह र उत्सवपूर्ण उम्मेदवारी दर्ता गरिएका छन् ।
‘सबै पालिकामा शान्तिपूर्वक मनोनयनपत्र दाखिला भएको छ,’ जिल्ला सुरक्षा समितिका प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘कहिंकतै कुनै खालको अप्रिय अवस्था आएन, त्यसका लागि आवश्यक समन्वय र सुरक्षा व्यवस्था मिलाइएको थियो ।’
बाँकेका आठ वटै स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयहरुमा आगामी बैशाख ३० गतेका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

‘पाँच बर्षपछि हुन लागेको निर्वाचनमा मतदाता उत्साहित छन्’, नेपालगन्जको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता हेर्न पुगेका राजेन्द्र शर्माले संवाददातासँग भने । दलीय गठबन्धनको किचलो र आरोप प्रत्यारोपबीच निर्वाचन हुने नहुनेमा आशंका भइरहँदा भएको उत्साहप्रद मनोनयनले निर्वाचनको सुनिश्चितता गरेको शर्माको भनाइ थियो ।
लोकतन्त्रको सुन्दरता नै नागरिकहरुको सक्रियतापूर्वक हुने सहभागिता हो । विना संकोच मतदाताहरु अझ उल्लेख्य मात्रामा युवाहरुको सहभागितालाई उम्मेदवारी मनोनयन दर्ता रयालीमा देखिएको थियो । कतिपय अपाङ्गता भएका व्यक्तिहरु समेत साधनको सहारामा निर्वाचन कार्यालय पुगेका थिए, पार्टीका र्यालीमा सहभागी हुँदै ।
निर्वाचन कार्यालय सहित पुगेका दलका समर्थकहरुले आफ्नो पार्टीको पक्षमा चर्को नारा लगाएका थिए । ‘निर्वाचनले एउटा माहोल तयार गर्छ, पर्व आए जस्तै लाग्छ निर्वाचनका बेला’, र्यालीलाई नजिकैबाट नियाली रहेका युवा हरि क्षेत्रीले भने, ‘आफ्नो पार्टीका समर्थनमा आएपनि निर्वाचन ठूलो कुरा हो, जनताले आफ्नो उम्मेदवार छान्न पाउने अवसर हो ।’ उनले यसपाली राजनीतिक दलहरुले गठबन्धनका नाममा दलविहीनता ल्याएको भन्दै व्यक्ति हेरेर मत जाहेर गर्ने बताए । ‘विकासका पक्षमा उभिन सक्ने भरपर्दाे व्यक्ति छानिनेछ,’ उनले भने ।
निर्वाचन अधिकृतका कार्यालयहरु बाहिर समर्थकहरुको नारा जुलस गरिरहँदा उम्मेदवारहरु मनोनयनका लागि भित्र छिरेका थिए । उनीहरु आफ्ना समर्थक तर्फ हात हल्लाउने र अभिवादन गरेको पाइन्थ्यो ।

रोचक त के भने, उम्मेदवारीका लागि छुट्टाछुट्टै समय दिइएपनि बजारका ठाउँ ठाउँमा पार्टीका र्याली एकआपसमा भेटिए । निर्वाचन कार्यालयमा समेत समूहमा रहेका फरक पार्टीका समर्थकले चर्को स्वरमा नारा लगाउँदै रमाउँदै थिए । नारा र गीतका बीचमा फरक पार्टीका समर्थक एक, अर्कालाई हेरेर मुस्कुराउने गरेको पाइन्थ्यो । कहिंकतै दलका कार्यकर्ताबीच मनमुटाव देखिएन । ‘हामीमा मत नमिल्ला, तर मन नमल्निु पर्नेपनि छैन,’ परसपुरबाट र्यालीमा सहभागी हनिफ जोलाहले भने, ‘लडाई झगडा गर्नु किन ?’
चुनावमा जनता मतदानका लागि आतुर छन्, उत्साहित छन् भन्ने आइतवार र सोमवारका दलीय र्यालीले पनि देखाएको छ । चुनावको लागि जनताको समर्थन हो यो । यसले लोकतन्त्रलाई संस्थागत गर्न र जनताका लागि अधिकारको स्वाद दिलाउन सकारात्मक योगदान दिने विश्लेषकहरु बताउँछन् ।

चुनाव प्रतिको उत्साहले स्थानीय तहको निर्वाचनको सम्पुर्ण सफलताको मार्ग प्रशस्त गरेको छ । नागरिकहरुको सक्रिय हस्तक्षेपका लागि चुनाव अपरिहार्य छ । र, त्यो चुनावमा विवेकको प्रयोग गर्न समेत नागरिकको उत्साहले सहयोग पुर्याउँदछ । मात्र यो उत्साहलाई विवेकसम्मत निर्णय गर्नका लागि मतदानका दिनसम्म पुर्याउन राजनीतिक दलहरुको सचेतपूर्ण अभियानको खाँचो छ । ‘काम गर्नेलाई सत्तामा पुर्याउने, नगरेकालाई फिर्ता ल्याउने मौका पनि हो, निर्वाचन,’ सोनिया श्रीषले आफ्नो धारणा राखिन्, ‘आवधिक निर्वाचनको सुनिश्चितता पनि गतिशील लोकतन्त्रको आधार हो ।’













