बाँके : एमालेले टुंगो लगायो उम्मेदवार

नेकपा एमाले बाँकेले बाँकेका आठ वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख पदको उम्मेदवारको टुंगो लगाएको छ । यसअघि नै केही स्थानीय तहमा उम्मेदवारहरुको निर्णय गरिसकेको एमालेले आइतबार सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो । आइतबार दिउँसोसम्म धेरै वडा तहको उम्मेदवार छनोट गरेको एमालेले आइतबार नै सबै वडाध्यक्ष सहित सबै पदको टुंगो लगाउने बाँके सचिव रत्न खत्रीले बताएका छन् ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार, नेपालगन्जमा मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाल, नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा पदमावति यादव र उपाध्यक्ष पदमा रामकुमार दीक्षितलाई उम्मेदवार बनाउने निर्णय भैसकेको जानकारी दिएका छन् । नेपालगन्जका प्रमुख र उपप्रमुख पदका उम्मेदवार यसअघि नै प्रचारप्रसारमा रहेका छन् ।

एमाले बाँकेका अनुसार, खजुरा गाउँपालिकाको अध्यक्षमा सुमन मल्ल, उपाध्यक्षमा नजिरा बेगम, डुडुवामा सरोजकुमारी यादव प्रमुख र उपप्रमुखमा सकिल खाँ, राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष पदमा रामदास थारु र उपाध्यक्ष पदमा चमेली बागबललाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै, कोहलपुर नगरपालिकाको मेयरमा खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारुलाई उम्मेदवार बनाउने निर्णय नेकपा एमालेले गरेको हो । जानकी गाउँपालिकामा हेमान्सु यादव अध्यक्ष र उपाध्यक्षमा भूमिसरा धिताल, बैजनाथ गाउँपालिका अध्यक्षमा घननाथ खनाल र प्रेमपूर्ण योगीलाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय नेकपा एमालेले गरेको छ ।

एमाले बाँकेलाई वडाध्यक्षको उम्मेदवार कतिपय ठाउँमा आकांक्षी धेरै हुँदा निर्णय लिन भने सकस भएको पार्टी सम्बद्ध नेताहरुले बताएका छन् । ‘कतिपय वडामा धेरै वडाध्यक्षको दाबी गरेपछि मिलाउन समय लागेको छ, आइतबार अबेरसम्म सबै टुंगो लाग्छ’, एक नेताले भने ।

प्रतिक्रिया

प्रतिक्रिया