बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा विशेष गरी महिलासंग जुडेका मुद्दा र विषय उजागर गरिदैँ आइरहेको सर्वविदितै छ । तथापि अहिले यो स्तम्भमा रमजान विशेषमा महत्वपूर्ण विषयमा जानकारी साझा गरिरहने हँुदा आज तराबीह नमाज र महिला विशेष छ । हुन् त यो विषय अलि पहिला नै उठाउनु पर्ने रहेछ । तथापि मुद्दा यस्तो छ कि पवित्र रमजानको पहिलो असरा बितिसकेपछि साझा गरे पनि सदा सदाका मुस्लिम महिला पाठकहरुका लागि उपयोगी भइरहनेछ । यो विषय कहिल्यै पनि आउटडेटेड वा पुरानो हुनेछैन् । हामीले हेर्ने गरेकाछौं पवित्र रमजानको महिनामा सबभन्दा बढी कामको भार महिला माथि रहेको हुन्छ , त्यो पनि रोजा बसेर अझ् गरमगर्मीको मौसममा ।
जति गर्मी चिसो भए नि बिहान उठेर सेहरीका लागि खानेकुरा बनाउने जिम्मा महिलाको नै रहेको हुन्छ । त्यसपछि सबलाई पस्किने खुवाउने, भाडा माझ्ने, सरसफाई गर्ने, बच्चाहरुको हेरचाह गर्ने उनीहरुको लागि खाजा खाना बनाउने, स्कुल पठाउने र घरमा पढाउने, बुढापाका र बिरामीलाई हेर्ने, लुगाकपडा धूने, साँझ इफ्तारी र खाना पकाउने यी सारा काम महिलाले गर्छिन् । अब यतिका काम र जिम्मेवारी पश्चात त पाँच पटकको नमाज पढ्न पनि हम्मेहम्मे हुन्छ उनलाई । उनलाई काम र पाँच समयको नमाज मात्रै महत्वपूर्ण लाग्छ र त्यसको लागि मात्र समय निकाल्छिन् । तराबीहको २० रकात पढ्न त सोच्नै भ्याउदैनिन् । किनकि उनलाई तराबीहको महत्व बारे थाहा नहुन नि सक्छ अथवा महत्व थाहा भए पनि पढ्न न आएको हुन सक्छ । यस कारण आज हामी यस लेख मार्फत तराबीह नमाजको महत्व र पढ्ने तरिका बारे चर्चा गर्नेछौं ।

तराबीह नमाज
तराबीह नमाज साबान महिनाको अन्तिम तारीखका दिन साँझपख चन्द्रमा हेरिसकेपछि पढ्न सुरु गरी रमजानको अन्तिम तारीखका दिन साँझपख चन्द्रमा देखिसकेपछि सकिन्छ । यो नमाजमा २० रकत हुन्छ जुनकि सुन्नते मोअक्किदा रहेको हुन्छ । सुन्नते मोअक्किदा भनेको पढ्नै पर्ने नमाज हो पढे पुण्य नपढेमा पापको भागिदार भइन्छ । यो लेख लेख्नुको मुख्य आशय चाहिँ जुन महिला दिदीबैनीहरु तराबीह नमाज पढ्न ढिलासुस्ती गरी छाडिदिन्छिन् । उनीहरुलाई यसको महत्व बारे जानकारी गराउनु हो । तराबीह नमाज कुनै फरक ढंगले पढिने नमाज होइन यो नमाज पनि बाकी नमाज सरह नै पढिन्छ । तराबीह नमाज पढ्नका लागि उत्तम हुन्छ कि २० सुरह कण्ठ होस् । तर २० सुरह कण्ठ छैन् भने १० साना सुरह कण्ठ भयो भने त्यही १० सुरहलाई नै २० रकतमा दोहोरिएर पढ्न सकिन्छ । यदि १० सुरह पनि कण्ठ छैन भने पनि कुनै आपत्ति छैन्, जति सुरह कण्ठ छ तिनै सुरहलाई दोहोरिएर तेहरिएर बारम्बार पढ्न सकिन्छ ।

तराबीह नमाज पढ्नुभन्दा पहिला ईशाको नमाजको ४ रकत सुन्नत, ४ रकत फर्ज, २ सुन्नत,२ नफ्ल २० रकत तराबीह ३ वित्र र २ नफ्ल पढ्नुपर्छ । पहिला मनमा २० रकत तराबीहको नीयत गर्नुपर्छ । यसमा दुई दुई रकत नमाज गरी जब चार रकत पुरा भइहाल्छ तब बसेरै यो दुआ पढ्ने ‘सुब्हाना जिलमुल्को वल मलाकुति सुब्हाना जिल इज्जति वल अजमति वल हैबति वल कुदरति वल किब्रियाए वल जबूरति सुब्हानल मालिकिल हैय्यिल लजि लयनामु वला यमुतु सुब्बुह कुद्दुसुन रब्बुना रब्बुल मलाइकाति वररुहि अल्लाहुम्मा अजिरना मिन्ननार यामुजिरु यामुजिरु यामुजीर ।’

अब दुई रकत नमाज तराबीह सुन्नते मोअक्किदा भनी नीयत गरी अल्लाहु अकबर भनेर नीयत बाँध्ने त्यसपछि सना पढ्ने ‘सुब्हाना कल्लाहुम्मा वबिहम्दिका पुरा सना पढिसकेपछि आउजू बिल्लाहि मिनश शईत्वानीर रजीम बिस्मिल्लाह हिररहमान निर्रहीम अब पढ्ने सुरह फातेहा ‘अल्हम्दु लिल्लाह रब्बिल आलामीन अररहमान निर्रहीम’ पुरै सुरह फातेहा पढ्ने । सुरह फातेहा पछि तपाई कुनै सुरह जुन तपाईलाई कण्ठ छ जस्तै सुरह काफेरुन ‘कुल या अय्युहल काफीरुन ला आबुदु मा ताआबुदून वला अन्तुम’ पुरा पढ्ने अनि अल्लाहु अकबर भनी रुकु जाने रुकुमा ‘सुब्हाना रब्बि यल अजीम’ कम्तीमा तीन पटक पढ्ने अनि रुकुबाट उठ्ने उभिसकेपछि समी अल्लाहु लिमन हमीदह (रब्बना लक्लहम्द) पढिसकेपछि अल्लाहु अकबर भनी सज्दामा जाने । सज्दामा गइसकेपछि ‘सुब्हाना रब्बी यल आला’ कम्तीमा तीन पटक पढ्ने । त्यसपछि अल्लाहु अकबर भनेर सज्दाबाट उठ्ने र अल्लाहु अकबर भनेर फेरि सज्दामा जाने र सुब्हाना रब्बी यल आला कम्तीमा तीन पटक पढ्ने ।

यसरी दुबै सज्दा पुरा गरी सकेपछि अल्लाहु अकबर भनेर दोस्रो रकत नमाजका लागि उभिने । उभिसकेपछि बिस्मिल्लाह हिररहमान निर्रहीम पढ्ने त्यसपछि सुरह फातेहा ‘अल्हम्दु लिल्लाह रब्बिल आलामीन अररहमान निर्रहीम’ पुरै पढ्ने । अनि बिस्मिल्लाह हिररहमान निर्रहीम पढेर अर्को सुरह जस्तै ‘इजा जाअ नसरुल्लाहि वलफत्हु वराएतन नासा यदखुलून फिदीनिल्लाह अफवाजा’ पुरै सुरह पढ्ने । अनि अल्लाहु अकबर भनी रुकु जाने रुकुमा ‘सुब्हाना रब्बि यल अजीम’ कम्तीमा तीन पटक पढ्ने अनि रुकुबाट उठ्ने उभिसकेपछि ‘समी अल्लाहु लिमन हमीदह (रब्बना लक्लहम्द)’ पढिसकेपछि अल्लाहु अकबर भनी सज्दामा जाने । सज्दामा गइसकेपछि ‘सुब्हाना रब्बी यल आला’ कम्तीमा तीन पटक पढ्ने । त्यसपछि अल्लाहु अकबर भनेर सज्दाबाट उठ्ने र अल्लाहु अकबर भनेर फेरि सज्दामा जाने र सुब्हाना रब्बी यल आला कम्तीमा तीन पटक फेरि पढिसकेपछि सज्दा उठेर बस्ने र अत्ताहियात ‘अत्ताहियातु लिल्लाही वस सलावातु वततय्यिबातु अस्सलामु अलैका’ पुरै पढ्ने । त्यसपछि दुरूदे इब्राहीम ‘अल्लाहुम्मा सल्ले अला मुहम्मदिन वआला आलि मुहम्मदिन कमा सल्लइता अला ईब्राहीमा अला ईब्राहीमा’ पुरै पढ्ने । त्यसपछि ‘अल्लाहुम्मा जलमतु नफ्सी जुल्मन कसीरउं वला यगफिररुज्जुनूबा इल्ला अन्ता फगफिर्लि मगफिरतम मिन इंदिका वरहमनि इन्नकान्तल गफूरूर रहीम’ सम्म पढेर सलाम फेरने पहिला दायाँतिर सलाम फेरने र भन्ने ‘अस्सलामु अलैकुम व रहमतुल्लाह’ अनि बाँयातर्फ सलाम फेरने र भन्ने ‘अस्सलामु अलैकुम व रहमतुल्लाह’ अब तराबीह नमाजको २ रकत पुरा हुन्छ । यसै गरी २÷२ रकत गरेर १० सलाममा २० रकत नमाज पढेर पुरा गर्नुपर्छ ।

स्मरण रहोस् कि चार रकत पुरा भइसके लगत्तै तराबीहको दुआ पढ्नुपर्छ । दुई दुई रकत गरी बिस रकत नमाज पढिसकेपछि ईशाको नमाजमा अघि पढ्न बाकी रहेका ३ रकत वित्र र २ रकत नफ्ल पढ्नुपर्छ । यसरी तराबीह नमाज पूरा पढिसकेपछि हात उठाएर दुआ माग्ने । दुआ मागेपछि तराबीहको नमाज पूर्ण भइहाल्छ ।

हाम्री दिदीबैनीहरुले पवित्र रमजानमा रोजा बस्छिन्, दिनको पाँच पटक समय निकालेर नमाज पढ्छिन् । कुरानपाक को तिलावत गर्छिन् । घरका सारा काम गर्छिन् । यत्तिको गर्मीमा भान्छामा बसेर खाना, सेहरी, इफतारी बनाउँछिन् । बजार ग एर आफ्नो र बालबच्चा हरुको लत्ताकपडा, श्रृंगार सामान, जुत्ता चप्पल किन्न यहाँ सम्म साईज फरक भयो भने पटक पटक फेरबदल गर्न पनि भ्याइ नै हाल्छिन् । जुन दिदीबैनीहरुले यी सब काम गर्न भ्याउँछिन् तर तराबीहको नमाज मात्र पढ्न भ्याउदैनिन् ।

आशा गरौं तराबीहको महत्व र पढ्ने सजिलो तरिकाको बारेमा जानकारी प्राप्त गरिसकेपछि अब तराबीह नपढिरहेका दिदीबैनीहरुले पनि तराबीह पढ्न सुरु गर्नेछिन् ।

प्रतिक्रिया

प्रतिक्रिया