कर्णालीको पुलमा पुग्नासाथ सबैको हात क्यामारामा र मोवाइलमा हुन्छ । नेपालको सडकमा अन्त कतै देख्न नपाएका यस किसिमको पुल हेर्दैमा पहिलो पटक कर्णाली चिसापानी पुग्ने पर्यटकहरु अचम्म पर्दछन । त्यसैले होला ! कोहि पुलको बिचमा बसेर फोटो खिच्दछन । कोहि पुलको वारी पारी गएर मोवाइलले सेल्फि खिच्दछन । कोहि पुलबाट कर्णाली नदीको छाललाई हेर्दै रमाउछन । प्रदेश नम्वर ५ र ७ को सिमामा पर्ने कर्णाली चिसापानीमा यो दृष्य हरेक दिन देख्न पाइन्छ ।

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यो पुल कर्णालीको चिसापानीमा पर्दछ । यो पुल ५०० मिटर लामो र १० मिटर चौडा छ । यो पुलले नेपालको सुदुरपश्चि प्रदेशलाई नेपालको अन्य प्रदेशलाई जोडने गर्दछ । यसको निर्माण सन् १९९३ मा पूरा भएको हो । यो तार पुल हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरु बाँधेर ट्रसलाई अडयाइएको छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर रहेको छ । यो पुलको निर्माण गर्दा ३,८७० टन स्टील प्रयोग गरिएको थियो । पुलको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।

कर्णाली नदीको पौराणिक नाम पञ्चेश्वरी हो । नेपालको सबै भन्दा लामो नदी कर्णाली नदी हो । यसको लम्वाई ५०७ किमी रहेको छ भने जलप्रवाहित क्षेत्र ४९ हजार वर्ग कि.मी.छ । कर्णालीका सहायक नदीमा ठूली भेरी, सानीभेरी नदी, तिला, बुढीगंगा नदी र सेती नदी हन् । कर्णाली चिसापानी पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो भन्दा पनि हुन्छ । कर्णाली चिसापानी कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । कर्णाली चिसापानी अछाम, बाजुरा र कर्णाली प्रदेशका सबै जिल्लाहरुको व्यापारीक केन्द्र पनि हो । चिसापानी तराइको भूभाग भएकोले बैशाख देखि भदौ सम्म गर्मीको महसुस हुन्छ । अरु समय चिसो हावा चलि रहने भएकाले यसको नाम चिसापानी राखिएको हो ।

कर्णालीलाई कसैले पुज्दैनन् । माथि सिरानदेखि तल पुछारसम्म यो नदी किनारामा कहीँ पनि मन्दिर वा कुनै धार्मिक स्थल छैन भन्दा पनि हुन्छ । तिब्बतको राक्षस तालबाट बग्दै आएको कर्णालीलाई राक्षस नदी पनि भन्छन् । तिब्बतको मानसरोबरमा दुई ताल छन एउटा राक्षस ताल अनि अर्काे मानसरोबर ताल । संसारभरका हिन्दूहरु त्यहीँ मानसरोवरको यात्रामा जीवनमा एकपटक पुग्ने धोको राख्छन् । कतिपय त पुग्छन् पनि तर, त्यहीँको अर्काे एउटा ताललाई कसैले वास्ता गर्दैनन् त्यो राक्षस ताल नै हो । यो तालमा कुनै जीवजन्तुसमेत छैनन् । यही तालबाट उदगम भएको हो, कर्णाली नदी ।

नेपालको नदीहरुमा ‘भर्जिन’ नदी भनेर चिनिने कर्णालीमा अहिलेसम्म कुनै पनि ठूला बाँध अनि हाइड्रोपावर छैनन् । हिमालय श्रृखला, पहाडका खोंचहरु अनि तराईको समथर भूभागलाई निर्वाध चुम्दै स्वा…हा..गर्ने कर्णालीको भर्जिनिटी माथि भने अब धेरैको आँखा तिरमिराइसकेका छन् । अहिले अपर कर्णाली हाइड्रो पावरले कर्णालीलाई छोप्नै लागेको छ । धेरै सस्तो लागतमा बन्न थालेको यो आयोजनालाई भारतलाई सुम्पेको भन्दै यो आयोजना उत्तिकै विवादमा पनि छ । यो माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि करीब साढे २ किलोमिटरमात्रै सुरुङ खनेर अछामतिर भएर बग्ने त्यही कर्णाली नदीमा खसालिने छ । त्यसैबाट करीब ९ सय मेगावाट विद्युत उत्पादन गर्न भारतीय कम्पनी जीएमआरले काम शुरु गरिसकेको छ ।

पर्यटनको दृष्टीकोणले कर्णाली चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलको रुपमा लिने गरिन्छ । चिसापानीको सिमाना सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि चिसापानीमा पर्यटकहरुको घुइँचो लागेको हुन्छ । कर्णाली चिसापानी पिकनिक स्थलको रुपमा पनि बिकास भएको छ । विभिन्न जिल्लाबाट पिकनिक मनाउन विद्यार्थी एवं अन्य समूह पनि दिन प्रतिदिन बढदै गएको छ । कर्णाली नदीको माछा अरु नदीको माछा भन्दा बढी स्वादिष्ट हुन्छ । माछाका पारखीहरुलाई चिसापानी छुट्टै आनन्द हुन्छ । कर्णाली नदीमा पाइने माछाहरुमा असाला जातको माछा मुख्य मानिन्छ । असला माछा साधारणतया १० देखि १५ किलो सम्म वजन हुन्छ । कर्णाली नदीमा अन्य धेरै प्रजातीका माछा पाइन्छन । सट्टा माछा, टोटे माछा, बाम माछा, खोली माछा पनि कर्णालीमा पाइने माछाका प्रजाती हुन् । तर बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रमा माछा मार्न प्रतिबन्ध तगाएको छ । चिसापानीका होटलहरुले पर्यटकहरुलाई खान दिने माछा प्राय पोखरीका नै हुन् ।

यात्राका क्रममा पर्यटकहरु जुन ठाउँमा पुगिन्छ, भरसक त्यही ठाउँको खास परिकार खोज्नेबानी हुन्छ । किनभने आँखाले नयाँ दृश्य, मनले नयाँ अनुभूति पाएपछि जिब्रोले पनि नयाँ स्वाद नै खोज्छ । यसरी नयाँ ठाउँको नयाँ स्वादलाई जिब्राले पायो भने मिलेसम्म स्थानीय परिकारको कोसेली पनि बोक्ने बानी धेरैमा हुन्छ । माछाका पारखी पयटकहरु चिसापानी पुगेपछि माछाको स्वाद नलिई फर्कंदैनन् । कर्णाली चिसापान िबजारका होटलभरि आलो, तारेको र सुकेको माछा झुन्ड्याइएका हुन्छन । तिनै होटलका वरपर ट्रक, सार्वजनिक गाडी, मोटरसाइकल र निजी सवारी साधन लर्कनै रोकिएको हुन्छ । जुन होटलमा गए पनि सुकेको माछाको बास्ना आइहाल्ने । कतिलाई यो बास्ना मिठो लाग्छ । कतिले नाक खुम्च्याउँदै हिडछन पनि । कर्णाली चिसापानीको विशेषता भनेकै यही हो–आलो, सुकेको र तारेको माछाको खाँटी स्वाद ! कारमा हुइँकिने हुन् या बाइकमा गुड्ने । साधारण हुन् या ठूलाबडा । नेपाली हुन् या विदेशी । पूर्व–पश्चिम राजमार्ग हुँदै जाने यात्रा गर्नेहरु चिसापानीको माछा नचाखी हिँडदैनन् भन्दा पनि हुन्छ । चिसापानी बजारमा लगभग ठूला सानागरी १०० वटा होटल छन् । बाह्रै मास कर्णाली नदीको पानी चिसो हुने हुँदा यहाँ पाइने माछा स्वादिलो हुन्छ ।

कर्णालीमा साहसिक पर्यटकहरुको लागि जलयात्रा अर्थात ¥याफ्टिङ पनि गर्न सकिन्छ । साहसिक जलयात्राले पर्यटकहरुलाई आनन्द र मनोरञ्जन दिने गरेको छ । तर ¥यापटिङका लागी संभावना भएरपनि प्रचारप्रसार अभावमा कर्णाली नदी ¥याफ्टिङ पारखिका लागि नया गन्तब्य बन्न सकेको छैन । नेपालको सबैभन्दा लामो नदीको रुपमा रहेको कर्णाली नदीको जलयात्रामा अन्य नदीमा हुने जलयात्राको तुलनामा पर्यटकहरु बढी आनन्ददायी र रोमाञ्चक देखिन्छन् । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा हुँदै बग्ने कर्णाली नदीको चिसापानीदेखि टीकापुर पार्क र ठाकुरद्वारा (बर्दिया) सम्मको भागसम्म ¥याफ्टिङ गर्ने जो कोही पर्यटकले नदी आसपासमा बाघ, हात्तीलगायतका दुर्लभ वन्यजन्तुको अवलोकनसमेत गर्न पाउने हँुदा कर्णालीको जलयात्रा बढी रोमाञ्चक र आनन्ददायी हुने गरेको छ । कर्णाली चिसापानी पुल देखि दक्षिणतर्फको भागमा जलयात्रा गर्दा भने बर्दिया राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्दा जलयात्रा रमाउने पर्यटकहरुलाई केही कठिनाइ हुदै आएको छ ।

कर्णाली चिसापानीमा पुग्ने पर्यटकहरु धेरै वर्दियाको राष्ट्रिय निकुञ्जमा समेत पुग्दछन । वाइल्डलाइफमा रुची राख्ने पर्यटकहरुका लागि बर्दिया विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । यहाँ विश्वमै दुर्लभ मानिएको पाटे बाघ समेत पाइन्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज घुमफिर गर्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु पाटेबाघ देख्न पाएपछि रमाउने गर्दछन । नेपाल आउने बाह्य पर्यटकहरु मध्य धेरै वर्दियामा पुग्ने गर्दछन । बर्दियाको निकुञ्ज पर्यावरण जोगाउने र पाटे बाघजस्ता लोपोन्मुख प्रजातिको जनावर संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो । सुरुमा यस आरक्षणलाई कर्णाली बन्यजन्तु आरक्षणको रुपमा सानो क्षेत्रलाई मात्र लिइएको थियो । पछि आरक्षणलाई बबैखोला सम्म बिस्तार गरी बाघ, हात्ती, गैडा जस्ता जंगली जनावर पर्यटकहरुलाई सहज रुपमा देख्न पाउने ब्यवस्था निकुञ्जले मिलाएको छ ।

निकुञ्ज वरिपरिको ३ सय वर्ग कि.मि.जमिन रहेको छ । विभिन्न प्रकारका जीव र वनस्पतिहरुले धनी छ वर्दिया निकुञ्ज । यहा विभिन्न जीवका प्रजातिहरु सजिलै भेटिन्छन् पाटे बाघ, एक सिङगे गैंडा,जंगली हात्ती, बाह्रसिङगे, घडियाल गोही, डल्फिन जस्ता जीवहरु देख्न पाउदा पर्यटकहरु खुशिहुने गर्दछन । निकुञ्जमा २ सय भन्दा बढी प्रजातिका चराहरु र विभिन्न प्रकारका छेपारो, सर्प, माछा आदि पाइन्छ । हात्ती चढने, चराचुरुङगी अवलोकन गर्ने, जंगल सफारीको आनन्द लिन पर्यटकहरु रुचाउछन । बर्दिया राष्ट्रिय निकुञ्जमा हिउँदको समयमा निकुञ्जमा पर्यटकको संख्या बढी हुन्छ । आन्तरिक पर्यटकको चाप बढदै गएपछि होटल व्यवसायीको कारोवार बढेको छ । ठाकुरद्वाराका होटलमा भारत, बेलायत, फ्रान्स, अमेरिकालगायत मुलुकका पर्यटक बढी बढि पुग्ने गरेका छन् ।

वर्दियाको राष्ट्रिय निकुञ्जमा घुमफिर गर्दा पर्यटकहरुलाई बस्ने खाने को कुनै असुबिधा हुदैन । ठाकुरद्वार नजिकै डल्ला गाउँमा होमस्ट सन्चालन गरेका छन । होमस्टेमा पर्यटकहरुलाई पारिवारिक रुपमा खाना बस्नको सुबिधा हुन्छ । डल्ला गाउँका २० घरका बासिन्दाहरुले होमस्टेका लागि आ–आफ्नो घरमा थप २ वटा कोठा निर्माण गरेका छन् । उनीहरुले ५२ जना पर्यटकहरुलाई आफ्नै गाउमा बस्न सक्ने ब्यबस्था मिलाएका छन् । हाल सञ्चालनमा रहेका २० होमस्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाहरुको ब्यबस्था गरिएको छ । पर्यटकहरुलाई प्रति दिन एक सय ५० रुपैया तिरेर होमस्टेमा बस्न सक्छन । होमस्टेमा स्थानीय स्तरमा थारु संस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने गरिन्छ । पर्यटकको मनोरञ्जनका लागि झुमरा, सखिया, लट्ठी नाच लगायत थारु संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रमहरुले पर्यटकहरुलाई थप रोमाञ्च दिलाउछ ।

कर्णालीको नालीवेली
कर्णाली नदी तिब्बतको माप्चोचोङ्गो नामको हिम नदीबाट आएको पानी मानसरोवर ताल नजिकै रहेको रकोस सरोवर अर्थात राक्षस तालमा मिसिन्छ । राक्षस तालबाट बगेको पानी नेपालको भूगोलमा प्रवेश गरेपछी मुगु जिल्लामा यो पानी करन खोला मिसिएर मुगु कर्णाली को नाम बन्दछ । करन खोलाको नामबाट नै कर्णाली नदी रहन गएको हो । यसरी बग्दै गरेको पानी बाजुरा र हुम्ला जिल्लाको सिमाना हुदै कालीकोट जिल्लाको भूगोलमा पुग्दा यसमा धेरै सहायक खोला नालाहरु मिसिदै जान्छ र खोलाबाट नदिको रुप लिन्छ । मुगुको रारा तालको पानी समेत नदीमा मिसिन्छ । नदी बग्दै जादा हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली भनिन्छ । त्यसपछि बुढी गंगा मिसिन्छ । कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ । लालीघाटमाबाट साना खोला नालाहरु मिसिदै दैलेख र अछाम जिल्लाको सिमाना हुदै बग्दछ ।

दैलेख र अछामका नदी नालाहरु मिसिदै यो नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध भन्ने ठाउमा आएर कर्णाली नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केर बग्छ । पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको नदी फेरी पश्चिम तिर फर्केर बग्दछ । त्यसपछि सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै डोटी जिल्लाको सिमानामा पुग्छ । कर्णाली नदीमा डोटीबाट आएको सेती नदी जसलाई स्थानीय भाषामा चौलानी नदी पनि भनिन्छ मिसिन्छ । त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ । अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ । कैलाली र सुर्खेतको सिमानामा पर्ने कुइने घाटमा आएर कर्णाली नदीमा सुर्खेत तिरबाट आएको भेरी नदी मिसिन पुग्छ ।

त्यस पछि कर्णाली नदीले कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी आउँछ । चिसापानी अर्थात कर्णाली पुलदेखि नदीले पहाडी भूगोल छोडेर तराइको मैदानमा प्रवेश गर्छ । चिसापानीबा केहि तल पुगेपछि नदी दुई भागमा बाडीएको छ । यसरी दुई भागमा बिभाजन भएको नदीलाई वर्दियाको निकुञ्ज तर्फको पानीलाई भेरी र कैलालीको टिकापुर तर्फ बग्ने पानीलाई कर्णाली भन्ने गरिन्छ । यसरी छुट्टीएको भेरी नामको नदीलाई भारतको सिमामा पुगेपछि कौरियाला घाट अर्थात कतर्नियाघाटको नाम दिएको छ । भने अर्को कैलालीको टिकापुर तर्फ बग्ने नदीलाई भारतमा घागरा नदी भन्ने गरिन्छ ।

भारतमा यो नदिमा अन्य सहायक नदीहरु मिसिन्छन् । महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ । कौरियाला घाट नामको नदी भारतमा अयोध्या भएर बगेको छ । अयोध्यामा यो नदीलाई सरयु नदी भनिन्छ । घागरा नदी बिहारको छपरा जिल्लामा गएर गंगा नदीमा मिसिन्छ । त्यहाँबाट नदीको नाम गंगा रहन गएको छ । अन्तमा यो कर्णाली नदी भारतको पश्चिम बंगाल राज्यको कलकत्ता नजीकै रहेको गंगा सागर समुन्द्रमा मिलेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया