भाँडियो गठबन्धनः नेपालगन्जमा विद्रोह गर्दै माओवादी

माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको घोषणा गर्ने भएको छ ।

‘त्यस कारण नेकपा ( माओवादी केन्द्र) ले मेयर / उप मेयर सहित २३ ओटै वडामा उम्मेदवारी दिने तयारी गर्नु पर्दछ,’ प्रदेश साँसद आइपी खरेलले गठबन्धनको नाममा आफ्नो पार्टी समाप्त गर्ने कुरा नहुने धारणा राख्दै सामाजिक सञ्जालमार्फत भने ‘गठबन्धन गर्ने हो भने माओवादीले १२ वटा पाउनुपर्छ अन्यथा गठबन्धनको नाममा अरुको लागि माओवादीले आफ्नो संगठनको अस्तित्व समाप्त पार्ने कुरा हुनै सक्दैन ।’


पार्टी नेता खरेलले भनेजस्तै, माओवादीले नेपालगन्जमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा उम्मेदवारीको तयारी गरेको छ । नगर प्रमुखका दावेदार नविन शर्माका अनुसार वडा बाँडफाँड वार्ता सफल नभएपछि उम्मेदवारी दिन लागिएको हो । माओवादीले केही बेरमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणाको जानकारी सार्वजनिक गर्ने बताएको छ ।


पार्टी सम्बद्ध स्रोतका अनुसार, सत्तारुढ गठबन्धनमा अल्झिएको माओवादी केन्द्रले बाँकेमा उम्मेदवार छनोट प्रक्रियालाई अगाडि बढाएको छ । शुक्रबार बसेको जिल्ला पार्टी बैठकले स्थानीय तहबाट आएको सिफारिसलाई अनुमोदन गर्दै जस्ताको तस्तै प्रदेश पठाउने निर्णय गरेको हो ।


‘प्रदेशले टुंग्याउने डेडलाइन पाइसकेकाले स्थानीय तहबाट आएका सिफारिसहरु अध्ययन गरेका छौं’, माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले दैनिक नेपालगन्जसँग भने, ‘कार्यालयले त्यसलाई छानबिन गरेर शनिबार प्रदेश पठाइसक्छ ।’


त्यसक्रममा माओवादीले नेपालगन्ज बाहेक सात वटै पालिकाबाट उम्मेदवार छनोट गरेको छ । पार्टी सम्बद्ध स्रोतका अनुसार, स्थानीय तहबाट सिफारिस भएर आएका उम्मेदवार सूचिलाई नै माओवादीले प्रदेश पठाउन लागेको हो ।

‘स्थानीय तहमा गठबन्धनका लागि छलफल भैरहेपनि मिल्न नसक्दाको अवस्थामा पार्टीको आफ्नो तयारी अगाडि बढाउनु परेको हो’, पार्टी संयोजक तुफानले भने, ‘छलफल जारी छ, तर पार्टीले आफ्नो तयारी रोक्ने कुरा भएन ।’

बाँकेमा कोहलपुर नगरपालिका माओवादी एक्लै निर्वाचनमा होमिइसकेको छ । नगर प्रमुखका उम्मेदवार समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेका अनुसार, सबै वडाध्यक्ष सहित प्रमुख, उपप्रमुखमा आएका नामहरु जिल्ला हुँदै प्रदेशलाई पठाइएको छ ।

खजुरामा गठबन्धन गरेर जाने कुरामा सहमति भएपनि भागबण्डा अझै मिल्न सकेको छैन । काँग्रेस सम्बद्ध स्रोतका अनुसार, प्रमुख दिएपछि माओवादीलाई दुई वडाध्यक्ष मात्रै दिने प्रस्ताव छ । ‘तर माओवादीले मानिरहेको छैन, त्यसबाहेक काँग्रेसले छोड्ने अवस्था पनि छैन’, काँग्रेस नेता भन्छन् । यद्यपि गठबन्धनको प्रबल सम्भावना भएको पालिका खजुरा हो ।


बैजनाथमा नेकपा एसलाई दिने कुरामा गठबन्धन बीच सहमति छ । तर, त्यहाँ पनि बाँडफाँड टुंगिएको छैन । ‘छलफलमै छौं, अझै मिल्न सकेको छैन’, एसका नेता समेत रहेका प्रमुख पदका दाबेदार दिपक जिएम भन्छन्, ‘माओवादी र काँग्रेस बीचको बाँडफाँड मिल्यो भने समस्या सकिन्छ ।’


जानकी गाउँपालिकामा पनि गठबन्धन बीच एकमत छैन । जसपा, काँग्रेस र माओवादी बीच जानकीमा बाँडफाँड मिल्न नसकेको गठबन्धन सम्बद्ध पार्टी नेताको भनाइ छ ।

राप्तीसोनारीमा काँग्रेसलाई र नरैनापुर जसपालाई दिने कुरामा ठूलो समस्या छैन । तर, त्यहाँ पनि वडास्तरमा बाँडफाँड मिलेको छैन । डुडुवामा भने काँग्रेस र जसपा बीच खिचातानी जारी छ ।

त्यसबीच बाँडफाँड नमिल्दा एक्लै निर्वाचनमा जानु पर्ने सम्भावनालाई औंल्याउँदै माओवादी केन्द्रले उम्मेदवार छनोट प्रक्रियालाई अगाडि बढाएको माओवादी नेता नविन शर्माले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया