विचार

बिगत केही बर्षयता देखि राजनीतिक सौदेबाज र बिबेक धरौटीमा राखेर रमाउन पल्केका र तिनकै मतियार बनेका बौद्धिक भनिने ब्यक्तिहरुका कारण मुलूक एक पछि अर्को गर्दै गम्भीर सङ्कटमा फसेका संकेतहरु हाल आयर सतहमा देखिन थालेका छन् । जस्को पुष्टि गत फाुगन ८ गते एम.सि.सि. नामको प्रस्ताव संसदमा पेस गर्दाका बखत सभामुख र प्रस्ताव पेशकर्ता मन्त्री ज्ञानेन्द्र ब. कार्कीको प्रस्तुतिकरण शैलीबाट पनि सहजै अनुमान गर्न सकिन्थ्यो ।

यो घटनाले मलाई यस प्रकारका बिदेशी रिझाउने प्रस्तावका समर्थनमा बेला बेलामा देखापर्ने आफुलाई मात्र ज्ञानी र बुद्धिमान सम्झिने केही ब्यक्तिहरुका अनुहारको सम्झना गरायो । आफ्नो राष्ट्रिय गरिमा र राष्ट्रिय स्वभिमानलाई सदैब तुच्छ सम्झिने केहि ब्यक्तिहरु हरेक कालखण्डमा हुन्छन् र हुनु पनि पर्छ । यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन ।

त्यसैले त यस किसिमको दास मनोबृत्ति भएका र अरुकै आड र भरोसामा ठुलो मान्छे बनेका ब्यक्तिहरु यी त होइनन् ? भन्ने शंका नागरिकमा उत्पन्न हुनुलाई पनि अश्वाभाबिक भन्न सकिदैन । देशलाई अप्ठारो पर्दा यी मुर्धन्य कहलिएका ब्यक्तिहरुले बिरलै देश हितका कुरा गर्छन । नेपालीले सम्झिनै पर्ने पात्रहरुमा, डा. रामशरण महत, डा. बाबुराम भट्टराई, प्रा. डा लोकराज बराल, मानवअधिकारकर्मीको विशेषणबाट सुशोभित कपिल श्रेष्ठ, कृष्ण पहाडी, आफुलाई बिज्ञ देखाउने अरुण सुवेदी र भाई महत लगायत अन्य केहि खेताला बुद्धिजिविहरु पनि छन् । जसबाट सम्प्रेषित बिचार र विश्लेषण सुन्दा ‘युनानी दार्शनिक सुकरातलाई बिष दिन लगाउने ब्यक्तिहरुको झुण्ड पनि’ त यस्तै खाले थियो होला भनेर अनुमान गर्न मलाई झनै सहज बनायो ।

किनभने यस्ता ब्यक्तिहरु देशलाई अफ्ठारो पर्दाका बखत देश हितमा बोलेको मलाई सम्झना छैन । उक्त दिन संसद भबन भित्र बैठकमा जे हुनुपर्ने योजना बनेको थियो त्यहि भयो । त्यसमा मलाई कदापि पनि आश्चर्य र अनौठो लागेन । किनभने एउटा भनाइ नेपाली जनबोलिमा ज्यादै प्रचलित छ, ‘…को किरा …मै रमाउँछ ।’ दलका नेता र सांसदहरुको व्यवहार र प्रस्तुतिले माथिको भनाइलाई पुष्टि गर्छ । उनिहरुले आ– आफ्नो हैसियत र क्षमता निर्धक्क भएर प्रदर्शन गरे । कोहि बोलेर त कोहि मौन बसेर । यो नाटकको अनुमान आम नागरिकले पहिले नै गरिसकेका थिए र त जनताहरु निराश भएनन् । बरु यसको बिरोधमा झनै धारिला बने ।

जाल– झेल, रकमी भाषा र शैलिमा एम.सि.सि . संसदबाट अनुमोदन भएको केहि साता मै चिनियाँ बिदेशमन्त्री वाङ यी पाकिस्तान, अफगानिस्तान र भारतको केही घण्टे भ्रमण सकि नेपालको तिनदिने भ्रमणमा ०७८÷१२÷ ११ गते नेपाल भित्रिएका थिए । उनको यो यात्रा नेपाली र चिनियाँ जनताका लागि कत्तिको फलदायी र सम्झन योग्य बन्यो भनेर हेर्न धेरै दिन कुर्नुपरेन । किनभने कुटनीतिक व्यवहार अनि प्रस्तुतिमा देशको यो निकाय २०६४ साल यता निकम्मा र लाचार बन्दै गएको कुरा पुष्टि भैसकेको छ ।

त्यसैले त चीनका उच्चस्तरीय पाहुना आउदाका दिन नै पश्चिमा देशका राजदुतहरुको संयुक्त टोलीले तिब्बती शरणार्थीको शिबिरमा जाने आँट गर्याे । तर, हाम्रो परराष्ट्र मन्त्रालयले यस्तो गैर कुटनैतिक आचरण बारे सामान्य टिप्पणी समेत गर्ने आँट गरेन । यो बेमौसमी गैर कुटनीतिक व्यवहारबाट चीन कति चिढियो भन्ने कुरा उसका व्यवहारले नै पुष्टि गर्लान् ।

एम. सि. सि.का बारेको चर्चा सेलाउन नपाउँदै नेपाली कुटनैतिक इतिहासले अर्को कोल्टे फेरेको संकेत युक्रेन – रुस मामिलामा देखापर्याे । जसको असर आउँदा दिनहरुमा देखा पर्लान् । कुनै पनि राष्ट्रले अर्को राष्ट्रको व्यवहार माथि टिप्पणी, नोटिस वा बक्तब्य प्रकाशन गर्दा अन्तर्राष्ट्रियस्तरको सुझ बुझ अनि धैर्यता कायम राख्न सक्नुपर्छ । तर, हालको सरकार यस दिशामा असफल साबित भएको छ ।

अन्तर्राष्ट्रियस्तरमा कुटनैतिक धैर्यता प्रदर्शनमा असफल भएपछि राष्ट्रियस्तरमा समेत देउबा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्न पुगेको छ । यो बिषयले देउबा सरकार र यसका अर्थमन्त्री समेत थप आलोचित अनि बिबादित हुनपुगेका छन् ।

सरकारमा बस्ने कुनै ब्यक्ति को आक्रोश, कुण्ठा, इष्र्या र लहड बाट देश चल्दैन न चल्नसक्छ । वा भनौ सरकार प्रतिशोध लिने निकाय हैन हँुदै हैन । बिबिध कारण (कोभिडको महामारी अनि रुस– युक्रेन युध्द ) बाट बिश्वको अर्थतन्त्रले संकट खेपिरहेको सन्दर्भ मा यस प्रकारका केटाकेटी निर्णयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश प्रवाह हुने कुराको आकलन मात्र पनि गर्न नसक्ने सरकार, पाँच दलीय गठबन्धन अनि राज्यकोषबाट सुबिधा लिने बिज्ञहरुको प्रतिष्ठा समेत लिलाम भएको मेरो बुझाइ छ ।

सरकारी निकायबाट हुने यसप्रकारका अपरिपक्व कृयाकलापले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई अझै तल झार्न मद्दत पु¥याउने छ । अतः राज्य संचालकहरुबाट हुने यस प्रकारका कृयाकलापहरु माथि यथासिघ्र लगाम लगाउदा उचित होला । नयाँ बर्ष २०७९ ले सबै नेपालीहरुमा स्वभिमान जगाउने काम गरोस् । शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया