ब्राइटल्याण्ड कलेजले सञ्चालन गरेको आँखा जाँच शिविरमा ७० प्रतिशत विद्यार्थीको आँखामा समस्या पाइएको छ ।
तपाई आफ्नो सन्तानको आँखा जाँच गराउनु भएको छ ? छैन भने त्यसतर्फ लाग्नुस् । उमेर पुगेपछि मात्रै आँखा जाँच गराउन पर्खियो भने बित्यास पर्न सक्छ । पछिल्ला दिनमा डिजिटल ग्याजेटमा रमाउने विद्यार्थी बालबालिकाहरुका आँखामा छिट्टै समस्या देखापर्न थालेको पाइएको छ । त्यसको पछिल्लो उदाहरण बुधबार ब्राइटल्याण्ड कलेजले आफ्ना विद्यार्थीहरुको आँखा जाँच गर्दा आएको तथ्यले उजागर गरेको छ ।
‘७ सय विद्यार्थीको आँखा चेकजाँच गरेकोमा ७० प्रतिशतमा कुनै न कुनै समस्या देखियो’, चिकित्सकलाई उद्धृत गर्दै ब्राइटल्याण्ड कलेजका बिएचएम कोर्डिनेटर भरत विष्टले दैनिक नेपालगन्जसँग भने, ‘ग्याजेटमा रमाउने कल्चरले विद्यार्थीका आँखामा ठूलो असर गरेको देखियो ।’
ब्राइटल्याण्ड कलेजको डिपार्टमेन्ट अफ सोसियल वर्कले भेरी अप्टिकल सँगको सहकार्यमा बुधबार विद्यार्थीहरु माझ निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो । शेखर थापा, यादव पौडेल, रामलोचन अग्रहरी सहितका स्वास्थ्य प्राविधिकहरुले दिनभरी लगाएर ७ सय बढीको आँखा चेकजाँच गर्दा आएको तथ्य उजागर गर्दै ब्राइटल्याण्डका बिएचएम कोर्डिनेटर विष्टले भने, ‘यो तथ्यले हामीलाई स्तब्ध बनाएको छ ।’ उनले अभिभावकलाई बेलैमा आफ्ना बालबालिकाको आँखाको हेक्का राख्न, खासगरी मोबाइल ल्यापटपको समय घटाउन ख्याल गर्नुपर्ने सुझाव दिए ।
ब्राइटल्याण्डका डिपार्टमेन्ट अफ सोसियल वर्क कोर्डिनेटर सुशिल गौतम, कलेजका चिफ एकडेमिक एडभाइजर डा. राजेश केशर खनाल, कलेजका अध्यक्ष नयाँराम पौडेल लगायतले आँखा शिविरमा विद्यार्थीहरुको आँखा स्वास्थ्यबारे चासो लिएको विष्टले जानकारी दिए ।