बाँकेमा सक्रिय बन्दै कर्मचारी मिलन केन्द्र

शुभकामना आदान प्रदान, स्वागत, सम्मान तथा क्यालेण्डर बिमोचन


जिल्लास्थित निजामति कर्मचारीहरुको समन्वयकारी संस्था, कर्मचारी मिलन केन्द्र बांकेले आफुलाई पछिल्ला दिनमा सक्रिय बनाउँदै लगेको छ । त्यसक्रममा सोमवार नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदानलगायत विभिन्न विभिन्न कार्यक्रम आयोजना गरेको छ । जिल्लामा आएका कर्मचारीलाई स्वागत, जिल्लाको विकास निर्माण र सेवा प्रवाहमा उत्कृष्ट नतिजा हासिल गर्ने कार्यालयलाई सम्मान तथा पुरस्कृत तथा क्यालेण्डर बिमोचन गरिएको हो ।


कर्मचारी मिलन केन्द्र बांकेका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रका सल्लाहकार तथा बांके जिल्ला अदालतका जिल्ला न्यायाधिश खडानन्द तिवारीको प्रमुख आतिथ्यमा भएको थियो । कर्मचारी मिलन केन्द्रका संरक्षक तथा बांकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री बिशिष्ठ अतिथि रहेको उक्त कार्यक्रममा कर्मचारी मिलन केन्द्रको तर्फबाट उपाध्यक्ष गोबिन्दप्रसाद पाण्डेले स्वागत तथा शुभकामना ब्यक्त गर्दै कर्मचारी मिलन केन्द्रले गरेका गतिबिधि र आगामी योजना तथा कार्यक्रमका बारेमा प्रकाश पारे ।

स्थानीय तहहरुको तर्फबाट कोहलपुर प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, सुरक्षा निकायका तर्फबाट सशस्त्र प्रहरी उपरिक्षक शशी पाण्डे, सार्वजनिक संस्थानहरुका तर्फबाट भेरी प्राविधिक शिक्षालयका प्रमुख आशा श्रेष्ठ तथा न्याय क्षेत्रका तर्फबाट जिल्ला अदालत बांकेका श्रेस्तादार तिर्थराज भट्टले शुभकामना मन्तव्यका साथै आआफ्नो क्षेत्रको सेवाप्रवाहको अवस्था समन्वय तथा सहकार्यका बारेमा धारणा राखेका थिए ।


त्यसक्रममा बांके जिल्लामा सरुवा भई आएका डिभिजन वन कार्यालयका प्रमुख अजित कर्ण, राप्ती सोनारी गाऊपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डांगी, दुग्ध विकास संस्थान कोहलपुरका कार्यालय प्रमुख कृष्णप्रसाद अर्याल तथा जिल्ला प्रशासन कार्यालय बांकेका प्रशासकीय अधिकृत दत्तराज हमाललाई कर्मचारी मिलन केन्द्रको तर्फबाट स्वागत गरिएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।
कार्यक्रममा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभिन्न पदकबाट विभुषित बांकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भेरी अस्पतालका डाक्टर राजन पाण्डे तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहलाई कर्मचारी मिलन केन्द्रका तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो । बांकेका एक सय बढी कार्यालय प्रमुख तथा अधिकृत स्तरका कर्मचारीहरुको सहभागितामा भएको कार्यक्रम कर्मचारी मिलन केन्द्रका सचिव कृष्णबहादुर पुनले संचालन गरेका थिए ।


सोही कार्यक्रममा प्रमुख अतिथि तथा बिशिष्ठ अतिथिले कर्मचारी मिलन केन्द्र बांकेले प्रकाशन गरेको २०८९ सालको भित्तेपात्रो (क्यालेण्डर) बिमोचन गरे । उक्त क्यालेण्डरमा सिक्टा सिचाई, ढकेरी बनस्पती उद्यान, रानी तलाउ, बांके राष्ट्रिय निकुञ्ज लगायतका बांकेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल समेटिएको उपाध्यक्ष पाण्डेले बताए । उनका अनुसार, फत्तेवाल आंखा अस्पतालका दाता फत्तेजंग शाह र वालकुमारी शाह, मंगलप्रसाद मा.बि. का जग्गादाता मंगलप्रसाद शास्त्री, सरस्वती मा.बि. का जग्गादाता राम गुलाव वैश्य र घिराउलाल वैश्य, भेरी अस्पताल र महेन्द्र बहुमुखी क्याम्पसका जग्गादाता औतार देयी कसौधन (चौधराइन) लगायत बांके जिल्लामा सामाजिक कार्यको लागि भवन र जग्गादान गर्ने समासेवीदाताहरुको तस्वीर समेत समेटिएका छन् ।

उक्त क्यालेण्डरलाई नेपालका सबै जिल्लामा पठाई बांकेको पर्यटन तथा संस्कृतिको प्रचार प्रसार र प्रवर्दन गर्ने लक्ष्य मिलन केन्द्रले लिएको जनाएको छ । बांकेका एक सय बढी कार्यालय प्रमुख तथा अधिकृत स्तरका कर्मचारीहरुको सहभागितामा भएको कार्यक्रम कर्मचारी मिलन केन्द्रका सचिव कृष्णबहादुर पुनले संचालन गरेका थिए ।

त्यसबीच, २०७८ चैत्र महिनामा आ.व. ०७८।७९ मा तोकिएको वार्षिक कार्यक्रम अनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गरेकाले भेरी अस्पताल नेपालगञ्जलाई पांच हजार नगद पुरस्कार सहित पुरस्कृत तथा सम्मानित गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जका तर्फ डाक्टर राजन पाण्डेले उक्त सम्मान ग्रहण गरे ।

प्रतिक्रिया

प्रतिक्रिया