विचार

मानिसको जीवन सफल की असफल भन्ने कुरा उसको कर्मले निर्धारण गर्ने कुरा हो । सामाजिक जीवनमा ब्यक्तिले अवलम्वन गरेको निती, ब्यक्तिले निर्वाह गरेको भूमिका, साथी भाई एवं आफन्त संग गर्ने ब्यवहार, उसले अपनाएको जीवन शैली ब्यक्तित्व मापन गर्ने आधारहरु हुन् ।

सरल जीवनशैली, शिष्ट भाषा, पेशाप्रतिको लगाव र सहयोगी भावनाले सबैको मन जितिरहेको हुन्छ । सहज रुपमा काम गर्ने शैली, सरल र मिजासिलो स्वभाव र सकारात्मक सोंचले समाजमा सकारात्मक विकास त हुन्छ नै ब्यक्तिको आफ्नो जीवनमा स्वयंलाई पनि आत्म सन्तुष्टि प्राप्त भइरहेको हुन्छ ।

बाहिरी रुपमा ब्यक्तिले गरेको कामको कसैले केहि कुरा नगरेपनि समाजले भित्रभित्र समाजले मुल्यांकन गरेको हुन्छ । यस्ता सामाजिक कार्यले पारिवारिक रुपमा गौरव प्राप्त हुन्छ र आत्म सम्मानको अनुभूति प्राप्त हुन्छ ।

हाम्रो समाजमा कुनै ब्यक्तिले उसको जीवनकाल भरि गरेको सत्कर्मको मुल्यांकन जीवित अवस्थामा गर्ने परिपाटी छैन त्यसले गर्दा ब्यक्तिले गरेको कामको प्रतिफल स्वयंले प्राप्त गर्न सक्दैन नै कसैसंग अनुभव साट्न पनि पाउँदैन ।

हामीले यस्तो परिपाटीलाई तोड्न सक्नु पर्दछ र समाजमा यथार्थ विषय उसको जीवनकालमै दिन सक्नु पर्दछ । जसले गर्दा समाजमा उसको कद उँचो होस र सम्मानित जीवन बाँच्न सहयोग मिलोस् । यस्ता ब्यक्तिहरु जसले जीवनमा आर्जन गरेको सत्कर्मको अनुभव भावी पुस्ताले गर्न सकोस् र अमूल्य सम्पत्तिको रुपमा संरक्षण गर्न सकोस् । कहिले काँिह हाम्रो समाजमा अपवादको रुपमा कुनै ब्यक्ति उदाउँछन् र अमिट छाप छोड्न सफल हुन्छन् । उनीहरु प्रेरणाको श्रोत बन्न पुग्छन् ।

बांँके जिल्लाको खजुरा गाउंपालिका वडा नं ३ अन्र्तगत –तत्कालीन वागेश्वरी गा.वि.स) रहेको जनता मा.वि. सन्तकुटीमा म २०४३ देखि २०४७ साल सम्म म औपचारिक रुपमा अध्ययनरत थिएँं । म कलिलै अवस्थाका विद्यार्थीहरु मध्ये एक थिएँं । दुरीको हिसाबले मेरो घर र विद्यालय नजिकै थियो । बांके जिल्लाको ग्रामीण भेगको विद्यालय भएतापनि पठनपाठ्न र खेलकुदको हिसाबमा सधैं अग्रस्थानमै थियो ।
म त्यति पढ्नमा तेज नभएतापनि केहि विषयमा धेरै रुची राख्दथें । बांके जिल्लामै चिनिएको र नाम चलेको विद्यालय भएको हुनाले हामीमा सबैको नजर पर्दथ्यो । हाम्रो विद्यालय विद्याको मन्दिर त थियो नै हाम्रा गूरुहरु पनि अब्बल नै थिए ।

मेरो जीवनमा मलाई शिक्षा दिक्षा दिने गुरुहरु सबै प्रेरणाका श्रोत हुन् । मेरा सहपाठीहरु हाल कुनै ठाउंमा जीवन बिताइरहनु भएको होला सफल जीवनको कामना गर्दछु । हाम्रा अग्रज दाजु एवं दिदीहरु सबै मानसपटलमा छैनन् तर पनिहाल संगै एउटै सेरोफेरोमा रहेका अमरनाथ योगी, प्रेम खरेल, माधव खरेल, यानबहादुर खड्का जस्ता दाजुहरु संग भेट भइनै रहन्छ । मलाई सबैले माया दिइरहेको अनुभूति भइनै रहेको छ । जीवन बिताउने प्रकृयामा कहिले काहिं कुनै ब्यक्तिको कर्म र ब्यक्तित्वको यसरी छाप पर्छ कि त्यो अविष्मरणीय भएर रहन्छ । जीवनको यस अवधिसम्म पनि भुल्न नसकिने मेरो धरोहर हुन् हाम्रा हेड सर विष्णु मानश्रेष्ठ ।

खजुराबासी अधिकांश हामी सामान्य परिवारमा हुक्र्यौ बढ्यौं र शिक्षा प्राप्त गर्न थाल्यौं । मेरो परिवार तुलनात्मक रुपमा झनै विपन्न हो । हामी लगायत खजुराबासीको शैक्षिक जीवन उकास्न उहांले जे भुमिका निभाउनु भयो त्यो अतुलनीय छ ।

जीवन जीउन कुनै न कुनै पेशा अगाल्नु पर्ने बाध्यता सबैलाई छ । पेशालाई कसरी मर्यादित र ब्यवस्थित गराउने विषय ब्यक्तिको कलाले निर्भर गर्दछ । सो कलालाई शिक्षण पेशाको माध्यमबाट हाम्रो हेडसरले कुशलतापूर्वक सम्पन्न गर्नु भयो । हामीलाई हाम्रो हेडसरले कहिल्यै पनि शैक्षिक आलस्यताको अनुभूति हुन दिनु भएन । हामी सबैलाई हाम्रो जीवनको गोरेटो कोर्न र सकारात्मक बाटो देखाउन उहांले कहिल्यै अल्छि मान्नु भएन । उहांसगै उहांको जीवन संगीनी उमा मेडम मायाको खानी हुनुहुन्थ्यो । दुवै जना शिक्षण पेशामा भएको कारणले हामीले दूवै जनाबाट अपार शिक्षा त पायौं नै पारिवारिक माया पनि पायौं ।

चैत बैशाखको चर्को घाममा होस वा पुष माघ महिनाको जाडोमा होस् नेपालगन्जबाट साइकलमा होस् वा पैदल हामीलाई शिक्षादिक्षा दिन कुनै कसर बाँकी राख्नु भएन । सकारात्मक साेंच, सादा जीवन शैली,शिष्ट भाषा र मिलनसार ब्यवहार उहांँको विशेषतानै हो ।
शारीरिक रुपमापनि आर्कषक जिउडाल र मिलेको शरिरले अझै पनि सबैको मन लोभ्याउछ । भर्खरै सामाजिक संजाल फेस बुकमा उहांँले आफ््नो पुरानो तस्वीर र नयां तस्वीर राखेर पोष्ट गरेको देख्दा म अझै खुसीले गद्गद् छु ।

शैक्षिक प्रशासन, अभिभावक संगको सम्वन्ध, शिक्षक र विद्यार्थी विचको तालमेल मिलाउने सन्र्दभमा उहां निपुण हुनुहुन्थ्यो । विद्यालयमा संचालन हुने प्रशासनिक कार्यमा कसैले खोट लगाउन सक्दैनथ्यो । उहांको कार्य संचालनप्रति सबै सर र मेडमहरु नतमस्तक हुन्थे । विद्यार्थीहरु अनुशासित हुन्थे । कसैले कसैमाथि नकारात्मक रुपमा नजर उठाउने साहस गर्दैनथ्यो । कसैको धम्की र डन गिरी उहांको अगाडी टिक्दैनथ्यो । सबैले सुरक्षित महसुस गर्दथे ।

विद्यालयभित्र हुने वादविवाद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापहरु निरन्तर हुन्थे । जिल्ला स्तरिय रनिंग शिल्ड प्रतियोगितामा उहां आफै उपस्थित भएर खेलाडीको हौसला बढाउनु हुन्थ्यो र विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल हुन्थ्यो ।

हामी उहांका विद्यार्थीहरु हौं । म लगायत अन्य विद्यार्थीहरु धेरैले उहाँबाट शिक्षा आर्जन गरियो । हामी हाम्रो जीवन बिताउन कति सफल भयौं र कति असफल भयौं मूल्यांकनको छुट्टै विषय होला तर उहांँबाट हामीले शिक्षाको माध्यमबाट जुन संस्कार सिक्यौं हामीले कहिल्यै भूल्ने छैनौं ।

जीवनमा आइपर्ने जस्तो सुकै कठिनाईलाई पनि सहज ढंगले पार लगाउन सक्ने उहांको खुबिलाई हामीले जीवनमा उतार्ने प्रण गरेका छौं । यस्ले हाम्रो जीवनमा सकारात्मक उर्जा प्राप्त गरेको छ । भूमिकाको हिसाबले हामी कोहि कुनै पदमा बसेर काम गरेको होऔंला कसैको जिम्मेवारी धेरै होला कसैको कम होला तर हामी उहांको विद्यार्थीले गम्भिर रुपमा के समीक्षा गर्न सक्नुपर्छ भने हाम्रो कर्तब्य पालनाको शिलशिलामा आदर्श ब्यक्तित्व पहिचान गर्न कतै चुकेका त छैनौं ? हामी सचेत वर्गले सोच्न जरुरी छ । ब्यक्तित्व निर्माण एकै पटक र रातारात हुने विषय होइन लामो समयसम्म ब्यक्तिले समाजमा गरेका त्याग, तपस्या र ब्यवहारको शंष्लेषित रुप हो जुन ब्यक्तित्व उहांसंग विद्यमान छ र रहिरहने छ ।

समय धेरै बितिसकेको छ । उहांले शिक्षण पेशाबाट अवकाश लिई सामान्य जीवन बिताइरहनु भएको छ । हाल उहांको बसाई काठमाडौ तिर नै छ । सामाजिक संजालमा कहिलेकाहिं भेटघाट हुन्छ ।

जीवनको उत्तरार्धमा पनि उहां अझै फुर्तिलो र आर्कषक देखिनुहुन्छ । शैक्षिक कार्यमा मात्र नभई सामाजिक कार्यमा पनिअझै सक्रियता बढेको देख्दा हामी प्रफुल्ल हुने गर्दछौं । अझै पनि हाम्रो हेडसर हेड सर नै हुनुहुन्छ कुनै बदलाव देखिएको छैन ।

आजभोली देवी देवताको मठ मन्दिर र धामिक स्थलमा दर्शन गरेको तस्विरहरु फेसबुकमा देख्दा दुवै जना सर र मेडमको जीवन उल्लासमय होस् र जीवन यसैगरि अगाडी बढोस् भन्ने इच्छा बढेर आउँछ । मैले लामो समय पछि जानी न जानी दुई शब्दको माध्यमबाट उहांँहरु प्रति सम्मान ब्यक्त गरें, भाषागत केहि त्रुटी भयो होला भावनात्मक रुपमा बुझ्न अनुरोध गर्दछु । म आशावादी छु, समय र सन्दर्भले कुनै उपयुक्त समयमा भेटघाट भएमा उहांहरुलाई मन्द मुस्कान र हृदयको ढुकढुकीले स्वागत गर्ने नै छु । उहांहरु दुवैको आरोग्यता र दीर्घ जीवनको कामना गर्दछु । सबै परिवार प्रति स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिहोस् । अनुकरणीय रुपमा रहेको उहांहरुको जीवन सफलताका साथ वितोस यहि प्रार्थना गर्न चाहन्छु । ( हेडसर विष्णुमान श्रेष्ठ र मेडम उमालक्ष्मी श्रेष्ठका विद्यार्थी लेखक भुवन प्रसाद गैरे अडान बाँकेका अध्यक्ष हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया