बाँके जिल्ला फुटबल संघमा भोजराज शाही निर्वाचित

बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । पछिल्लो दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।


नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘म पदकै लागिमात्रै फेरि चुनिएको होइन,’ अध्यक्ष शाहीले भने, ‘केही देखिने र सुनिने गरि काम गरेरै छाड्ने विचार तथा योजनाले आएको हुँ ।’


शाहीले अध्यक्षमा निरन्तरता चाहेपछि केन्द्रले चलखेल गरेको थियो । जिल्लाका १२ वटा क्लबमध्ये ११ वटा क्लवले मतदानमा भाग लिएकोमा शाहीका पक्षमा ९ जनाले मतदान गरेका छन् । संघका अनुसार, धम्बोझी क्लबले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग नलिएपछि ११ मतमध्ये शाहीले ९ मत पाएका हुन् । उनी आशोनिक क्लबका अध्यक्ष हुन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारीले दुई मत ल्याएका छन् । अधिकारी एन्फाका प्रदेश उपाध्यक्ष हुन् ।


मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दिपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएको संघले जनाएको छ ।


त्यसअघि बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले साधारण सभाको उद्घाटन गरेका थिए । उनले खेलकुद क्षेत्रमा आफुले सबैसँग हातेमालो गरेर जान चाहेको बताए । निर्वाचनमा केन्द्रबाट पर्यवेक्षकका रुपमा भरत बुढथापा सहभागी थिए । उनले सबै मिलेर फुटबलको विकासमा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया