‘पारस्परिक सहिष्णुता आजको आवश्यकता’

नेपालगन्ज आइपुगेका पूर्व प्रधानमन्त्री केपी ओली रोजा इफ्तारमा सहभागी


पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सहिष्णुताको आवश्यकता औल्याएका छन् । शनिवार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक विविधता र सामाजिक सदभाव बहुभाषिक बहुधार्मिक मुलुक भएको बताउँदै पारस्परिक सहिष्णुता आजको आवश्यकता भएको उल्लेख गरे ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा मुस्लिम समुदायको रमजान पर्व रोजा इफ्तारमा सहभागी बनेका अध्यक्ष ओलीले रमजानलाई सामाजिक सद्भाव र एकताको पर्वका रुपमा व्याख्या गरे ।
एमाले अध्यक्ष ओलीले मदरसा बोर्ड २०५१ सालमा गठन गरी आधुनिक अध्ययनको व्यवस्थाका लागि आफ्नो सरकारले पहल लिएको बताए । एमालेले हजयात्रीलाई सुविधाको लागि हज कमिटी इदगाह र मस्जिदको समस्यामा हातेमालो गर्दै आएको अध्यक्ष ओलीको भनाइ थियो ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत केन्द्रीय नेताहरु सहभागिता रहेको थियो । एमाले बाँकेका नेता तथा कार्यकर्ताहरुसँगै ठुलो संख्यामा मुस्लिम समुदायको सहभागितामा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई समुदायबाट स्वागत सम्मान गरिएको थियो ।
पछिल्ला दिनमा एमाले अध्यक्ष ओलीले नेपालगन्जलाई आधार बनाएर मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा राजनीतिक तथा निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया