घरेलु हिंसामा चारलाई जेल सजाय

वसन्त गौतम

बाँके जिल्ला अदालतको फैसला बमोजिम घरेलु हिंसा गरेको ठहर भएका प्रतिवादी इरफान कवडिया साई समेत ४ ब्यक्तिहरु शुक्रवार बाँके कारागार चलान भएका छन् ।

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ बस्ने जन्नतुल कवडियाले दर्ता गराएको घरेलु हिंसा सम्बन्धि मुद्धामा बाँके जिल्ला अदालतले २०७८ साल पौष २७ गते प्रतिवादीहरु इरफान कवडिया, राजु कवडिया, असफाक कवडिया र सहजात कवडियालाई जनही तिन महिना कैद सजाय गर्ने फैसला गरेको थियो ।

लोग्ने इरफान खाँनसंग १ बर्ष पहिले बिहे गरी बसेकोमा लोग्ने समेतका प्रतिवादीहरुले कुटपिट गरि गाली गल्लौच, ज्यान मार्ने धम्की दिई मिति २०७८ श्रावण १२ गते घरबाट निकाला गरेको भनी पीडित जन्नतुल कवडियाले अदालतमा दर्ता गराएको मुद्धामा उल्लेखित गरेकी थिइन् ।

अन्यायीले चिरुवा दाउराले प्रहार गरि चोट पुर्याई घरमा प्रवेश गर्न नदिई अन्याय गरेको हुदा घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को दफा २ को (क)(ग) (घ) र तथा ३ घरेलु हिंशाको कसुर गरेको हुदा निज प्रतिवादीहरुलाई ऐ. ऐनको दफा १३ बमोजिम हदैसम्म सजाय र प्रतिवादीबाट यथोचित क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भनी पीडित जन्नतुल कवडियाले बाँके जिल्ला अदालतमा मुद्धा दर्ता गराएकी थिइन् ।

मुद्धाको सुनुवाई गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्याम सुन्दर अधिकारीको एकल इजलासले प्रतिवादीहरुले घरेलु हिंसा गरेको ठहर गर्दै इरफान कवडिया राई, राजु कवडिया, असफाक कवडिया, सहजात कवडिया जनही तिन महिना कैद सजाय हुने फैसला गरेको थियो ।

प्रतिवादीहरु इरफान कवडिया, राज कवडिया, असफाक कवडिया र सहजाद कवडियाले सुरुमै म्याद गुजारी बसेकाले निजहरुलाई पुनरावेदन म्याद दिन नपर्ने फैसला बाँके जिल्ला अदालतले गरेको थियो । बादी जन्नतुल कवडिया प्रतिवादी इरफान राई समेत भएको घरेलु हिंसा मुद्धामा बाँके जिल्ला अदालतको मिति २०७८ पौष२७ गतेको फैसलाले प्रतिवादीहरु इरफान कवडिया राई, राजु कवडिया, असफाक कवडिया, सहजात कवडियालाई जनही तिन महिना कैद सजाय हुने ठहरी फैसला भएकोमा निज प्रतिवादीहरुको नाउँमा बेरुजु रहेको तिन महिना कैद हकमा बाँके जिल्ला अदालतको फैसला कार्यान्वयन टोलीले शुक्रवार पक्राउ गरि बाँके जिल्ला अदालतमा उपस्थित गराएकोमा निज प्रतिवादीहरु इरफान कवडिया राई, राजु कवडिया, असफाक कवडिया, सहजात कवडियालाइ कारागारमा राखी सजाय कार्यान्वयन गर्न कैदी पुर्जी दिइएको बाँके जिल्ला अदालतका तहशिलदार शाखा अधिकृत सन्त बहादुर पौडेलले जानकारी दिए ।

पौडेलले दिएको जानकारी अनुसार, अन्य मुद्धामा थुनामा राख्न नपर्ने भए निजहरुलाई शुक्रवार देखि लागु हुने गरि तिन महिना थुनामा राख्ने गरि कैदी पुर्जी दिई बाँके कारागार चलान गरिएको हो । पीडितले क्षतिपूर्ति माग गरेको भएता पनि अदालतले कैद सजाय मात्र गरेको छ ।

बिभिन्न चुनौतीको सामना गर्दै न्यायालय पुगेका पीडितले कमै न्यायको अनुभुति गर्ने गरेकोमा प्रस्तुत मुद्धाका अन्यायीहरु कारागार चलान भएकाले पीडितले केही हदसम्म न्यायको अनुभूति गरेको बताएकी छन् । प्रतिवादीहरुले म्यादै गुजारी बसेका र पुनरावेदन म्याद नपाएको कारण तुलनात्मक रुपमा यो मुद्धाको फैसला र यसको कार्यान्वयन छिटो भएको कानून ब्यवसायीहरु बताउछन् ।

महिला उपर बिभिन्न बहानामा घरेलु हिंसा भए पनि कमैले उजुरी गर्ने, उजुरी गरे पनि बिभिन्न दवाव र प्रभावमा मिलापत्र हुने गर्दछ । कति घरसारमा त कति प्रहरी कार्यालयमा मिलापत्र गरिन्छ । दवावमा मिलापत्र हुनेको समस्या दिगो नहुने र यसले दण्डहीनता बढाउने भएकाले घरेलु हिंसाका घटनामा अपराधको मात्रा अनुसार कानूनी कारवाही हुनु पर्ने अधिकारकर्मी सरस्वती मल्लको भनाइ छ । मिलापत्र गरिएका मुद्धाका कतिपय महिलाहरु पुन हिंसाको शिकार हुने गरेका घटना प्रकाशमा आउने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया