कारबाहीका लागि सडकबाट किन दिईंदैछ, दबाब ?

सडक दुर्घटनामा आफन्त गुमाउनेको पीडा

सडक दुर्घटनामा आफन्त गुमाएका परिवारको संवेदनालाई लिएर बिहीवार एकाएक सडकमा प्रदर्शन गरिएको छ । नेपालगन्जको सुर्खेतरोड किनारमा पैदलयात्रुलाई कारको ठक्करले ज्यान लिएको घटनामा तीनजनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले दबाब प्रदर्शन गरेका हुन् ।

गत चैत २७ गते प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले सुर्खेतरोडमा वीपीचोक तर्फ जान हिडिरहेका तीनजनालाई कारले ठक्कर दिएको थियो । ठक्करले ६५ वर्षीया समीमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारीको मृत्यु भएको घटनामा संलग्न चालकलाई प्रहरीले प्रक्राउ गरि आवश्यक कानुनी कारबाही अगाडी बढिरहँदा एकाएक सडकमा दबाब प्रदर्शन गरिएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारवाहीमा आशंका गरेका प्रदर्शनकारीले टायर बालेर वीपी चोकमा प्रदर्शनसँगै चक्काजाम गरे । उनीहरुले ‘हत्यारालाई फाँसी दे’ भन्नेदेखि ‘अपराधीलाई आफ्नो जिम्मा लगाउन’समेतका माग सडकमा लगाएका थिए ।

नयाँ वर्षमा रमाइरहेको नेपालगन्जमा एकाएक चक्काजाम गर्दै प्रदर्शन गरिएपछि वीपीचोक नजिकै सिख समुदायले मनाइरहेको ‘बैशाखी’ प्रभावित भएको थियो । त्यसबीच प्रहरीले पुष्पलाल चोकबाटै आवागमन ‘डाइभर्ट’ गरि प्रदर्शनलाई हस्तक्षेप नगर्ने नीति लिंदा रमजानको ब्रतमा रहेका प्रदर्शनकारी बिस्तारै शान्त भएका थिए । दोषी उम्कनै नपाउँने प्रहरी प्रतिबद्धतापछि प्रदर्शन स्थगित भएको बताइएको छ ।

‘प्रहरीले दोषीलाई उन्मुक्ति दिने आशंका किन गरिएको छ ?’ दबाब प्रदर्शनका सन्दर्भमा दैनिक नेपालगन्जले गरेको प्रश्नमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफु आश्चर्यमा परेको प्रतिक्रिया दिए । ‘३/३ जना पैदलयात्रुको ज्यान गएको छ, मापसे गरेर तिब्र गतिमा गाडी गुडाउँदा घटना भएको कुरा छर्लंग हुँदा दोषी कसरी छुट्ला ?’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘यी विषयहरुमा हामी निरन्तर छलफल गर्न तयार छौं, गरिपनि रहेका छौं, फेरिपनि यसरी सडकमा मानिस किन उतारिएको होला हामी आफै आश्चर्यमा परेका छौं ।’ उनले प्रहरी अनुसन्धानमा आशंका नगर्न पीडित परिवारलाई आग्रह गर्दै ‘प्राइभेट वकिल राखेर निगरानीसमेत गर्न सकिने’ सम्मका उपाय सुझाए । ‘तर, पीडितको संवेदनासँग खेलेर कसैले राजनीति गरिदिनु भएन,’ प्रहरी अधिकारीको गुनासो छ ।

पीडित परिवारले क्षतिपूर्तिभन्दा दोषीलाई कारबाहीको मागलाई जोड दिइरहेका छन् । ‘यसखालका अपराधीहरुलाई उन्मुक्ति दिंदा अरु कसैको ज्यान जाने जोखिम रहन्छ,’ २० वर्ष कम्तिमा जेल हाल्नुपर्ने माग गर्दै पीडित परिवारका एक आफन्तले प्रदर्शनका क्रममा भने, ‘यसलाई सामान्य दुर्घटनाका रुपमा हेरिनु हुन्न ।’ प्रहरीले सवारी ऐन अन्तर्गद हदैसम्मको सजाय माग गरेर अदालती कारबाही अगाडी बढाइसकेको जनाएको छ । ‘मान्छे पक्राउ परिसकेको छ, अब अदालतले सजाय तोक्ने काम गर्छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘कसैलेपनि कानुन हातमा लिने काम गरिदिनु भएन ।’

बीपी चोकमा टायर बालेर प्रदर्शन : भिडियो सहित

प्रतिक्रिया

प्रतिक्रिया