आसन्न निर्वाचनका लागि संयुक्त रुपमा उम्मेदवारी दिने योजना बनाइरहेका सत्तारुढ गठबन्धनको जिल्ला स्थित संयन्त्रले आपसी बाँडफाँड र छिनोफानो अन्तिममा पुगेको बताएका छन् ।
बुधबार बसेको गठबन्धनको जिल्ला स्थित संयन्त्रको बैठकले पालिका तहको छलफल गरेको जानकारी दिंदै संयोजक नारायण प्रसाद गौडेलले भने, ‘अब बस्ने बैठकले उपमहानगरपालिका बाहेकको टुंगो लगाउने विश्वास गरिएको छ ।’ उनका अनुसार, आज बिहीबार गठबन्धनको बैठक डाकिएको छ ।
गठबन्धनमा सहभागी दलहरुले पालिकामा आफ्ना कार्यकर्तादेखि मतदातासम्मको शक्तिबारे प्रस्तुत गरेका थिए । ‘जसपा बाहेक सबैको धारणा गठबन्धन गरेर जाने कुरामा कुनै समस्या छैन’, बैठकमा सहभागी एक नेताको भनाइ थियो, ‘जसपाले भने एकलौटी रुपमा केन्द्रकै निर्णय अटेरी गरेर जाने संकेत प्रष्टसँग दिएको छ ।’
काँग्रेस बाँकेका सभापति समेत रहेका जिल्ला स्थित संयन्त्रका संयोजक गौडेलले जसपाबाट गठबन्धन विरुद्ध कुरा पनि नआएको र पक्षमा पनि नदेखिएको बताए । ‘जसपा कसरी जान खोज्दैछ, हामी प्रष्ट छैनौं’, गौडेलले दैनिक नेपालगन्जसँग भने, ‘बैठकमा पनि प्रष्ट कुरा आएन ।’
जसपा जिल्ला अध्यक्ष कमरुद्दीन राईले यसअघि नै दैनिक नेपालगन्जसँग कुरा गर्दै बाँकेको सन्दर्भमा नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुर बाहेकका पालिकामा मात्रै आफुले नेतृत्व छाडेर गठबन्धन गर्न सकिने धारणा सार्वजनिक गरिसकेका छन् ।