शिक्षा र कृषिमा नविनतम प्रविधिको प्रयोगबारे नेपालगन्जमा अन्तक्र्रियात्मक बहस आयोजना गरिएको छ । सोमवार क्यान महासंघ बाँकेले टुकी र निन्जा इन्फोसिससँगको सहकार्यमा ‘डिजिटल समिट’ गरेको हो ।
डिजिटल समिटको पहिलो शत्रमा शिक्षा र दोस्रोमा कृषिमा सूचना प्रविधिको प्रयोगका विषयमा छलफल भएको थियो कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुले खुलेर छलफल गरेका थिए ।
सहभागीहरुले शिक्षा र कृषि दुबैमा नविनतम प्रविधिको अपेक्षित प्रयोग र उपयोगिता हुन नसकेको भन्दै व्याप्त नीतिगत समस्या सुधार गर्दै कार्यान्वयनमा सरकारी अग्रसरताको खाँचो औल्याएका छन् । ‘अहिलेपनि कम्प्युटर प्रशिक्षकलाई भर्ना गर्दा शिक्षा विषय पढेको व्यक्तिलाई हुनैपर्ने व्यवस्था छ,’ शिक्षामा प्रविधिको अवस्था यसैबाट प्रष्ट हुने संकेत गर्दै सहभागीले भने, ‘अझैसम्म सुधार हुन सकेको छैन भने कहिले सुधार गर्ने ?’
कार्यक्रममा स्रोतव्यक्तिका रुपमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक रामचन्द्र शर्माले सरकार शिक्षामा प्रविधिको प्रयोगमा विस्तारै अगाडी बढिरहेको बताए । देशका १३ हजार ६ सय ३० सामुदायिक विद्यालय सूचना प्रविधिका प्रयोगशाला स्थापना भइसकेको जानकारी दिंदै निर्देशक शर्माले ७ वटै प्रदेशका डिजिटल सिकाइ केन्द्र स्थापना गर्ने कार्यक्रम अघि बढेको बताए ।
नेपालगन्जस्थित जिल्ला शिक्षा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव सूचना प्रविधि पुगे पनि त्यसको उपयोगिता अपेक्षित नभएको बताए ।
जिल्ला शिक्षा समन्वय इकाई बर्दियाका शाखा अधिकृत महेश देवकोटाले बर्दियाका सामुदायिक विद्यालयले सफ्टवेयर चलाउने, आफैले डाटा इन्ट्री गर्ने, अपलोड गरिरहेपनि विद्यार्थीले कम्प्युटर चलाउन नपाएको खुलाए । अधिकांश विद्यालयमा कम्प्युटर उपलब्ध गराइएपनि प्रयोग हुन नसकेको देवकोटाको भनाइ छ ।
नेपालगन्जमा रहेर सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था, टुकीका सिइओ उमेश शर्माले शिक्षामा प्रविधिको प्रयोगबाट निकै ठुलो लाभ लिन सकिने भएपनि अग्रसरता नदेखिएको बताए । उनले शिक्षण संस्थाहरुमा डिजिटल ग्याप रहेकाले त्यसको पूर्तिमा अग्रसरता औंल्याए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, उपाध्यक्ष शरद्चन्द्र रावल, प्याब्सन नेपालगन्ज नगर कमिटीका अध्यक्ष विकास बज्राचार्य, कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आले लगायतले प्रविधिक शिक्षामा निजी विद्यालयहरुलाईसँगसगै लैजान आग्रह गरे । उनीहरुले एउटै पाठ्यक्रम पढाउने निजी विद्यालयलाई पनि सरकारले सामुदायिक विद्यालयलाई जस्तै सूचना प्रविधिको क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन गर्न माग पनि गरे ।
कार्यक्रमको अर्काेसत्रमा कृषि क्षेत्रमा यान्त्रिकीकरणको लहर विस्तारै शुरु भएपनि त्यसको विस्तार र प्रसारमा सूचना प्रविधिको प्रभावकारी कार्यान्वयनमा सरकारी उदासिनता औल्याइएको थियो । लुम्बिनी प्रदेश सरकारको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबद्र्धन महाशाखाका प्रमुख अमरराज शर्मा घिमिरे, रामपुर कृषि क्याम्पसका प्रमुख मिलन सुवेदी, कृषि ज्ञान केन्द्र बाँकेका बागबानी अधिकृत रामप्रकाश यादव निन्जा इन्फोसिसका रमेश क्षेत्रीलगायतका स्रोतव्यक्तिबीच सहभागीहरुले विभिन्न धारणा राखेका थिए । प्रमुख स्रोत व्यक्ति घिमिरेले यान्त्रिकरणमा कृषि क्षेत्र क्रमशः अगाडि बढ्दै गएपनि सूचना प्रविधिको क्षेत्रमा इमेल वेभसाइट मात्रैलाई उपलब्धी मान्नुपर्ने अवस्था रहेको बताए । ‘बरु निजी क्षेत्रबाट राम्रा प्रयासहरु भैरहेका छन्, त्यसलाई सरकारी निकायले अपनत्व लिन जरुरी छ’, घिमिरेले भने ।
पत्रकार शंकरप्रसाद खनाल र खगेन्द्र दाहालले सहजीकरण गरेको डिजिटल समिटमा बाँके र बर्दियाका शिक्षा, कृषि र सूचना प्रविधिको क्षेत्रको प्रतिनिधिमूलक सहभागिता रहेको टुकीका प्रवन्ध निर्देशक विवेक खड्काले जानकारी दिए ।
क्यान महासंघ बाँकेका निवर्तमान अध्यक्ष भोजराज तिमिल्सिनाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्र्दै प्रविधिको प्रयोगबाट हरेक गतिविधि सहजीकरण गर्दै जाने कुराको सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रमको सहजीकरण महासंघका सचिव दिपक खड्काले गरेका थिए ।