नेपालगन्जमा ‘डिजिटल समिट’ गरिंदै

कृषि र शिक्षामा नविनतम प्रविधिको प्रयोगलाई प्रोत्साहनका लागि ‘समिट’ गर्न लागिएको हो

नेपालगन्जमा शिक्षा र कृषिमा प्रविधिको प्रयोगलाई लिएर भैरहेको अभ्यास तथा सम्भावनाको खोजी गर्न डिजिटल समिट गर्न लागिएको छ । क्यान फेडरेसन बाँकेले टुकी र निञ्जा इन्फोसिससँगको सहकार्यमा सोमबार एक दिने ‘डिजिटल समिट’ गर्न लागेको हो ।

आयोजक क्यान महासंघ बाँकेले शनिबार पत्रकार सम्मेलन गरी ‘शिक्षा र कृषिमा नविनतम प्रविधिको प्रयोग’ बारे एक दिने कार्यक्रम गर्न लागिएको जानकारी दियो । ‘खासगरी शिक्षा र कृषिको क्षेत्रमा गुणस्तर कायम राख्न बढी रहेको चुनौति सामनाका लागि नविनतम प्रविधिको प्रयोग आवश्यक छ’, टुकीका सिइओ उमेश शर्माले भने, ‘बाँके, बर्दियामा अहिलेको अभ्यास र अवस्था यो समिटबाट एकीन गर्न सकिन्छ ।’

कार्यक्रममा सरोकारवाला निकायलाई एक अर्कासँग अन्तरक्रियात्मक छलफल गराएर शिक्षामा आइसिटीको प्रयोग, आवश्यकता, जनचेतना र मागलाई एकै ठाउँमा राख्ने अभियान आयोजकको छ । ‘यसले अहिलेको अवस्थाको अध्ययन र सम्भावनाको खोजी गर्न सहयोग पुर्याउँछ’, शर्माले भने, ‘ठिक त्यसै गरी कृषिमा नयाँ प्रविधिको प्रयोग अवस्था र कार्यान्वयनको चुनौतिमा सरकार सहित सरोकारवालालाई एकै ठाउँमा समाधान खोज्ने प्रयास हुनेछ ।’

बाँके र बर्दियाका सबै पालिकाबाट शिक्षा तथा कृषि इकाइ प्रमुख, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, कृषि ज्ञान केन्द्रका प्रमुख, जिल्ला प्याब्सन तथा एन प्याब्सनका पदाधिकारी, संघीय नमूना विद्यालय, पालिका स्थित शिक्षाका जिम्मेवार व्यक्तिहरुको प्रतिनिधिमूलक सहभागितामा डिजिटल समिट हुने आयोजकले जनाएको छ ।

‘महासंघले फरक ढंगले आफ्ना कार्यक्रमलाई अगाडि बढाउने योजना अनुरुप यो कार्यक्रम गर्न लागिएको हो’, क्यान महासंघ बाँकेका कार्यवाहक अध्यक्ष शिशिर नारायण श्रेष्ठले भने । कावा अध्यक्ष श्रेष्ठका अनुसार, कोरोनाका कारण रोकिएका क्यान महासंघका गतिविधिहरुलाई तिव्रता दिंदै प्रारम्भमा डिजिटल समिट आयोजना गरिएको हो । ‘यसले सूचना प्रविधिको अधिकतम प्रयोग कृषि र शिक्षामा पुग्ने विश्वास लिएका छौं’, उनले पत्रकार सम्मेलनमा भने ।

समिटमा कृषि तथा शिक्षा क्षेत्रका विज्ञहरुले स्रोत व्यक्तिका रुपमा सहभागिता जनाउँदै छन् भने त्यही क्षेत्रलाई अध्ययन गरिरहेका व्यक्तिले सहजीकरण गर्नेछन् । ‘यो एउटा मोडेल कार्यक्रम होस् भन्ने हाम्रो चाहना हो’, टुकीका प्रवन्ध निर्देशक विवेक खड्काले भने ।

प्रतिक्रिया

प्रतिक्रिया