शिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको वैशाखी पर्व नेपालगन्जमा विविध कार्यक्रम गरी मनाइने भएको छ । वर्षेनी मनाइदै आएको बैशाखी यसपटक तीन दिनसम्म भव्य रुपमा मनाइने भएको हो ।
श्री गुरु नानक देव सेवा सोसाइटी इन्टरनेशनल युएसए त्यसका लागि आवश्यक सहकार्य गरेको जनाएको छ । गुरुद्वारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले दिएको जानकारी अनुसार, वैशाख १ – ३ नेपालगन्जमा बैशाखी पर्व भव्य रुपमा मनाउन आवश्यक तयारी थालिएको हो ।
खालसा साजना दिवस र वैशाखी पर्वको उपलक्ष्यमा तीनै दिन बिहानैदेखि गुरुद्वारामा अखण्ड पाठ गरिने र त्यसअवधी भर लंगर तथा भण्डाराको समेत व्यवस्थापन गरिने आयोजक संस्थाले जनाएको छ ।
अन्तिम दिन वैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकीसहितको शोभा यात्राले नेपालगन्जको परिक्रमा गर्ने तथा त्यसक्रममा लठ्ठी, तलवारसहितको मार्शल आर्ट (गतका) प्रदर्शन गरिने अध्यक्ष सिंहले जानकारी दिए । श्री गुरु नानक देव सेवा सोसाइटी इन्टरनेशनलले केही वर्षदेखि नेपालगन्जका सिख समुदायलाई यसखालका आयोजनामा सघाउँदै आएको छ ।
नेपालमै सबैभन्दा बढी सिख समुदायको बसोबास नेपालगन्जमै छ । अल्पसंख्यक सिख समुदायले संबैधानिक रुपमै आफ्ना साँस्कृतिक अधिकारको सुनिश्चितता माग गर्दै आएको छ ।