बाँकेका सुरक्षा अधिकारीहरु बाँकेका निर्वाचन केन्द्रमा स्थलगत रुपमा नै पुग्न थालेका छन् । आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना बनाउन बाँकेका सुरक्षा अधिकारी फिल्डमै पुग्ने गरेका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा पुगेर अवस्था अध्ययन गरिरहेको जानकारी दिए । ‘निर्वाचन सुरक्षा प्रशासन, प्रहरीको जिम्मेवारी हो, निर्वाचनका बेला कति सुरक्षाकर्मी खटाउनु पर्दछ, भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेका हौं’, प्रजिअ खत्रीले भने, ‘नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा मतदान केन्द्रको अनुगमन गरेका छौं ।’
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले निर्वाचन लक्षित गरेर बाँके प्रहरी प्रमुख पनि फिल्डमा अनुगमनका लागि गएको बताए । ‘सुरक्षा संवेदनशीलता र बनाउनु पर्ने योजनाका लागि पूर्व तयारी भैरहेको छ’, उनले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन हुने बताउँछन् । ‘जोखिमको मूल्यांकन गरी केन्द्रको मापदण्ड अनुसार सुरक्षाकर्मी खटाइनेछ’, उनले भने ।
बाँकेमा १ सय ३६ मतदान स्थल, ३ सय ७९ मतदात केन्द्र
निर्वाचन आयोगले बाँकेमा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र निर्धारण गरेको छ ।
बाँकेमा अति संवेदनशील मतदान स्थलको यसअघि नै आंकलन गरि सकिएको छ । बाँकेका आठ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहका १ सय १ मतदान स्थल अति संवेदनशीलको अवस्थामा रहेका छन् । बाँकेमा रहेका १ सय ३६ मतदान स्थल मध्ये ३५ मतदान स्थल संवेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
वि.सं. २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् । मतदाता संख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको छ ।