किन मागियो लाइसेन्स वाला हतियार ?

नेपालका सबै जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला लाइसेन्स लिएर राखेको हतियार क्षणिक समयका लागि फिर्ता माग्ने गर्दछ । निर्वाचन सुरक्षाका लागि हतियार फिर्ता कार्यतालिकाको निरन्तरता जस्तै भएको छ । निर्वाचनका बेला हतियारको दुरुपयोग नहोस् भनेर हतियार माग्ने गरेको सम्बद्ध अधिकारीहरु बताउँछन् । मानिसहरुले आफ्नो इच्छा, सुरक्षा लगायतका कारणले लाइसेन्स लिएर हतियार राख्ने गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले हातहतियार बुझाउनका लागि प्रशासनले यसअघि सूचना जारी गरिसकेको बताउँदै म्याद चैत्र मसान्तसम्म रहेकाले त्यसपछि कति हतियार बुझाइयो भन्ने एकिन हुने बताए ।

बाँकेमा कति हतियार लाइसेन्स वाला रहेका छन् भन्ने एकिन छैन । प्रशासनले नविकरणको आधारमा हतियारको अनुमान गर्दै आएको छ । मानिसहरु इजाजत लिएर अर्को जिल्लामा बसाई सरी जाने र सूचना जारी हुँदा सम्बन्धित जिल्ला प्रशासनमा बुझाउने, जीर्ण भएका हतियारको जानकारी नदिंदा पनि लाइसेन्स वाला हतियारको तथ्यांक एकिनका भरमा रहेको छ ।

हाल बाँके प्रशासनले नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन सूचना जारी गरेको छ । तर, न्यून परिणाममा मात्रै हतियार बुझाउने कार्य भएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी बताउँछन् । ‘समय अझै रहेकाले सम्बन्धितले हतियार बुझाउने विश्वास छ’, उनी भन्छन्, ‘बाँकेका सबै प्रहरी इकाइमा गरी हालसम्म ८÷१० वटा हतियार बुझाइएको होला ।’

२०७४ सालमा प्रशासनले पटकपटक सूचना जारी गर्दा पनि लाइसेन्स वाला हतियार प्रहरी इकाइमा अपेक्षित रुपमा जम्मा भएको थिएन । उक्त समयमा प्रशासनको तथ्यांक अनुसार, बाँकेमा ३ सय भरुवा बन्दुक र ५ सय ३४ वटा बाराबोर रहेको थियो । जिल्लामा पेस्तोल ७ वटा, बाराबोर एक नाले १७७, २ नाले २४१, राइफल ८८, एरगन ३, ३२ बोर ३ थान रहेको थियो । जसमा सर्टगन २ थान, १६ बोर राइफल ४ थान सहित बाँकेमा ८ सय ३४ वटा हतियार थिए । त्यसपछि पनि प्रत्येक बर्ष हतियार इजाजत नविकरण तथा नयाँ हतियारको अनुमति लिने क्रम रहेको छ । अन्य जिल्लाबाट यहाँ आउने र यहाँबाट अन्य जिल्लामा जाने क्रम पनि रहेको प्रशासनका अधिकारी बताउँछन् ।
बाँके प्रशासनको नविकरणको तथ्यांक अनुसार, जिल्लामा ५ सय ५५ जनाले हतियार राख्न अनुमति लिएर १ हजारको हाराहारीमा हतियार राखेका छन् ।

‘वैध हतियारबाट अपराध भएको पाइएको छैन’
निर्वाचनमा दुरुपयोग नहोस् भनेर हतियार माग्ने गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण अधिकारीले निर्वाचन सुरक्षा कार्यक्रम अन्तर्गत प्रशासनले लाइसेन्स वाला हतियार केही समयका लागि आम नागरिकबाट लिने गरेको बताउँछन् । ‘लाइसेन्स वाला हतियारबाट पछिल्ला बर्ष जिल्लामा अपराधिक गतिविधि त भएको पाएका छैनौं, तर सुरक्षाको दृष्टिकोणले हतियार माग्नु पूर्व सजगता हो’, उनी भन्छन् ।
बाँके प्रहरी प्रमुख अधिकारीले निर्वाचनका बेला हुने प्रतिस्पर्धामा लाइसेन्स वाला हतियारकै कारण कुनै अप्रिय घटना नहोस् भनेर हतियार केही समय प्रहरी कार्यालयमा राख्ने गरिएको बताउँछन् । ‘अहिले पनि हतियार बुझाउन भनेका छौं, निर्वाचन पछि फिर्ता गरिनेछ’, उनी भन्छन् ।

बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी वैध भन्दा अवैध हतियार कसैले राखेको भए त्यो सुरक्षा चुनौति हुनसक्ने बताउँछन् । ‘खुला सीमा भएकाले अवैध हतियार भित्रिने र त्यसबाट सुरक्षा चुनौति हुनसक्छ’, उनी भन्छन्, ‘त्यसैले निर्वाचनका बेला खुला सीमामा निगरानी बढाउने, अन्य समय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था बलियो बनाइने गरेको हो ।’
‘निर्वाचनका बेला सुरक्षाका सबै कदम नागरिक सुरक्षाका लागि आवश्यक छ’, प्रहरी उपरीक्षक अधिकारी भन्छन् ।

अवैध हतियार सुरक्षा चुनौति

भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ । मानिसहरुलाई धम्क्याउन, चोरी शिकारी गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ ।

खुला सीमाना रहेकाले बाँकेमा अवैध हतियार भित्र्याउन अपराधिक प्रवृत्तिको व्यक्तिलाई सहज रहेको छ । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति र भारतमा सहजै उपलब्ध हुने साना हतियार नेपालको सुरक्षा व्यवस्थामा चुनौति बन्दै गएको पछिल्ला थुप्रै उदाहरण पाइन्छ । भारतबाट साना हतियार ल्याउने बाँके तथा यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने अपराधिक घटना घटाउने गरेको पाइन्छ ।

बाँकेमा विगत तीन बर्षको अवधीको हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको पाइन्छ । अन्तर्राष्ट्रिय सीमा नाका औपचारिक रुपमा बन्द रहेको समयमा अवैध हतियार पक्राउ पर्ने र त्यससम्बन्धी मुद्दा ह्वात्तै बढेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँकेमा अवैध हातहतियार सम्बन्धी मुद्दा आ.व. ०७५÷०७६ मा ५ वटा, आ.व. ०७६÷०७७ मा ५ र आ.व. ०७७÷०७८ मा बढेर १४ पुगेको छ । प्रहरीले आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियार सहित मानिस पक्राउ गर्ने गरेको छ ।

बाँकेमा अपराधिक घटना घटाउने मानसिकताले हतियार भित्र्याउने गरेको पाइन्छ । चालु आर्थिक बर्षको साउनमा जिल्ला प्रहरी कार्यालय बाँकेले एक÷एक थान बन्दुक र पेस्तोल सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. ६ स्थित छोटेलाल राढले हतियार बिक्री गरिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र पेस्तोल सहित पक्राउ गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा तीन पटक बाँके प्रहरीले हतियार बरामद गरेको छ । हतियार सहितको डकैती, डुडुवा गाउँपालिका चेकजाँचका क्रममा अटोमेटिक पेस्तोल, गोली नौ थान बरामद बाँके प्रहरीले गरेको थियो ।

जग्गाको विवादमा हानाहान
चार जना घाइते

बाँकेको डुडुगाउँपालिकामा जग्गाको विषयमा भएको विवाद ‘हानाहान’ हुँदा दुवै पक्षका चार जना घाइते भएका छन् । जसमध्ये एक जना उपचारमा नै रहेका छन् ।

बाँकेको डुडुवा–६ मंग्तानडेरामा आपसी झडपामा शोभाराम माहुत, मुन्ना माहुत र फेकु माहुतको समुह र मुलचन्द माहुत, खेलावन माहुत, शनिराम माहुत र बहुर माहुत बीच झडप भएको हो । ‘झडपमा एक गम्भीर घाइते छैन्, एक जना नियन्त्रणमा लिएका छौं, बुधबार दुवै पक्षबीच छलफल गरेर कानुनी प्रक्रिया अगाडि बढाउँछौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने ।

प्रतिक्रिया

प्रतिक्रिया