बुर्काभित्र/बुर्काबाहिर



आज यो स्तम्भमा समय सान्दर्भिक विषयमा चर्चा गरिन खोजिएको छ । हाल सदन देखि सडक सम्म बहसको विषय बनेको विषय । महिलावादी संघ संस्थाहरु पनि यो विषयमा तर्क वितर्क गर्दैछन्, अर्को विवाह गरेपछि साबित पतिको सम्पत्ति फिर्ता विषयेक विधेयक ।
हुन त महिला पुरुष वैवाहिक जीवनमा रथका दुई पाङग्रा हुन् । वैधानिक रुपमा आफ्नो जीवन र वंशलाई अगाडि बढाउनका लागि महिला र पुरुषले आ आफ्नो धार्मिक र सामुदायिक मुल्यमान्यता अनुसार दुबै पक्षको मन्जूरी र हेरविचार गरी विवाह गर्ने गर्छन् । कति विवाह सफल हुन्छन् कति विवाह विभिन्न कारणले असफल हुन पुग्छन् । अधिकांश वैवाहिक गृहस्थी घरेलु हिंसा, छोरी जन्मिने, अन्मेल विवाह र दाइजो आदि कारण असफल हुने गरेका छन् । जसमा बढी महिलाहरु नै पीडित हुन्छिन् । महिलाहरु पीडित हुन नपरोस् वा पीडित भएकोमा न्यायका लागि पहल गर्न सकुन् भनी विभिन्न महिला अधिकारवादी संघ सस्थाले पहल तथा प्रयास गर्दै आइरहेकाछन् । उनीहरुले महिलालाई सचेत र शसक्त बनाउन विभिन्न खाले परियोजना र कार्यक्रम हरु पनि संचालन गर्दै आइरहेकाछन् ।
तथापि अवस्था यो छ कि हाल सम्म पनि वास्तविक पीडित सरोकारवाला निकाय सम्म कम मात्रामा पुग्ने गर्छिन् । कोही पुगिहालिन् भने उनलाई न्याय पाउन गाह्रो हुन्छ । हुन त हरेक तेस्रो घरमा महिलाहरु कुनै न कुनै रुपमा पीडित हुन्छिन्, समस्यामा हुन्छिन्, तनावमा हुन्छिन् । तर कहीं उजूरी दिदैनिन् किनकि उनले आफ्नो मात्र नभइ बच्चाहरुको भविष्यका बारेमा सोचेर बसेकी हुन्छिन् । यदि सबै महिलाले उजूरी नै गर्न थालिन् भने सम्बन्धित निकायमा उजूरी दर्ता गर्ने कर्मचारीको काल परिहाल्नेछ । न्यायालयमा न्यायाधीशहरुलाई श्वास लिन गाह्रो भइहाल्नेछ तर त्यस्तो छ छैन ।

भनाइको अर्थ यो कदापि होइन कि कुनै महिला हिंसा सहेर बस्नुपर्छ । बरु, भन्नुको आशय यो छ कि न्यायालय सम्म पुग्ने सबै महिलाहरु पीडित नै हुन्छिन् भन्ने छैन् अहिले कति त आफ्नो पतिको सम्पत्तिको लोभमा पनि जान थालेका छन् । यसको मुख्य कारण हो, आजको आधुनिक समाज जहाँ अधिकांश महिलाहरु मोबाइल र सामाजिक संजाल मार्फत परपुरुषको प्रेममा परिरहेकीछिन् त्यो पनि आफ्नो पति र परिवारलाई धोका दिइकन ।
परपुरुषको झांसामा आएर सम्बन्ध विच्छेद गरी पतिको सम्पतिमा मोज गर्ने नियतले पति र परिवारमाथि झुठो र निराधार आरोप लगाएर अंश मुद्दा लगाउन थालेकीछिन् । यसका तीन उदाहरण यही लेखमा उल्लेख गरिएका घटनाहरु पढ्न सकिन्छ । जुन घटनाहरु यसअघि दैनिक नेपालगन्जमा प्रकाशित ‘महिला अधिकारका अतिवाद’ शीर्षकमा लेखिएको आलेखमा उजागर गरिएको थियो ।

घटना १ ः वैवाहिक बलात्कार, घरेलुहिंसा र मानाचामलको मुद्दा
५ वर्ष अघि सामाजिक रीतिरिवाज अनुसार मागी विवाह भयो । बुहारीलाई बस्न गाह्रो न होस् भनी घरपरिवारले छुट्टै कोठा भाडामा लिएर बस्ने व्यवस्था मिलाइदिए । विवाह भएको सुरु दिन देखि नै पत्नीले पतिलाई विभिन्न तरिकाले सताउन सुरु गरिन् । कहिले रिसको आवेगमा आएर घरका सरसामान तोडफोड गर्ने त कहिले फोन गरी माइती परिवारटलाई बोलाएर झगडा गरी सबै सरसामान झोलामा हालेर माइत गइहाल्ने । पति र पतिका परिवारले अहिले अलिअलि झक्कीपन छ बालबच्चा भएपछि बानी सुधार भइहाल्छ भनी उसको रिसमा गर्ने तोडफोड र आवेगमा आएर माइत गइहाल्ने बानीव्योहोरा नजरअंदाज गदर्थे ।
एक वर्षपछि छोराको जन्म भयो । तर बानीमा सुधार आएन् १५ दिनको शिशुलाई सासु र पति समक्ष छाडेर आफु हप्तादिनका लागि माइत गइहालिन् । बच्चालाई सासु र पतिको भरमा छाडेर माइती गएर हप्तौं बस्ने बानीमा कुनै सुधार आएन ।
त्यतिले पुगेन, सारा सरसामान कोठाबाट लगेर माइतीघरमा सारिन् र केही दिन त्यहां संगै बसिन् । अझैपनि पतिसंग झगडा गरी मोबाइल आदि खोसेर माइती परिवारसंग मिलेर घरबाट निकादिइन् । त्यतिखेर उनी दोस्रो पटक गर्भवती पनि थिइन् । घरबाट निकालेर पतिमाथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिन् । पतिले पटक पटक मिलापत्रको आग्रह गर्दा पनि मानिनन् । पति आफ्नो आमा र भाईहरुसंग बसिरहँंदा उता उनीहरुका मनमा अर्को षडयन्त्र सुरु भइसकेको थियो जस बारे यिनीहरुलाई थाहै थिएन । उनले त्यही षड्यन्त्र अनुसार पतिलाई मिलापत्रका लागि छलफल गर्ने बहानामा घर बोलाइ आफु, आमा, बहिनी दाईभाई पुरै माइती परिवार मिलेर कुटपिट गरी चोरीको आरोपमा जेल पठाइन् । जेलबाट आइसकेपछि अस्पतालमा गर्भवती जांच र सुत्केरी खर्च औषधी उपचार खर्च सबै पतिबाटै तिराए ।

यहाँं विवाह गर्नुको उद्देश्य घरजम गरी खानु थिएन । पति तर्फ करौडौंको पुर्खयौली सम्पति थियो जसमाथि यो परिवारको धेरै पहिला देखि नै आँखा लागेको थियो त्यो सम्पति हासिल गर्न यिनी आमा छोरीहरु मिलेर विवाहको नाटक गरेका थिए । विवाह गरेर पछि छोरीको साथमा मिलेर ज्वाईं र उसको परिवारलाई यति सताउने की उनीहरुले आत्तिएर आफै तलाक दिउन् र छोरीसहित दुबै नातिहरुको अंश स्वतः पाइहालिन्छ । तर पतिले विवाहलाई सकभर निभाउने प्रयास गरिरहँदा यिनीहरुको षडयंत्र असफल भयो । जसको आवेगमा आमाछोरी बहिनी सबै मिली पतिमाथि वैवाहिक बलात्कारको मुद्दाका साथै मानाचामल अर्थात खाना खर्च र बच्चाहरुको भरणपोषणको मुद्दा पनि लगाइदिए ।
माथिको पुरै घटनाक्रम बुझ्दै जाने हो भने यो घटनामा महिला कुनै तवरले पीडित रहेको देखिन्छन् र ? जुन महिलाले १५ दिनको दुखमुखे बालकलाई छाडेर हफ्तौं माइतीमा बस्न सक्छिन् । यति सानो बच्चा कसरी आमा बिना बसे होला ख्यालै नगरी आफ्नो स्वार्थ बारे मात्र सोच्ने महिलाले बच्चाको रेखदेख गर्नका लागि आफुसंग बच्चा राखेको हो वा बच्चाको अंश पनि हडप्न पाइन्छ भनी बच्चालाई माध्यमको रुपमा प्रयोग गर्न राखेको होला भनी सहजै बुझ्न सकिन्छ ।
महिलाले सम्पत्तिको लोभमा सम्पति हासिल गर्न आफ्नो घर र वैवाहिक जीवन बर्बाद गर्न कुनै कसर बाकी नराखेको भनी प्रष्ट देखिन्छ । तर, अदालतले महिलाकै हकमा सम्पतिमा दुई सन्तान र महिला सहित तीन भाग महिलालाई अंश दिने फैसला सुनाइ दिइसकेको छ । जबकि वैवाहिक बलात्कार जस्तो संवेदनशील मुद्दामा भने अदालत अझै विचाराधीन रहेको छ ।

घटना २ ः घरेलुहिंसा र अंश सहित सम्बन्ध विच्छेदको मुद्दा

१३ वर्ष अघि सामाजिक रितिरिवाज अनुसार परिवारले मागी विवाह गरी एउटी पढेलेखेकी बुहारीको रुपमा उनलाई ससम्मान भित्र्यायो । परिवार पनि अलि धनीमानी र शिक्षित थियो त्यस कारण पढेलेखिकी बुहारी आइ भने परिवारमा घुलमिल हुन सजिलो हुन्छ भनी सोंच थियो । यही सोंचका साथ सामान्य मध्यम वर्ग परिवारकी छोरी ल्याए ताकि उसले आफ्नो घरमा नपाएका सेवासुविधा उपयोग गर्न पाओस् ।
माइती परिवार आर्थिक रुपले सम्पन्न थिए, तर उनीहरुलाई बुहारी पढेलेखिकी भए पुग्ने थियो बाँकी सबथोक उनीहरुसंग थियो । विवाह हुँदा पढाइ निरन्तर थियो त्यस कारण यताका परिवारले घरका कामकाज आफै गरी उनका लागि विवाह पश्चात पनि पढाइलाई निरन्तरता दिन सहज वातावरण बनाए । विवाहपछि केही वर्ष सम्म सबै कुरा राम्ररी चलेको थियो । यसै बीच एउटी छोरीको जन्म पनि भयो । तब सम्म सबै ठीकै थियो घर परिवारमा ।
तर भनिन्छ नि ! मानिसलाई आवश्यकता भन्दा बढी महत्व दिइयो भने टाउकोमा नै टेक्न आउँछन् यहाँ पनि यस्तै भयो । उनलाई जति पति र परिवारले माया गर्थे सम्मान गर्थे उनको व्यवहार फेरिंदै गइरहेको थियो । उनले स्वेच्छाले बिचमा पढाइ छाडिन् । अनि अंग्रेजी भाषा र कम्युटर कक्षा ज्वाइन गरिन् । अंग्रेजी भाषा र कम्प्यूटर कक्षाको फीस भुक्तानी गरेर पनि कक्षा बिचमैं छाडिन् । अब अर्को रहरको जन्म भयो पुनः पढाइ गर्ने र उनले एम. ए.को कक्षामा पढ्न भर्ना लिइन् जसमा उत्तीर्ण भएपछि अर्को शोखले जन्म लियो कि अब स्कुलमा पढाउन जान्छु । घर परिवारले त्यसको लागि पनि कुनै रोकटोक गरेन । उनले पढाउन सुरु गरिन् र त्यहीबाट उनको परिवारमा विवाद सुरु भयो ।

महिला अधिकार भनेर उनले आफ्नो छोरीको हेरचाह पतिको खानापानीको जिम्मेवारीहरु र दायित्व सब छोडछाड गरि आफ्नो इच्छा पुरा गर्न तर्फ बढी केन्द्रीत भइन् । जसले गर्दा घरमा कलह सुरु भयो । जसको फलस्वरूप उनले आफैले कलहको सुरुआत गरिन् र आफैँ गएर घरेलुहिंसा र अंश सहितको छुटापत्रको मुद्दा हालिन् । जुन मुद्दा हाल बांके जिल्ला अदालतले महिलालाई अंश दिनुपर्ने फैसला सुनाइसकेको छ ।
घटना ३ः अंश सहित सम्बन्ध विच्छेदको मुद्दा
४ वर्ष अघि सामाजिक रितिरिवाज परिवारको इच्छा अनुसार मागी विवाह भयो । विवाह भएको एक वर्ष सम्म सब ठीकै चल्यो । त्यस पछि उनले पत्नीको कर्तव्य निभाउन छाडिन् । न पतिसंग कुनै वास्ता न घर परिवारसंग कुनै वास्ता राख्थिन् ।
निरन्तर पति र परिवारलाई मानसिक तनाव दिने खालका शब्द प्रयोग र गतिविधिहरु गर्थिन् । उनको यो कार्य निरन्तर जारी थियो माइती परिवारलाई बोलाएर देखाउँदा वा छोरीलाई घरबार सम्हाल्न सुझाव दिन बोलाउँदा स्वाभाविक रुपमा तिनीहरु छोरीकै पक्ष लिन्थे जसले गर्दा उनलाई आफ्नो व्यवहार जायज लाग्थ्यो ।
पति र पतिको परिवारले हर सम्भव प्रयास गर्दा पनि उनी बस्न मानिनन् र माइत गइ हालिन् । माइत गएपछि यता सबैले सोचेकी अहिले रिसमा गइछिन् रिस शान्त भइसकेपछि फर्केर आउनेछिन् । तर उनको मनमा त अर्कै कुरा खेलिरहको थियो । त्यस कारण उनी फर्केर त आइनन् बरु पतिमाथि अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा हालिन् । जसमा उनको माइती परिवारले पनि साथ दियो ।
छोरीमाथि अत्याचार हुँदा मुद्दा हाल्न परिवारले साथ दिनु त जायज हुन्थ्यो । तर, राम्रो शिक्षित र माया गर्ने परिवारसंग छुट्टिन छोरीले गरेको मुर्खतापूर्ण निर्णयमा परिवारले साथ दिनु दुर्भाग्यपुर्ण देखियोे । हाल उनको अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा अढाइ वर्ष देखि बांके जिल्ला अदालतमा चलिरहेको छ । आशा छ पक्कै महिलाकै हकमा फैसला आउनेछ होला ।

उपरोक्त यहाँ व्यक्त गरिएको घटना नं. १ का सम्बन्धित व्यक्तिको भनाइ छ कि ‘ममाथि बलात्कार जस्तो आरोप लगाइ मुद्दा हालिएको छ भने यो त निकै संवेदनशील विषय हो यसमा सत्यतथ्य छानबीन गरी यदि म दोषी साबित भए मलाई सजाय तोकियोस् । होइन भने ममाथि झुठो वैवाहिक बलात्कारको मुद्दा लगाइकन फसाउनेलाई र उसको झुठो मुद्दामा संग्लन रही साथ दिने साक्षी सहयोगी सबैलाई उचित दण्ड र सजाय हुनुपर्छ होइन ? तर, यहां त अंश लेनदेनलाई नै मुख्य मुद्दा बनाइ अंश दिनुपर्छ भनी फैसला सुनाइयो । आज उसले मसंग अंश लिन्छे भोलि म भन्दा धनी व्यक्ति खोजेर अर्को विवाह गर्छे भने उससंग उसको अर्को पतिको सम्पतिमा आधा अंश पाउने छिन् । उसको सम्पति त म भन्दा बढी भइहाल्छ । तर म अर्को विवाह गरें भने म आफ्नो पत्नीलाई कहांबाट अंश दिन्छु भन्नुस् न ! यस कारण महिलाको हकमा मात्र केन्द्रीत रहेर फैसला दिने खालका कानून बन्नु हुदैंन ।’

घटनाका सम्बन्धित व्यक्ति मध्ये अदालत अनुसार घटना नं. २ का प्रतिवादी रहेका व्यक्तले भन्छन्, ‘हाल सदनमा बहसको विषय बनेको मुद्दा अर्थात महिलाले अर्को विवाह गरे पश्चात साबित पतिको सम्पति फिर्ता गर्ने वा नगर्ने भनी चलिरहेको छ । यसमा मेरो भनाइ छ कि कसैलाई न्याय दिलाउने नाममा कसैमाथि अन्याय हुने खालका कानून बन्नु हँुदैन । मैले यस्ता धेरै घटना हेरेको पनि छु र आफै भोगेको पनि छु । महिलाहरु धनीमानी पुरुषलाई आफ्नो प्रेमजालमा फसाएर विवाह गरी पछि अदालत धाउँदा समय र सम्पति खेर फाल्ने कि छोटो समय र आपसी सहमतिमा पिछा छुटाउने भनी उसको सम्पति अनुसार रकम माग गरी वार्गेनिंगमा सम्बन्ध विच्छेद गरेका घटना पनि छन् । म पीडित महिलाहरुको पक्षमा छु जो वास्तवमा पीडित छिन् । उनलाई सन्तानको पालनपोषण गर्न गुजारा चलाउन गाह्रो नहोस् भनी अंश दिनै पर्छ । तर जसले साबित पतिले सम्बन्ध विच्छेद गरी अर्को विवाह गर्छिन् भने उनीसंग त्यस्तो समस्या नै हुँदैन किनभने उनीत अर्को विवाह नै पहिलो पति भन्दा राम्रो व्यक्ति खोजेर गर्छिन् । जब पहिलो पति भन्दा राम्रो हुनेखाने व्यक्ति खोजेर विवाह गर्छिन् भने पहिलो पतिको भन्दा पनि बढी सम्पत्तिको हकदार भइहाल्छिन् ।
साविक पतिले अर्को विवाह गरी पत्नी घर ल्याउँंछ उसको बालबच्चा हुन्छन् भने उनको सम्पतिको अधिकार कसरी पाउनेछन् ? । किनकि आधा सम्पति त आफु भन्दा धनी व्यक्ति खोजेर अर्को विवाह गरी जाने पत्नीले लगिसकेकी हुन्छिन् । यस कारण मेरो भनाइ यो छ कि फैसला न्याय अन्यायको आधार हुनुपर्छ नकी सम्पतिको बांडफांडका आधारमा । यसले गर्दा एउटा पीडित भनिनेलाई न्याय दिलाउँदा अरुलाई अन्यायमा पारिरहेको हुन्छ । सो समाजका यस्ता उदाहरणहरुलाई मध्येनजर गरी अर्को विवाह गर्ने महिलाले सम्पति फिर्ता गर्नुपर्छ भनी कानून बन्नु अति आवश्यक भइसकेको छ ।’

माथि उल्लेख गरिएका उदाहरण र भनाइहरुलाई मनन गरी एक महिलालाई न्याय दिलाउने नाममा अर्को महिलाको अधिकारलाई ध्यान राख्नुपर्छ । जो वास्तवमा पीडित महिला हुन् उनीहरुलाई न्याय दिलाउन शसक्त बनाउन सम्बन्ध विच्छेद गर्ने महिलाहरु पतिको सम्पति अंश दिनु नै पर्छ । तर एक पछि अर्को विवाह गर्दै सम्पति बटुल्ने ट्रेन्ड बस्न नदिनका लागि अर्को विवाह गर्दा पूर्व पतिको सम्पति फिर्ता गर्नुपर्ने प्रावधान लागु हुन जरुरी छ । यसले जहांँ एकातिर सानो सानो विषयमा हुने मनमुटावबाट बिग्रिन आंटेका सम्बन्ध सुधार गर्नेछ भने अर्कोतिर कोही अन्यायमा पर्नुपर्दैन सम्बन्धित व्यक्तिले सम्पतिको अधिकारबाट वंचित हुनुपर्दैन् । यस्ता घरायसी मुद्दामा फैसला सुबूत प्रमाणका आधारमा मात्र नभइ सत्यतथ्य बुझेर वादी प्रतिवादी दुबै पक्षका परिवारका सदस्यहरुसंग टोलछिमेकीहरुसंग जानकारी लिएर अनि न्याय हुने गरी फैसला गरिनुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया