स्थानीय तह निर्वाचन, अभियानमा राजनीतिक दल

स्थानीय तहको निर्वाचन नजिकिएसँगै सबै जसो राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । बाँकेमा ठूला, साना सबै राजनीतिक दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका हुन् । ‘वडा स्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काम भैसकेका छन्’, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘अब उम्मेदवार छनोट प्रक्रियामा लागेका छौं ।’

नेपाली काँग्रेसले वडा स्तरमा आफ्ना गतिविधिलाई तिव्रता दिएको छ । ‘गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पुर्याउने काम भैरहेको छ’, काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले दैनिक नेपालगन्जसँग भने, ‘वडा स्तरबाट पार्टी संयन्त्र परिचालन भैरहेका छन् ।’ काँग्रेसमा वडा स्तरमा उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ ।

नेकपा माओवादी केन्द्रले पार्टी संगठन छलफललाई तिव्रता दिएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले संगठन बिस्तारलाई वडा तहमा पुर्याएको जनाएको छ । ‘वडा पोजिसन क्लियर भएको छ’, जिल्ला पार्टी संयोजक डम्मर बिक (तुफान)ले दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय तहका प्रमुख र उपप्रमुखको सन्दर्भमा गठबन्धनको टुंगो लागेपछि निर्णय गर्ने गरी तयारी अवस्थामा बसेका छौं ।’

राप्रपाका अनुसार, उम्मेदवार छनोट कार्य अन्तिममा पुगेको छ । ‘एक दुई दिनमा उम्मेदवारको टुंगो लाग्छ’, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका राप्रपा महामन्त्री धवल समशेर राणाले दैनिक नेपालगन्जसँग भने, ‘नाम सिफारिस भएर आइरहेका छन्, हामी टुंगो लगाउने प्रक्रियामा छौं ।’ महामन्त्री राणाका अनुसार, निर्वाचन अभियानमा सिंगो पार्टी पंक्ति होमिएको छ ।

जनता समाजवादी पार्टीले नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवार नै टुंगो लगाएर प्रचारमा जुटिसकेको छ । ‘नेपालगन्ज, डुडुवा, जानकी र नरैनापुरमा हाम्रो टुंगो लागिसकेको छ’, नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखको उम्मेदवार निश्चित भएका जिल्ला पार्टी अध्यक्ष कमरुद्दिन राईले दैनिक नेपालगन्जसँग भने, ‘बाँकी पालिकामा गठबन्धनको निर्णय आएसँगै टुंगो लगाउँछौं ।’ जसपाले चार वटा पालिकामा आफ्नो नेतृत्व पाएमात्रै गठबन्धन गर्ने गरी केन्द्रमा सिफारिस पठाइएको जनाएको छ ।

‘नेपालगन्ज, डुडुवा, जानकी र नरैनापुरमा हाम्रो नेतृत्वमा मात्रै गठबन्धन सम्भव छ’, जसपा अध्यक्ष राईले अन्य पालिकामा भने आपसी सहमतिमा निर्णय लिन सकिने जानकारी दिंदै भने, ‘होइन भने आफ्नै संगठनको बलबुतामा निर्वाचनमा जाने निर्णय गरेर मैदानमा उत्रिइसकेका छौं ।’

नेकपा समाजवादीले पनि आफ्नो पार्टी निर्वाचन अभियानमा होमिइसकेको जनाएको छ । ‘सहमतिको कुरा हुँदैछ, उम्मेदवारीमा सबैको समझदारी बनेपछि व्यक्तिको टुंगो लाग्नेछ’, नेकपा एसका नेता सम्सुद्दिन सिद्दिकीले दैनिक नेपालगन्जसँग भने, ‘गठबन्धन भनेपछि कही छाड्ने र कही दिने कुरा आउँछ ।’ आफु नगर प्रमुखको दाबेदार रहेको जानकारी दिंदै सिद्दिकीले भने, ‘नगर प्रमुखमा अर्को दलले लिने कुरा भए मलाई सांसद दिनु पर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया