कुबेरजंग शाही
स्थानीय तहको आसन्न निर्वाचन दैलो नजिकै पुग्दै गर्दा बाँकेको दोस्रो सहर, कोहलपुरको प्रमुखका लागि राजनीतिक दलबाट उम्मेदवार बन्ने रस्साकस्सीले तिब्रता पाएको छ ।
कोहलपुरको जनप्रतिनिधिका रुपमा ह्याट्रिक गरेका वर्तमान नगर प्रमुख नेकपा एमालेका लुट बहादुर रावतपछिको उत्तराधिकारी को बन्ने परखका लागि बैशाख ३० मा हुने मतदानमा होमिन उम्मेदवार बन्ने होड सबै जसो दलमा देखिन्छ ।
सामान्यतया ठुला दल, नेपाली काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पल्लामा पार्न कोहलपुरमा निकै कसरत गरिरहेका छन् । त्यसअघि आफ्नो पक्षमा उम्मेदवारीको टिकटनै अर्काे महाभारत देखिएको छ, कोहलपुरमा । सत्तारुढ गठबन्धन दलमा उम्मेदवार कसको भागमा पर्ला भन्ने अन्योलता छ ।
काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कोहलपुर कसैलाई छाड्न नसकिने प्रतिक्रिया दैनिक नेपालगन्जसँग दिइरहँदा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले आफुहरु एक्लै जित्नेगरी तयारी गरिरहेको बताउँछन् ।
२०७४ को निर्वाचनका प्रतिद्वन्द्वी पार्टी अहिले पनि शक्तिमा आउने दाउमा छन् । नेपाली कांग्रेसका भानुभक्त भट्टराईलाई झिनो मतान्तरले हराएका रावत अबको दावेदारीमा ‘रिङआउट’ भएपनि कांग्रेसबाट भट्टराईको दावी सबैभन्दा अगाडी छ ।
प्रमुख पराजित हुँदापनि जित्न सफल उपप्रमुख सन्जुकुमारी चौधरी यसबीच बाँके कांग्रेसको सचिव हुन सफल भइन्, आफ्नो दावेदारीलाई सशक्त रुपमा प्रस्तुत गर्न सक्ने ठाउँमा छिन् । उनी निकट भन्छन्, ‘उप–प्रमुख भइसकेकी मान्छे स्वाभाविक प्रमुखको दावेदार हुन् चर्चा चलाइराख्नै पर्दैन ।’ पार्टी स्रोतले भने ‘नेतृत्वले चौधरीलाई दोहोरिन तयार गरिरहेको’ जनाएको छ ।
पार्टी नेता, काँग्रेस नगर सभापति बलराम शर्माले आफै अग्रसरता देखाएका छन्, कोहलपुरको उम्मेदवार बन्न । व्यवसायिक अगुवा चिन्तामणि धिताल र चक्र बहादुर अधिकारीलाई पनि सशक्त दाबेदारका रुपमा चर्चा गरिएको छ । ‘कोहलपुरमा गठबन्धन हुँदैन,’ दावेदार भट्टराईले दैनिक नेपालगन्जसँग भने, ‘कोहलपुर नगरपालिकामा कांग्रेस एक्लै चुनाव जित्न सक्षम र बलियो भएकोले गठबन्धन नगर्ने कुरा पार्टीमा एकमत छौं ।’
एमालेबाट नगर कमिटी अध्यक्ष खिलप्रसाद भुसाल र पूर्वअध्यक्ष बसन्ती अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा र पूर्व जिल्ला सचिव गोपाल गिरीको नाम अगाडी छ । एमालेलाई १५ वर्षको सत्ता जोगाउने चुनौती छ । चुनौती छिमल्ने व्यक्तित्व खोजिरहेको एमालेले सतहमा रहेका यीनैबाट वा अर्काे नाम अघि सार्ला हेर्न केही दिन पर्खे पुग्छ ।
यतिबेला सबैभन्दा उत्साहित चाहिं माओवादी केन्द्र देखिएको छ, कोहलपुरमा । खासगरि उम्मेदवारीका हकमा कुनै अर्काे नाममा चर्चा बहस वा दावेदारीनै नआएपछि निर्वाध मैदानमा रहेका अघिल्लो निर्वाचनकै उम्मेदवार न्यौपाने उत्साहित देखिएका हुन् । त्योबेला उनले तेस्रो धेरै मत ल्याएका थिए । न्यौपानेले स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दानै अवस्था सुधार गरिसकेको दावी गर्दै भन्छन्, ‘अहिलेसम्म धेरै राम्रो बनाइएको छ ।’
अघिल्लो स्थानीय तहको निर्वाचनमा ३७ हजारको हाराहारस्ीमा रहेको कोहलपुरको मतदाता संख्या यो पटक ५६ हजार नाघेको छ ।
घरदैलोमा स्वतन्त्र उम्मेदवार
द्यलका नेताहरु उम्मेदवार बन्ननै होडबाजी चलिरहँदा कोहलपुरमा नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका स्थानीय युवा व्यवसायी देवानन्द अर्याल भने घोषणापत्र बोकेर घरदैलोमा व्यस्त छन् ।
‘हातमा आफुले गर्नसक्ने कामको घोषणा पत्र लिएर यतिबेला मतदाताहरुको घरदैलोमैं पुगिरहेको छु,’ अर्यालले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो आवश्यकता अनुरुप हाम्रो विकास’ भन्ने मुल नाराका साथ हामीले हाम्रो ठाउँको विकासलाई मूर्त रुप दिनका लागि प्रतिबद्धता जनाइरहेको छु ।’
‘मलाई एक पटक मेयरमा जिताउन सहयोग गर्नुहोस् अनि थाहा पाउनुहुन्छ विकास भनेको के हो,’ उनले मतदाता माझ भनिरहेका छन्, ‘मेरो उम्मेदवारी केबल मेयर बन्नका लागि मात्र नभई नगरवासीहरुको हकहित, अधिकार र गलत प्रवृत्ति विरुद्धको लागी हो ।’
जनताको प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ, रोजगारी र व्यवसायीहरुको हकहितको लागी आफू निरन्तर प्रतिबद्ध रहेको जिकिर गरेका अर्यालले मतदाताबाट ‘राम्रो रेस्पोन्स आइरहेको’ प्रतिक्रिया दिए ।












