व्यवसायी भन्छन्, ‘अर्थतन्त्र जोगाउन सरकारी साथ चाहियो’


कोरोना कहरपछि व्यवसायी कमजोर बन्दै गएको जर्जर बनेको अर्थतन्त्र जोगाउन सरकारले साथ दिनुपर्ने माग अघि सारिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभामा अधिकाँश वक्ता व्यवसायीहरुले पछिल्लो अवस्थाबारे चिन्ता गर्दै व्यवसायिक क्षेत्रको सुरक्षाका लागि सरकारी योजनाको माग गरे ।

कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले व्यवसायीहरुलाई उत्पादनसंग जोडिन सुझाव दिंदै स्वदेशमै उत्पादन हुने माल वस्तु समेत बाहिरबाट आयात भइरहेकोमा चिन्ता गरे । व्यवसायीहरु उत्पादनमा जोडिन सके त्यसखाले समस्या समाधान हुने मन्त्री खड्काको विश्वास थियो ।


साधारणसभाको अध्यक्षता गरिरहेका नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले राज्यबाट बाँकेलाई पछाडी पारिएको भन्दै आक्रोश व्यक्त गरे । सीमा बजार भएका कारण नेपालगन्जको व्यवसायीले विभिन्न समस्या झेलिरहेको बताउँदै अध्यक्ष मन्सुरीले सरकार व्यवसायीको समस्या सुन्न उदासिन रहेको आरोप लगाए ।

श्रेष्ठलाई आर्थिक पत्रकारिता पुरस्कार
नेपालगन्ज उद्योग बाणिज्य संघले यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कुमार श्रेष्ठलाई प्रदान गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा पत्रकार श्रेष्ठलाई नगद १५ हजारसहित उक्त पु्रस्कार प्रदान गरिएको हो ।
त्यसक्रममा जडिबुटी व्यवसायी राकेश जैन, उत्कृष्ट कर्मचारी आशा ढकाल सहित आठ जना व्यवसायीलाई सम्मान गरिएको थियो ।
संघले सूचना तथा प्रविधि एप्सको पनि सञ्चालनमा ल्याएको जनाएको छ । ‘अब अनलाइनबाटै नयाँ सदस्यता र नविकरण हुन्छ,’ महासचिव चिरन्जीवी ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया