धर्म र राजनीतिः मुस्लिम भातृ संगठन ?

शाहिदा शाह

हाम्रो देशमा हरेक दलका समुदायगत भातृ संगठन छन् । मुस्लिम समुदायको पनि सबै दलमा छुट्टै भातृ संगठन छ नै । यद्यपि यी संगठनहरुको काम र उपलब्धि भने खासै देखिदैँन । लेखको प्रारम्भमा नै यो प्रष्ट पार्न अति आवश्यक छ कि यसरी लेख माफर्त दलका मुस्लिम भातृ संगठनको विषयमा बहस गर्नुको आशय तिनी माथि कटाक्ष गर्नु कदापि होइन । न कुनै ईष्र्या र उपेक्षामा नै यो लेखिएको हो ।

यो लेखका मार्फत मुस्लिम लगायत अन्य क्षेत्र, वर्ग र समुदायका भातृसंगठन र त्यसमा आबद्ध सदस्य र पदाधिकारीहरुलाई उनीहरुको जिम्मेदारी स्मरण गराउनु मात्र हो । यसरी लेख्नुको मुख्य कारण यो हो कि विगतका गल्ती र कमीकमजोरीहरु पुनः नदोहोरियोस् । संगठनमा आबद्ध रहेका पदाधिकारीहरुले आफ्ना दायित्व र जिम्मेवारी इमानदारीका साथ पुरा गरुन् । कुनै मुद्दा सम्बोधनमा बाधा अडचन आए समाजलाई त्यसको वास्तविकता सम्बन्धमा संगठनद्वारा पुर्ण जानकारी समाज सम्म पुर्याउन् ।
हुन त राजनीतिक, धार्मिक, सामुदायिक भातृसंगठनहरु ती समुदायका मुद्दा, समस्या, आवश्यकता र पीडा आदि दलका मार्फत सरकारसम्म पुर्याई तिनलाई समाधान गराउन आवाज उठाउन र पहल गर्न भनी हुनुपर्ने हो ।

अहिले चुनाव नजिकिदैं गरेको क्रममा विभिन्न दलहरु बीच भातृसंगठन गठन र बिस्तार कार्य तिव्र रुपमा चहलपहलका साथ अगाडि बढिरहेको छ । दलहरुमा सबैको समान सहभागिता हुन र गराउनका लागि हरेक समुदायको भातृसंगठन हुनुपर्छ यो आवश्यक पनि हो ।
यस्ता समुदायगत आधारमा खडा गरिएका भातृसंगठनहरुले ती सम्बन्धित समुदायलाई अपन्त्व महसुस गराउनुका साथै समुदायलाई राजनीतिक रुपमा सकृय र सशक्त पनि बनाउँछ । तसर्थ अब हेर्नु पर्ने कुरा के छ भने भातृसंगठनले समुदायलाई वास्तवमा सकृय र सशक्त बनाएका छन् त ? सम्बन्धित समुदायमा भातृ संगठनको के कस्तो प्रभाव र असर परेको छ ? आखिर भातृ संगठनहरुका औचित्य के त ? भातृ संगठनहरुले के कस्ता कार्य गरे ? भातृ संगठनले के कस्ता कार्य गरेनन् ? कतै समुदायका नाममा रहेका भातृ संगठनले धर्मको अवमूल्यन त गरेनन् ? भातृ संगठनहरुले पुरा गर्नु पर्ने दायित्वहरु के हुन् ? यिनै विषयवस्तुमा केन्द्रीत रही यसका बारेमा बृहत चर्चा गर्नु जरूरी छ ।

परिवेश

राजनीतिक दलका मुस्लिम भातृसंगठन गठन र बिस्तार कार्य तिव्रताका साथ बढिरहेको बेलामा माहोल रंगदार छ । सामाजिक संजाल, आनलाइन मिडिया आदिमा यसको बैठक र गठनका बारे निकै चर्चा भइरहेको छ । जो कोहीले पनि आफ्नो निकटतम व्यक्तिलाई मुस्लिम भातृ संगठनको सदस्य वा पदाधिकारी चयन गरिएकोमा सफल कार्यकाल शुभकामना तथा बधाई दिइरहेका छन् । कार्य काल भन्दा यस्तो लाग्छ समाजको कायापलट हुने खालका कुनै विशेष ठूलो काम गरेका वा गर्नेछन् ।

यदि हालसम्मनै मुस्लिम भातृ संगठनहरुको इतिहास हेर्ने हो भने पूर्ण रुपमा पुरुषहरुको वर्चश्व र आधिपत्य रहेको संगठन हुन् यिनी । लैंगिक समावेशीकरणको अवधारणा र नीतिका नाममा महिलाहरुलाई केवल नाम मात्रका लागि सहभागी गराइन्छ । त्यो पनि निर्णायक भुमिका बिहीन । यी राजनीतिक मुस्लिम भातृ संगठनहरु यति सम्म पुरुषवादी मानसिकताले ग्रसित छन् कि अहिले सम्म देश भरी रहेका ठुलासाना सबै दलका भातृ संगठनहरुको प्रमुख कुनै महिलालाई बनाइएको छैन् । महिला पुरुष भन्दा बढी सक्षम रहेकी भएपनि भातृसंगठनहरुको नेतृत्वदायी भुमिका र पद पुरुषका हातमा नै पर्दै आइरहेका छन् ।

अब कुरा गरौं यी भातृ संगठनले गर्ने कार्य वा गरेका कार्यहरुका बारेमा वास्तवमा भन्ने हो भने यी संगठनहरुले समुदायलाई सकृय र सशक्त बनाउनुको सट्टा दास बनाइ दिएका छन् । अनि सम्बन्धित समुदायमा यस्ता भातृ संगठनको प्रभाव र असर ती पदाधिकारीहरु भगवान वा सर्वस्व हुन् र आफु तिनका सामु झारपात हौं भनी मानसिक रुप गुलाम बनाउन महत्त्वपूर्ण भुमिका खेलेको छ । अनि मुस्लिम भातृ संगठनका सदस्यहरु पनि खूब चुरीफूरी देखाउंँछन् आज फलाना शीर्ष नेताका साथ आज ढिस्काना मन्त्रीका साथ भनी सेल्फी हालेर ।

भातृ संगठनहरुको वास्तविक रुपमा खासै औचित्य देखिदैंन । यिनले खाली आफ्नो दलको तरफदारी, आफ्ना दलका शीर्ष नेताको प्रशंसा र आफ्नो दल र नेताका पक्षमा उभिएर ’जिन्दाबाद मुर्दाबाद’को नारा लगाउने काम बढी गर्छन् । हाल सम्म दलका मुस्लिम भातृसंगठनहरुले ठूल्ठुला होटेलमा दल र व्यापारीहरुको आर्थिक लगानीमा ईदमिलन समारोह आयोजना र इफ्तार पार्टी बाहेक समुदायका लागि कुनै खास पहल गरेको पनि पाइएन् । हुन त यी मुस्लिम भातृसंगठनहरुको दायित्व हो कि मुस्लिम समुदायको हकहितका लागि आफ्नो दलभित्र र दल मार्फत सम्बन्धित निकाय र सरोकारलावाहरुकोमा पहल र प्रयास गर्नु । अनि पहल र प्रयास गर्दा दलले नसुनेमा पद त्याग गरी समुदायप्रतिको वफादारी दर्शाउनु तर खोई त त्यसो गरेको पनि भेटिएन् ।

भातृ संगठनहरुले संविधानमा लेखिएको अनुसार राष्ट्रियसभामा समानुपातिक मुस्लिम सहभागिताका लागि आफ्नो दल मार्फत आवाज उठाउनु पर्ने हो । जनसंख्याका आधारमा हरेक निकाय, क्षेत्र, तह र तप्कामा मुस्लिम आरक्षण कोटा छुट्टियाउन आवाज उठाउनु पर्ने थियो । विश्वभरी एकै दिन मनाइने मुस्लिम समुदायको चाडंपर्व ईदुलफित्र, ईदुलजुहा र मोहम्मद जयन्तीका दिन राजपत्रमा उल्लेख गराइ सार्वजनिक बिदा दिलाउन प्रयास र पहलका कदम चाल्नुपर्छ । जनसंख्याका आधारमा एमबीबीएस कोटा छुट्याउन पहल गर्न दल मार्फत पहल गराउनु आदि जस्ता कार्य गर्नुपर्ने तर गरेनन् ।

मुस्लिम समुदायका नाममा रहेका भातृ संगठनका सदस्यहरुले नै कतिपय स्थानमा इस्लाम धर्मको अवमूल्यन र अपहेलना गरेकाछन् । कहिले मायाको चिनो भनी दिइने प्लेटमाथि इस्लाम धर्मको पवित्र धार्मिक स्थल काबा शरीफ र मदीन शरीफको तस्वीर माथि आफ्ना नेताहरु तस्वीर बनाइदिए । जसको साह्रै नै विरोध गरियो सामाजिक संजाल मार्फत र विरोधको प्रतिफल नै हो त्यसरी अर्को पल्ट कुनै मुस्लिम भातृ संगठनले त्यस्ता विरोधाभास कार्य गरेनन् ।

कुरानपाक जस्तो पवित्र धर्म ग्रन्थ जसलाई ‘पाक र वावजू’ भएर मात्र छुन सकिन्छ । त्यो पवित्र कुरानपाक आफ्ना नेताहरुका हातहातमा थमाएका हुन्छन् । हुन त इस्लामको धार्मिक ग्रन्थ सम्पूर्ण मानवजातीको मार्गदर्शन गर्नका लागि अवतरित पवित्र किताब हो । तथापि यही कुरानपाकमा लेखिएको छ, ‘ला इकरा फिद्दीन’ अर्थात धर्ममा जोरजबरदस्ती छैन् (धर्ममा कसैका लागि विवशता र बाध्यकारिता) छैन ।’
भन्नाले जसलाई इस्लामको बारेमा बुझ्ने इच्छा छ उसले पढ्नका लागि किताब माग्दछ भने दिनुमा कुनै रोकटोक छैन् । तर, एक व्यक्ति जो कार्यक्रममा अतिथि भएर आएको छ उसलाई अन्तै पनि जानु पर्ने हुन सक्छ । उसलाई त्यो किताब दिइयो भने किताब बोकेर हिड्न गाह्रो लाग्यो भने उसले कि त किताब अरु कसैलाई दिइहाल्छ कुनै पसलमा छाडेर जान सक्छ वा लग्यो भने आफ्नो घरको दराजमा थन्काएर राखिदिन्छ । किनभने उसलाई इस्लामको बारेमा बुझ्न कुनै इच्छा छैन् । उनीहरु त केवल सहभागिता जनाउनका गएको हुन्छ । चार गार्डका साथ आफ्नो पदीय धाक देखाएर भाषण गरी समुदायलाई आफुतिर आकर्षित गर्न भनी गएको हुन सक्छ ।


यसै गरी ईफ्तार पार्टीमा नेताहरुलाई बोलाएर भाषण गर्न लगाइन्छ । जबकि इफ्तारको समयमा दुआ गर्नुपर्छ भनी इस्लामले भन्छ । तर मुस्लिम भातृ संगठनहरुको इफ्तार पार्टीहरुमा दुआ गर्नुको सट्टा भाषण गरिएको देखिएको छ । साथै ईदमिलन र इफ्तार पार्टी जस्ता धार्मिक कार्यक्रमहरुमा नेताहरुलाई इस्लामी गम्छा र टोपी लगाइन्छ । यहांसम्म कि पुरुषले मात्र होइन महिलालाई समेत गम्छा नै लगाइएको हुन्छ । न टोपी लगाइदिनेलाई र लगाइ रहनेलाई त्यो टोपी र गम्छाको महत्व र आवश्यकता किन छ भनी थाहा रहेको हुन्छ । कदमंकदाचित टोपी गम्छा लगाइदिनेलाई त्यसको महत्व र आवश्यकता बारे थाहा भएनि उसले अरुलाई पनि यस विषयमा जानकारी होस् साझा गरिदिएको हुँदैनन् । इस्लामले भनेको अनुसार अहकामातहरु पुरा गरिएको पाइँदैन यी ईद मिलन र इफ्तार पार्टीहरुमा । भन्नालाई त भन्छन् कानेखुसी गरी तर कसैले पनि सामुहिक रुपमा यस विषयमा आवाज उठाउदैंन ।
समग्रमा मुस्लिम भातृ संगठनहरुको औचित्य भन्ने हो भने हात्तीको दांत सरह देखाउनका लागि र मुस्लिम भोट बटुल्नका लागि हो । यसका साथै कहिलेकाहीँ दलका शीर्ष नेतालाई खुशी पार्न सफल भइयो भने कुनै आयोगको सदस्यका रुपमा वा कुनै बजेट परियोजनाको समितिमा सदस्य नियुक्त गरिने वा शीर्ष नेताहरुका साथ सेल्फी हान्ने बाहेक अरु खासै त केही देखिएको छैन् हाल सम्म ।

मुस्लिम भातृ संगठनहरुको दायित्व

मुस्लिम समुदायलाई राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक र लैगिंक रुपमा समान रुपले अगाडि बढाउनका समुदायमा सचेतना फैलाउनका लागि समय समयमा सेचतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्छ । सम्बन्धित निकायमा मुस्लिम समुदायको हरेक महत्त्वपूर्ण मुद्दा सम्बोधन गराउनका लागि आवश्यक पहल र सल्लाहसुझाव दिने गर्नुपर्छ । ईदुलफित्र, ईदुलजुहा र मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिलाउन पहल सिफारिश गर्नुपर्छ । राजनीतिक रुपमा कुनै पनि कार्य र कार्यक्रम गर्दा धर्म र धार्मिक मुल्य मान्यताहरुको अवमूल्यन, अवहेलना हुन नदिनका लागि धार्मिक ज्ञान भएका व्यक्ति वा धर्मगुरुहरुसंग सल्लाह सुझाव लिनुपर्छ । आफ्नो दल वा दलको सरकार वा शीर्ष नेताले देश र समुदायको हित विपरीत कुनै फैसला वा कार्य गरेमा त्यसको विरोध गर्न सक्नुपर्छ । दलले सुनुवाई गरेन भने पद त्याग गरी राजीनामा दिन सक्ने आँट हुनुपर्छ ।

परिकल्पना

विभिन्न राजनीतिक दलहरुभित्र रहेका मुस्लिम भातृसंगठनहरुले समुदाय प्रति आफ्नो दायित्व र जिम्मेवारी बुझेर आवश्यक पहल गरेमा मुस्लिम समुदायको उत्थान र विकास निश्चित नै हुनेछ । मुस्लिम समुदाय आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक रुपमा सक्षम र सबल हुनेछन् । हाल सम्म सम्बोधन हुन नसकेका मुस्लिम समुदायका महत्त्वपूर्ण मुद्दाहरु सम्बोधन हुनेछन् । दलले मुस्लिम समुदायका मुद्दा र समस्याहरु बुझेर अवसर र स्थान दिने हो भने मुस्लिम समुदायले अधिकार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया