प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले उचालेको छ । यसअघि प्रधानमन्त्री कपको चौथो र पाँचौ संस्करणको उपाधि रेल्वे इन्डियाले भारत लगेको थियो ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको फाइनल खेलामा हरियाणाले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको आर्मीले १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको न्यू डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
१० चैतबाट सुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।
प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आज फाइनल