कोहलपुर–जमुनाह सडक खण्डको अतिक्रमण हटाउन सुरु गरेपछि घरधनीहरुले सूचना नपाएको र समय पाउनु पर्ने भन्दै दबाब बढाएका छन् । यसअघि कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको छलफलमा ७ दिनको समय दिइएको थियो । जमुनाह देखि अतिक्रमण हटाउने कार्य सुरु हुँदा केही घर भत्काइएपछि घरधनीले जिल्ला प्रशासन कार्यालय बाँकेमा समय माग गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले अतिक्रमण हटाउन म्याद थप नगरेको बताउँदै कति क्षेत्रफल सडकमा पर्छ भनेर मार्किङ्ग भने गर्न सडक डिभिजनलाई निर्देशन गरेको जानकारी दिएका छन् । ‘घरधनी आफैले मार्किङ्ग गरिदिन र आफै भत्काउने बताउनु सकारात्मक भएकाले सोही अनुसार सडक डिभिजनलाई अगाडि बढ्न भनेको छु’, उनले भने ।
यसैबीच, बाँके चम्बर अफ कमर्सले सडक अतिक्रमित संरचना हटाउन दुई महिना समय माग गरेको छ । प्रमुख जिल्ला अधिकारी खत्रीलाई भेटेर चेम्बर अफ कमर्सले ध्यानाकर्षण बुझाउँदै दुई महिना समय माग गरेको हो । ध्यानाकर्षण पत्रमा कोभिडकाक ारण बजार व्यवसाय धराशयी भएको अवस्थामा अतिक्रमण हटाउनु अघि मार्किङ्ग गर्नुपर्ने, सूचना दिनुपर्ने लगायतको माग गरिएको छ ।
सडक डिभिजन नेपालगन्जले गत पुसमा नै सूचना जारी गरेर बिल्डअफ एरियामा २१ मिटर र त्यस बाहेकको क्षेत्रमा सडकको दायाँबायाँ २५ मिटर क्षेत्रफल छाड्न सूचित गरेको थियो । चेम्बर अफ कमर्सका बाँके अध्यक्ष सतिश अग्रवालले ‘विकासमा साथ रहने भएपनि सूचना विना नै घर भत्काउने कार्य गलत भएको’ बताएका छन् ।
खाली गर्न थालियो अतिक्रमित क्षेत्र, घरधनीको आक्रोश











