१ सय ३६ मतदान स्थल, ३ सय ७९ मतदान केन्द्र
मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने
बाँकेमा ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले आइतबार सूचना जारी गरेर देशभरका स्थानीय तहमा रहेका मतदाताको संख्या सार्वजनिक गरेको हो ।
आयोगका अनुसार बाँकेका आठ स्थानीय तहमा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र रहेका छन् ।
आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आइतबारको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।
आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ । उक्त निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको उनले जानकारी दिए ।

स्थानीय तह निर्वाचन
यि हुन् निर्वाचन अधिकृत
निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार निर्वाचन प्रयोजनका लागि देशभर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो ।
निर्वाचन आयोगले बाँकेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश खडानन्द तिवारीलाई तोकेको छ । आयोगले बाँकेका आठ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । कोहलपुर नगरपालिकामा जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्ट, खजुरा गाउँपालिकामा जिल्ला समन्वय समितिका लोक बहादुर सुनार, जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मालाई जानकी गाउँपालिका, उपन्यायाधिवक्ता नविन कुमार भट्टलाई डुडुवा गाउँपालिका, उपन्यायाधीवक्ता रेशम आचार्यलाई नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिकामा उपन्यायाधीवक्ता टेक बहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई राप्तीसोनारी गाउँपालिकाको निर्वाचन अधिकृत तोकेको छ ।