‘१० दिनमा १० काम गरे’

सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, अस्पताल विकास समितिका अध्यक्ष मनोनित किशोर थापा अदालतको आदेशपछि अस्पतालबाट बाहिरिएका छन् । सामाजिक सञ्जालबाट अदालतले उत्पे्रषण आदेश जारी गरेको थाहा पाएपछि त्यसलाई स्वीकार्दै अध्यक्ष थापाले आफु अस्पतालबाट बाहिरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘चैत्र २५ गते अध्यक्षको जिम्मेवारी पाएपनि मैले १० दिन काम गरेको छु, जसमा मैले १० वटा काम गर्न भ्याए’, अध्यक्ष थापाले भने ।

अध्यक्ष थापाले आफ्नो ध्यान अस्पतालमा रहँदा वा नरहँदा अस्पताल विकासमा रहने उल्लेख गर्दै आफुले त्यसविरुद्ध कुनै कानुनी उपचारमा नजाने स्पष्ट पारेका छन् । ‘मैले जिम्मेवारी पाएपछि तत्कालीन अध्यक्षसँग छलफल गरेर नै जिम्मेवारी सम्हालेको थिए’, उनले भने, ‘अदालतको निर्णयको सम्मान गर्छु ।’

अध्यक्ष थापाले अस्पतालमा आफ्नो १० दिने कार्यदिनमा लिनायक मेसिन खरिदका लागि मन्त्रालयले रोकेको ३० करोड रुपैयाँ निकासालाई उपलब्धीका रुपमा लिएका छन् । अस्पतालका संस्थापक सदस्यलाई ७५ र साधारण तथा आजिवन सदस्यलाई ५० प्रतिशत उपचार छुट निर्णय गरेको जानकारी दिंदै उनले अस्पताल हातामा हाइमास्ट लाइन, अक्सिजन प्लान्ट, सेवाग्राहीका लागि अत्याधुनिक शौचालय निर्माणको बोलपत्र आव्हान गरेको बताए । बाँकेमा पूँजीगत खर्च कम गर्ने कार्यालयमा क्यान्सर अस्पताल अग्र रहेको अवस्थामा थापाले जिम्मेवारी सम्हाले लगत्तै पूँजीगत खर्च बढाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया