‘क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्या’

नेपाल क्षयरोग निवारण संस्थाको ४२ औं केन्द्रीय सभाको अधिवेशन शनिवार नेपालगन्जमा आयोजना भएको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले क्षयरोगविरुद्धको लडाईमा सहकार्य आवश्यक भएको बताए ।

अधिवेशन उद्घाटन गर्दै लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले क्षयरोग मुलुकको प्रमुख जनस्वास्थ्य समस्या भएको बताए । उनले नागरिकलाई रोगविरुद्धको सचेतनामा जोड दिंदै यसखालका संस्थासँग सहकार्यको प्रतिबद्धता जनाए (हेर्नुस् भनाइ भिडियो अंश) ।

केन्द्रीय सभाको अधिवेशनको अध्यक्षता गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष मदन काजी श्रेष्ठले क्षयरोग विरुद्धको अभियानमा केन्द्रीय कार्यालय र विभिन्न जिल्ला शाखाका प्रतिकारात्मक तथा उपचारात्मक सेवाहरुको बारेमा प्रकाश पारे ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य तथा अधिवेशन आयोजक समितिका संयोजक सेमराज शाक्यले अधिवेशनका तयारीका विभिन्न पक्षबारे जानकारी दिएका थिए ।

बाँके शाखाका पूर्व अध्यक्ष पूर्णलाल चुकेले सहजीकरण गरेको अधिवेशनमा लायन्स क्लब इन्टरनेशनल बि.टू. का पूर्व गभर्नर मधुसुदन शर्मा रिजाल, डामियन फाउण्डेशनका कन्ट्री डाइरेक्टर डा. सुशील कोइराला, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्ध सिंह सम्झना, बाँके शाखाका सभापति बदरुद्दीन अन्सारी लगायतले धारणा राखेका थिए ।

डामियन फाउण्डेशनलाई प्रदान गरिएको ओत्सुका पुरस्कार कन्ट्री डाइरेक्टर डा. सुशील कोइरालाले ग्रहण गरे ।

क्षयरोग विरुद्ध सचेतना तथा उपचारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रमुख अतिथि प्रदेश स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले संस्थाद्वारा प्रदान गरिने ओत्सुका पुरस्कार प्रदान गरे । त्यसक्रममाविभिन्न जिल्ला शाखा र स्वयम्सेवीहरु तथा प्रोत्साहन पुरस्कार कर्मचारीहरुलाई प्रदान पनि गरिएको थियो । डामियन फाउण्डेशनलाई प्रदान गरिएको ओत्सुका पुरस्कार कन्ट्री डाइरेक्टर डा. सुशील कोइरालाले ग्रहण गरे ।

अधिवेशनको बन्द सत्रमा उपाध्यक्ष वेद प्रसाद कोजूले प्रस्ताव गरेको संस्थाको समयानुकुल तथा संघीय संरचना अनुरुपको संशोधित विधान पारित गरिएको थियो । महासचिव राजन श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेदन र उपमहासचिव राधा देवी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको बाँके शाखाको आतिथ्यमा भएको उक्त केन्द्रीय अधिवेशनमा ३५ जिल्लाका संस्थाका प्रतिनिधि, नेपाली तथा भारतीय सञ्चारकर्मीहरु, सामाजिक कार्यकर्ताहरु तथा क्षयरोग विरुद्धका अभियन्ताहरु समेत १७९ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया