जंगलभित्र अब ‘ट्रेल साइक्लिङ’

नेपाली सेनाको सक्रियतामा कम्दीको सामुदायिक वनमा साइकल ट्रेल बनाइएको हो


डुडुवा गाउँपालिका–५ मा स्थित बाबुकुवा सामुदायिक वनमा साइकल ट्रेल तयार भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाका २० जना जनशक्तिले ५ दिन लगाएर तयार भएको ट्रेल शनिबार गणपति प्रमुख सेनानी जनमत कार्कीले उद्घाटन गरेका हुन् । यसअघि बाँकेको गाभर भ्यालीमा यसखालको साइकल ट्रेल बनाइएको छ ।


सिद्धि विनायक एम टी वी, ट्रेल नाम दिइएको व्यवसायिक साइकल ट्रेल निर्माणका लागि बाँके साइक्लिङ संघ र नेपालगन्ज साइक्लिङ क्लबले पहल लिएका थिए । सामुदायिक वनको झाडी सफाइ गरेर साइकल ट्रेल बनाइएको हो । साइकल ट्रेल बनेसँगै अब बाँकेका माउन्टेन बाइक प्रतियोगितामा भाग लिने खेलाडीले नियमित अभ्यास गर्न सक्नेछन् ।


‘साइक्लिङ विशेष गरी माउन्टेन बाइकिङ्गको आधारभूत सिकाइ हुने र खेलाडी उत्पादन गर्न सजिलो हुनेछ,’ संघका अध्यक्ष गगनसिंह थापाले उत्साहित हुँदै भने, ‘त्यसका साथै प्रकृतिको आनन्द लिँदै जंगलबीच साइक्लिङ गर्न रुचाउनेहरुका निम्ती यो ट्रेल प्रमुख गन्तव्य हुने छ ।’

बाँकेमा साइकलका गतिविधि बढेसङ्गै माउन्टेन बाइक खेलको लागी आवश्यक पर्ने साइकल ट्रेलमा सघाउ पुर्याउन पाउँदा आफू खुशी भएको गणपति कार्कीको भनाइ थियो । ‘नेपाली सेना सधैं यस्ता सामाजिक गतिविधिमा सहयोग गरिरहन रुचाउँछ,’ ट्रेल शुभारम्भ गर्दै कार्कीले भने ।


नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बाँकेमा साइकल खेल ( माउन्टेन बाइकिङ्ग ) मा रुचि राख्ने खेलाडीका लागी यो ट्रेलले ट्रेनिङमा सघाउने बताए ‘बाकेमा यस्तो प्रतियोगिता आयोजना गर्न यो ट्रेल सहयोगी बन्नेछ,’ निरौलाले भने । अध्यक्ष निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए ।


बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष थापाले बाँकेमा माउन्टेन बाइक चलाउनेको संख्या बढिरहेको र साइकल ट्रेल बने पनि सबै जना उत्साहित भएको बताए ।

बाँकेमा व्यवसायिक ‘ट्रेल’ बनाउदै सेना

प्रतिक्रिया

प्रतिक्रिया