प्रधानमन्त्री कप: हरियाणा र न्यू डायमण्डलाई जीत

नेपालगन्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा दोस्रो दिन शुक्रवार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र नेपालको न्यू डायमन्ड एकेडेमीले जित हात पारेका छन् ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शुक्रवारको पहिलो खेल निकै रोमाञ्चक देखियो । भारतीय टिम हरियाणालाई दबाब दिइरहेको नेपाल पुलिस क्लबले त्यसको उत्साहलाई थामिरहन सकेन । पुलिसलाई हरियाणाले ३–२ सेटले पराजित गरिदियो ।
हरियाणाले पुलिसलाई १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् ।

पहिलो लगातार दुई सेट गुमाएको हरियाणाले तेस्रो सेटदेखि लय समात्न सफल भएको हो । चर्चित रेल–वे टिमका खेलाडी सम्मिलित हरियाणाले पुलिसविरुद्ध जित निकाल्न निकै मेहनत गरेको थियो ।


पुलिसका खेलाडी पनि उत्तिकै उत्साहित ढंगले प्रदर्शन गरिरहेका थिए, उनीहरुलाई हौसला दिन, बाँके प्रहरी प्रमुख, एसपी श्यामकृष्ण अधिकारी, डिएसपी मधुसूदन न्यौपाने सहित ठुलो संख्यामा समर्थक प्रहरी रंगशाला पुगेका थिए । प्रशिक्षक रुपेश बिष्टले खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताए । पुलिसलाई नेपाली दर्शकको साथ थियो भने, भारतीय पत्रकारले आफ्नो देशको टिमले गरेको प्रदर्शन ‘काबिल–ए–तारिफ’ रहेको बताइरहेका थिए ।


त्यसैगरी दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट्स कम्प्लेक्स (छत्तीसगढ) लाई ३–० सेटले पराजित गर्यो । न्यू डायमन्डले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यू डायमन्ड एकेडेमीकी रीमा कुवँर प्लेयर अफ द म्याच घोषित भइन् ।

लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन शनिवार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेडविरुद्ध हरियाणा स्पोर्टस क्लब तथा त्रिभुवन आर्मी क्लबविरुद्ध एकलब्य स्पोर्टस कम्प्लेक्सले खेल्ने प्रधानमन्त्री कपका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

आयोजकका अनुसार, नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विहीवार प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जीतको शुरुवात गरेका थिए ।

शुरु भयो, प्रधानमन्त्री कप भलिबल

प्रतिक्रिया

प्रतिक्रिया