बाँकेको कोभिड संक्रमितको संख्या शुन्य भएको छ । २०७७ बैशाखमा पहिलो कोभिड संक्रमित देखिएपछि हालसम्म कोभिडका संक्रिय संक्रमित शुन्य भएको पहिलो पटक हो । यसबीच कोभिडको पहिलो र दोस्रो लहर आयो ।
मानवीय क्षति भयो । कोभिड नियन्त्रणमा आएपछि दैनिक जसो कोभिड संक्रमित फेला पर्ने गरेको बाँकेमा अहिले एक जना पनि संक्रिय संक्रमित नभएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
‘कोभिड विरुद्धको खोप, स्वास्थ्य सतर्कता लगायतका कारणले बाँकेका नयाँ कोभिड संक्रमित फेला परेका छैनन्’, उनले भने, ‘तर, मास्क लगाउने, सेनिटाइजको प्रयोग गर्न भने छाड्नु हुँदैन ।’ फोकल पर्सन ओलीले स्वास्थ्य सतर्कता अझै पनि आवश्यक रहेको बताए ।
जिल्लाका कोभिडको आइसोलेन भेरी अस्पताल नेपालगन्ज मात्रै रहेको छ । जटिल किसिमका कोभिडका बिरामीलाई भेरी अस्पतालमा उपचार गरिंदै आएको छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर चन्दले भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको संख्या शुन्य रहेको बिहीबार जानकारी दिएका छन् । ‘भेरीमा कोभिडका बिरामीको उपचार सुरु भएपछि पहिलो पटक कोभिड वार्ड खाली भएको हो’, उनले भने ।
बाँकेमा पहिलो पटक २०७७ बैशाख १९ गते कोभिडको पहिलो संक्रमित फेला परेका थिए । कोभिडको सुरुवात देखि हाल सम्म जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेको तथ्याड्क अनुसार २१ हजार ३ सय २७ जना संक्रमित हुँदा २० हजार ९ सय ७५ जना निको भए । बाँकेका ३ सय ५२ जना कोभिड संक्रमितको मृत्यु भएको थियो ।