आज विश्व क्षयरोग दिवस : हराए ४० हजार क्षयरोगी

आज विश्व क्षयरोग दिवस । विश्वभरी विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदैछ ।

बाँकेमा पनि क्षयरोग दिवसमा विभिन्न कार्यक्रमहरु तय भएका छन् । क्षयरोग तत्काल पहिचान, नियमित औषधीले निको हुन सक्दछ । तर, विडम्वना नेपालमा ४० हजार क्षयरोगी हराएको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा यसअघि ६९ हजार क्षयरोगी पत्ता लागेकोमा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार पाएका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँकेले विभिन्न सरोकारवाला संस्थाहरुसँगको समन्वयमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य कार्यालय बाँकेकी निमित्त कार्यलय प्रमुख सुनिता पौडेलले क्षयरोगी उपचारको पहुँचमा नआउनु, लक्ष्य अनुसार क्षयरोगीको पहिचान नहुनु चिन्ताजनक भएको बताइन् । उनले खुला सीमासँग जोडिएको बाँके जिल्ला सधै सरुवा रोगको जोखिममा हुने गरेको उल्लेख गर्दै क्षयरोग नियन्त्रणका लागि हाल भैरहेका भन्दा थप उपायहरु अवलम्वन आवश्यक रहेको बताइन् ।


‘क्षयरोगलाई नियन्त्रणमा ल्याउनु नयाँ संक्रमित पत्ता लगाउने, नियमित औषधी खुवाउनु अत्यन्तै आवश्यक छ’, जनस्वास्थ्य कार्यालय बाँकेका कार्यवाहक प्रमुख पौडेलले भनिन्, ‘त्यसका लागि सबै सरोकारवाला निकायले त्यसखालको कार्यक्रमहरु ल्याउनु पर्दछ ।’

नेपालमा वार्षिक नयाँ र पुरानो गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् । तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग पत्ता लागि उपचार गराएका छन् । यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका विरामी उपचार सम्पर्कबाट बाहिर छन् । उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको राष्ट्रिय तथ्यांक रहेको स्वास्थ्य कार्यालय बाँकेका कार्यावाहक प्रमुख पौडेलले जानकारी दिंइन् ।

‘लक्षण विना पनि क्षयरोग लागेको हुनसक्छ, क्षयरोगका लक्षण रोगसँग पनि मिल्छ, त्यसैले मानिसहरुले क्षयरोग चेकजाँच गर्न चासो दिंदैनन्, जनचेतनाको पनि अभाव छ’, उनले भनिन्, ‘क्षयरोगी पत्ता लगाउनु चुनौतिपूर्ण बाँकेमै पनि देखिएको छ, हामीले पनि लक्ष्य अनुसार क्षयरोगी फेला पार्न सकेका छैनौं ।’

सरकारले क्षयरोगको औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् । यो संख्या जनसंख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ ।

आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो । तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् ।
जनस्वास्थ्य कार्यालय बाँकेका कार्यवाहक प्रमुख पौडेलले क्षयरोगमा राज्यले लगानी बढाउनु पर्ने बताइन् । उनले नयाँ पत्ता लागेका बिरामीलाई स्थानीय तहमा होस्टेको व्यवस्था गरेर नै नियमित औषधी खुवाए सर्ने क्रम रोकिन सक्ने बताइन् ।

सरकारले प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ । आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ८४ जिनएक्सपर्ट केन्द्र तथा उपचार सेवाअन्तर्गत पाँच हजार ५०३ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र, ८१ डिआर उपचार उपकेन्द्र, ६ डिआर होस्टेल र एक डिआर होममार्फत सेवा प्रदान गरिएको छ ।


यसैबीच नेपालसहित विश्वभरि नै ‘क्षयरोग अन्त्यका लागि लगानी बढाआँै, जीवन बचाआँै’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । दिवसका अवसरमा आज बिहीबार नेपालगन्ज स्थित क्षयरोग रेफरल केन्द्रमा फलफुल वितरणको कार्यक्रम राखिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

यस्ता छन् लक्षण
४० प्रतिशत डिआरटिभीका विरामीमा कोभिड

क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ । यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ । लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्छ ।
क्षयरोग नङ र कपाल बाहेक शरीरका सबै अंगमा लाग्न सक्छ । फोक्सोमा लागेको क्षयरोग सर्ने गर्दछ । नेपालमा बढीजसो फोक्सो लागेको क्षयरोगी पत्ता लाग्ने गरेका छन् ।
क्षयरोग केन्द्रको अनुसन्धानमा ४० प्रतिशत डिआरटिभीका विरामीहरुमा कोभिड–१९को संक्रमण देखिएको छ । क्षयरोगका विरामीलाई कोभिड भएमा चाँडै निमोनिया बढ्ने र स्वासप्रस्वाससम्बन्धी जटिलता आउने भएकाले समयमै सजगता अपनाउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनको २०२० को प्रतिवेदनअनुसार विश्वभरि ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको र तीमध्ये वार्षिक १५ लाखको मृत्यु हुने गरेको छ ।

क्षयरोगको उच्च जोखिममा लुम्बिनी
आ.व. २०७७/०७८ मा प्रदेशमा ५ सय ८ सय ५६ र बाँकेमा ८ सय ३५ थपिए

बाँके सहित लुम्बिनी प्रदेश क्षयरोगको उच्च जोखिममा रहेको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक मानव नेपालीले बताएका छन् । बुधबार विश्व क्षयरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निरीक्षक नेपालीले बाँके सहित लुम्बिनी प्रदेश क्षयरोगको जोखिममा रहेको बताएका हुन् ।
जनस्वास्थ्य निरीक्षक नेपालीले आ.व. २०७७/०७८ मा लुम्बिनी प्रदेशमा ५ हजार ८ सय ५६ जनामा क्षयरोग पुष्टि भएको जानकारी दिएका छन् । उनले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देहीमा १ हजार २ सय ३८, दाङमा ९ सय ३, बाँकेमा ८ सय ३५ जनामा क्षयरोग पुष्टि भएको बताए ।
आठ स्थानीय तह रहेको बाँकेमा आ.व. २०७७/०७८ मा सबैभन्दा बढी क्षयरोगी नेपालगन्ज उपमहानगरपालिकामा पत्ता लागेका छन् । नेपालगन्जमा २ सय ३८, राप्तीसोनारीमा ७८, कोहलपुरमा १ सय ४५, बैजनाथमा १ सय ९५, खजुरामा १ सय ७, जानकीमा ५७, डुडुवामा ६२, नरैनापुरमा ५३ हजार नयाँ क्षयरोगी पत्ता लागेका थिए ।
चालु आर्थिक बर्षको पुस मसान्तसम्म बाँकेमा थप ४ सय ९४ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । राप्तीसोनारीमा ४१, कोहलपुरमा ६८, बैजनाथमा ६२, खजुरामा ७८, जानकीमा ३३, नेपालगन्जमा १ सय ३७, डुडुवामा ४७ र नरैनापुरमा २८ जनामा क्षयरोग पुष्टि भएको हो ।
बाँकेमा चालु आर्थिक बर्षमा ५१ जना ४ बर्ष मूनिका बालबालिकामा पनि क्षयरोग पुष्टि भएको छ । उमेर समूह हेर्दा ५ देखि १४ बर्षका १० जना, १५ देखि २४ का ९२ जना, २५ देखि ३४ का ८० जना, ३५ देखि ४४ का ६२ जना, ४५ देखि ५४ का ५० जना, ५५ देखि ६४ का ५० जना र ६० बर्ष माथिका १ सय १ जनामा क्षयरोग पुष्टि भएको छ ।

एमडीआर थप चुनौति

बहु औषधी प्रतिरोधी क्षयरोगका बिरामी क्षयरोग नियन्त्रणका लागि थप चुनौति बन्दै गएका छन् । परीक्षणका क्रममा दुई वटा औषधी प्रतिरोध देखिएमा बहु औषधी प्रतिरोध क्षयरोग (एमडीआर) मानिन्छ । एमडीआरको उपचार थप जटिल हुने गरेको छ । जसको उपचारमा राज्यले ठूलो खर्च गर्दै आएको छ । एमडीआर बिरामीबाट एमडीआर नै सर्ने भएकाले कसैमा नसरोस् भनेर उनीहरुलाई होस्टेलमा लामो समय राखेर औषधी खुवाइने गरेको छ ।


बाँकेमा गत आर्थिक बर्ष २०७७/०७८ मा २९ जना नयाँमा एमडीआर पुष्टि भएको थियो । सो सँगै उक्त आ.व.मा कुल एमडीआरका बिरामीको संख्या ४७ पुगेका थिए । चालु आर्थिक बर्षमा पुराना २४ र नयाँ ११ जना एमडीआरका बिरामी थपिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया