नेपालगन्ज ‘गेटवे’ मात्रै कहिलेसम्म ?

बागेश्वरी मन्दिर, जुङ्गे महादेव हुँदै बाँके जिल्ला भरिका धार्मिक क्षेत्र लाई जोड्ने गरी दीर्घकालीन गुरुयोजना सहितको धार्मिक सर्किट निर्माणमा जोड दिने हो भने नेपालगन्जको पर्यटनलाई टेवा पुर्याउने अर्को महत्वपूर्ण काम हुनेछ ।

सतिश निरौला

लुम्बिनी प्रदेशको प्रमुख शहर हो नेपालगन्ज । यो नेपाल कै पुरानो शहर पनि हो अब नेपालगन्ज सधैं कर्णालीको गेटवे अर्थात प्रवेशमार्ग मात्रै होइन आफैंमा एउटा गन्तव्यका रूपमा उभ्याउनु पर्छ ।

पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको स्थापनासंगै अब नेपालगन्ज आसपासका अन्य क्षेत्रमा पर्यटकीय पुर्वाधार तयार गर्दै नेपालगन्जलाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा चिनाउन र स्थापित यहाँ राजनीतिक दल, पर्यटन सम्बद्धहरु र बाँकेका स्थानीय सरकारको भूमिका देखिनु आवस्यक छ ।

बाँके राष्ट्रिय निकुञ्ज नजिकै रहेको गाभरभ्याली एउटा उत्कृष्ट गन्तव्यका रूपमा स्थापित भैसकेको यस क्षेत्रले प्रशस्त स्थानीय पर्यटक लोभ्याइरहेको छ । अब त्यहाँ थप पर्यटकीय गतिविधि सहितको बिकास गर्ने सके बाँके निकुञ्ज र गाभर भ्याली क्षेत्र पर्यटकहरुलाई कम्तिमा ३ दिन मज्जाले घुमफिर गर्न सकिने पर्यटकीय स्थल बन्न सक्छ ।

त्यस्तै राप्ती सोनारी र नरैनापुरलाई जोडेर आकर्षक पर्यटन केन्द्र निर्माण को प्रशस्त सम्भावना छ । त्यसका पूर्वाधारमा राज्यको लगानी जरुरी छ । बिशेष गरि राप्ती पारी रहेका झरना, सन्तानेश्वर महादेव मन्दिर, गोबर्धन धाम र बर्फानी बाबासम्म सडक, बिद्युत र संचारका लागी राज्यको ३ तहकै ध्यान पुगे नरैनापुर गाउँ पालिकाले १० बर्ष भित्र नसोचेको उपलब्धि हासिल गर्न सक्छ ।

सन्तानेश्वर महादेव मन्दिर क्षेत्रमा राम्रो लगानी गर्ने हो भने त्यहाँ सानो कैलाश मानसरोवर नै तयार गर्न सकिन्छ । त्यसो गरे तिब्बत को कैलाश पुग्न नसक्नेहरुका लागि बाँकेको नरैनापुर आकर्षक गन्तव्य बन्नेछ ।

अगैयामा रहेको सिक्टा ड्याम वरपर ब्यबस्थित पिकनिक क्षेत्र निर्माण गरिदिने हो भने त्यो क्षेत्रमा अझै थप चलायमान बनाउन सकिन्छ ।

खजुरामा ५० औं बर्ष पुरानो मुसबेटवा बाबाको मजार छ जुन हिन्दु – मुस्लिम दुबै समुदायको आस्थाको केन्द्र का रूपमा रहेको छ । जहाँ हरेक बर्ष श्रीपन्चमीमा मेला लाग्ने गर्छ । त्यसलाई भारत को प्रसिद्ध धार्मिक स्थल अजमेर सरिफ झैं धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सकिन्छ । खजुरामा रहेको धौलागिरी गाउँको पन्चेबाजा बाँके र बर्दियामा चर्चित छ ।

धौलागिरी गाउँमा पन्चेबाजा संग्रहालय बनाइ त्यस गाउँमा ब्यबस्थित होमस्टे सन्चालनमा ल्याउने हो भने खजुरा बाँके जिल्ला को नयाँ पर्यटकीय गाउँ बन्ने धेरै सम्भावना छ ।

बागेश्वरी मन्दिर, जुङ्गे महादेव हुँदै बाँके जिल्ला भरिका धार्मिक क्षेत्र लाई जोड्ने गरी दीर्घकालीन गुरुयोजना सहितको धार्मिक सर्किट निर्माणमा जोड दिने हो भने नेपालगन्जको पर्यटनलाई टेवा पुर्याउने अर्को महत्वपूर्ण काम हुनेछ ।

भारतको उत्तर प्रदेशका केही ठाउँ र उत्तराखन्डका केहि ठाउँलाई मात्रै बिशेष लक्षित गर्दै बाँके जिल्लाका पर्यटकीय स्थल घुमाउन सकिन्छ । त्यससँगै उनीहरुलाई नेपालगन्जमा रहेका क्यासिनोमा पुर्याउने प्याकेज तयार गरि नेपालगन्जका पर्यटन ब्यबसायीहरुले प्याकेज तयार गरि मार्केटिङ गर्नुपर्छ । त्यसो गर्ने हो भने पक्कै पनि भारतीय पर्यटकहरू ३–४ दिन नेपालगन्ज सजिलोसँग घुम्न आउनेछ्न र बिस्तारै यसले थप सफलता हासिल गर्नेछ । (निरौला साइक्लिङ क्लब नेपालगन्जका अध्यक्ष हुन् )

प्रतिक्रिया

प्रतिक्रिया