३ दुर्घटना, १७ मापसेका घटना
अन्य बेला भन्दा पर्वका बेला प्रहरी योजना बनाएर सडकमा सक्रिय हुने गरेको छ । पर्वका बेला कुनै अप्रिय घटना नहोस् भनेर यसपटक जनपद, ट्राफिक बाहेक सशस्त्र प्रहरी पनि सडकमा खटिएका थिए ।
होली पर्वको दुई दिन बिहीबार र शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ सय ८० वटा कारवाही गरेको जानकारी दिएको छ । जसमा मापसेको मात्रै १७ वटा कारवाही रहेको छ ।
पर्वका दुई दिनमा तीन वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् । ‘अप्रिय घटना नहोस् भनेर चेकजाँच बढाएका थियौं’, उनले भने, ‘एक प्रहरी कर्मचारी सहित तीन जना घाइते हुनुभएको छ ।’ प्रहरीका अनुसार धम्बोझी चोकमा चेकजाँचमा खटिएका वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएका प्रहरी घाइते भएका थिए । उनलाई सवारी साधनले ठक्कर दिएको थियो ।
यसअघि बाँकेमा दुई प्रहरी कर्मचारीको सडकमै डियुटि गरेका बेला ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए । राँझा चोकमा घाइते प्रहरीको अवस्था सुधार हुँदै गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । त्यहाँ एक प्रहरी र त्यसअघि कोहलपुरमा एक प्रहरीको मापसे सेवन गरेका चालकले ठक्कर दिंदा मृत्यु भएको थियो ।
‘जिल्लामा ज्यानै जाने खालका कुनै पनि दुर्घटना पर्वका बेला भएनन्’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘मापसे सेवन गरेर सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर छाड्ने क्रममै छौं ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, शुक्रबार १५ वटा माद्यक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाही गरी १५ हजार राजश्व संकलन गरिएको छ । त्यस्तै, त्यसबाहेक ट्राफिक नियम उल्लंघन गर्ने ८० वटा सवारीसाधनलाई कारवाही गरी ४२ हजार राजश्व संकलन गरिएको छ ।
बिहीबार ट्राफिक नियम उल्लंघन गर्ने ८३ सवारीसाधनलाई कारवाही गरेर ४३ हजार राजश्व संकलन गरिएको छ । त्यसबाहेक मापसेका २ वटा घटनामा कारवाही गरेको प्रहरीले जानकारी दिएको छ ।