वन्यजन्तुको आतंक : ‘उब्जनी जति वन्यजन्तुले खान्छन्, हामीले के खाने ?’


तारबार माग्दै वनमा पीडित

बाँके बैजनाथ गाउँपालिकाका वन्यजन्तु पीडित त्यसबाट जोगाउन सहयोग गुहार्दै सहायक वन भिडिजन वन कार्यालय बाँके पुगेका छन् । बैजनाथ गाउँपालिकाका सामुदायिक वन तथा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले उब्जनी जोगाउन समस्या भएको भन्दै डिभिजन वन कार्यालय गुहारेका हुन् । उनीहरुले सामुदायिक वन तथा निकुञ्ज आसपासमा खेती गर्ने किसानको उब्जनी जोगाउन तारबार गरिदिन आग्रह गरेका थिए ।

गौथली सामुदायिक वनका कृष्ण रिजालले पहिलो गरेको तारबार काम नलाग्ने हुँदा अन्नबाली वनजन्तुले खाइदिने गरेको र त्यसले जीविकोपार्जनमा समस्या भएको भन्दै डिभिजन वन कार्यालय प्रमुखलाई तारबारको पहल गरिदिन आग्रह गरे । सामुदायिक वन क्षेत्रका ३ सय ६५ घर वन्यजन्तुको आतंक पीडित रहेको बताए । ‘वन्यजन्तुबाट हुने आक्रमणको आतंक वन क्षेत्र आसपासमा बस्ने बासिन्दाको छ, पछिल्लो समय बालीनाली समेत खाइदिने गरेका छन्’, उनले भने । ‘थोरै जग्गा छ, त्यसैमा लगाएको उब्जनी समेत वन्यजन्तुले खाइदिन्छन्’, उनले भने ।

सुरत गुरुङ्गले सामुदायिक तथा निकुञ्जका वन्यजन्तु दुवैले समस्या पारिरहेको बताउँछन् । ‘सधै आफ्नो उब्जनी कुरेर बस्न सक्दैनौं’, उनले भने, ‘त्यसैले दीर्घकालीन उपाय गरिदिनु पर्यो ।’ उनले किसानको मेहनत वन्यजन्तुको आहार मात्रै बनेको बताए ।

वन क्षेत्र नजिक रहेका बस्तीमा बाघ, निलगाई, बँदेल लगायतका वन्यजन्तुको आतंक रहेको स्थानीय बताउँछन् । चिसापानीका खड्क बहादुर रामजाली, बिमला बुढा लगायतले भोगिरहेका समस्याबारे बताएका छन् । वन्यजन्तुले उत्पादन मात्रै नभएर खोरमा राखिएका बाख्रा समेत खाइदिने गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. १ हालै एक किसानको ४ वटा बाख्रा खोरबाटै बाघले मारिदिएको थियो । ‘अब वन्यजन्तु जोगाउने कि हामी जोगिने ?’, आसपासका बासिन्दाले भने ।

बैजनाथका जंगबहादुर कामीले वन्यजन्तुले उब्जनी खाने भएपछि खेतीबालीका लागि किसान निरुत्साहित रहेको बताए ।
बैजनाथ गाउँपालिका वडा नं. ६ सामुदायिक वन र वडा नं. १ र ३ बाँके र बर्दियाको राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

‘तारबारका लागि छैन बजेट’
दधिलाल कंडेल
प्रमुख
डिभिजन वन कार्यालय बाँके


हामीसँग सामुदायिक वनमा तारबार गर्ने खालको बजेट छैन । वन बढेपछि वन्यजन्तु बढेका छन् । त्यसले आसपास बस्नेलाई समस्या सिर्जना गरेको हामीले पनि महसुस गरेका छौं । तर, सरकारले तत्काल हामीलाई माग भए जसरी तारजाली लगायतका लागि बजेट दिएको छैन ।
सामुदायिक वनको आफ्नो पनि आम्दानी हुन्छ । त्यसबाट पनि उहाँहरुले तारजालीको काम गर्न सक्नुहुन्छ । अहिले तीन तहका सरकार छन् । वडादेखि संघीय सरकारले वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरणका लागि बजेट विनियोजन गर्न सक्नुहुनेछ ।

बैजनाथका स्थानीयले समस्या सुनाउनु भयो, हामी प्रयास गर्छौं, बजेटका लागि । हाल हामीसँग सामुदायिक वन खाली क्षेत्र रहे वृक्षारोपण र संरक्षणका लागि काम गर्ने बजेट छ । तर, उत्पादन जोगाउनकै लागि बजेट भने छैन ।

हामीले पीडा सुनाउन आउनु भएका नागरिकलाई सबै तहका सरकारमा पहल गर्न, प्रस्ताव ल्याउन र आफुले पनि पहल गर्न सुझाव दिएका छौं । समस्या छ, समाधानका लागि हामी सबैले सरोकारवालाले प्रयास गर्न आवश्यक रहेको छ ।

सामुदायिक वन जोडिएको क्षेत्रमा हामीले पहल गर्न सक्ने भएपनि निकुञ्ज जोडिएको क्षेत्र भने हामीले भन्ने मात्रै हो त्यहाँ काम गर्ने अधिकार हुँदैन । त्यसैले निकुञ्ज जोडिएको क्षेत्रमा निकुञ्जसँग नै पहल गर्नु आवश्यक छ । शायद उहाँहरुसँग वन्यजन्तु र मानव द्वन्द्व कम गर्नका लागि बजेट समेत रहेको छ ।

खाद्य सुरक्षा राज्यको दायित्व
सुरेश गौतम
अधिकारकर्मी

खाद्य सुरक्षा राज्यको दायित्व हो । समस्या आउँदा स्थानीयले पहल नै गर्न सक्दैनन् । गरे धाउँदा धाउँदा हैरान हुने अवस्था छ । अहिले बाँकेमा वन्यजन्तुका कारण निकै समस्या बढेर गएको छ । वन्यजन्तुका कारण मानिसको ज्यान जानेदेखि उत्पादनमा क्षति पुगेको पाइन्छ ।
वन्यजन्तु जंगलमै बस्ने हो । उनीहरुलाई आफ्नो सीमा थाहा हुने कुरा भएन । संरक्षण पनि आवश्यक छ । तर, वन्यजन्तु संरक्षण गरिरहँदा राज्यले जनधनको क्षति तथा किसानको नोक्सानी हुन नदिन भरपर्दो उपाय अवलम्वन गर्नुपर्दछ ।

अहिले नोक्सानी बेहोर्नेको सुनुवाई सहज छैन । बाँकेमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज एक आपसमा जोडिएको छ । वन्यजन्तुले पारेको नोक्सामा दुवै ठाउँ पुगेर स्थानीयले आफ्नो पीडा पोख्नुपर्ने बाध्यता छ । एउटा पीडित वडा, स्थानीय तह, सामुदायिक वन, दुई वटा निकुञ्ज पुग्नु पर्ने अवस्था छ । यो खर्चिलो र झन्झटिलो छ । सरकारले समस्या बुझेर वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरणको भरपर्दो उपाय बनाउन आवश्यक छ ।

किसानका उत्पादन जनावरले खाइदिने हो भने उनीहरुले के खाने ? खेतबारीको उब्जनीदेखि घरपालुवा जनावर वन्यजन्तुले खाने, क्षतिपूर्ति नपाउने वा ढिलाई हुने अवस्थामा खाद्य अधिकार संरक्षण हुनसक्दैन । यसतर्फ राज्य गम्भीर हुनुपर्दछ ।

समुदायले बुझायो ज्ञापन

खाद्य अधिकार समूहले डिभिजन वन कार्यालयमा जंगली जनावरका कारणले उब्जनीमा नोक्सानी भएको भन्दै संरक्षणका लागि ज्ञापन पत्र बुझाएका छन् । फियान नेपालको संयोजनमा खाद्य अधिकार समूहले वन्यजन्तुले पारेको स्थानीय प्रभावबारे जानकारी दिंदै समाधानका पहलका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

बैजनाथ गाउँपालिका वडा नं. ६, १ र ३ का स्थानीयले फियानको सहजीकरणमा डिभिजन वन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका हुन् ।
फियान नेपालका प्रदेश संयोजक सुरेश गौतमले संस्थाले बैजनाथमा खाद्य अधिकारका सवालमा काम गरिरहेको जानकारी दिंदै त्यहाँ खाद्य अधिकार संरक्षणको सवालमा समस्या देखिएको स्थानीयको गुनासो पछि सहजीकरण गरेको बताएका छन् ।
फियान नेपालले विगत चार बर्षदेखि समुदायमा खाद्य अधिकारको सवालमा पैरवी गरिरहेको छ । स्थानीयले आफ्ना समस्या संगठित रुपमा उठाउन फियानले सहजीकरण गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया