सकियो पर्यटन मेला: अर्को संस्करणको घोषणा

पश्चिम नेपालको पर्यटकीय सम्भावना खोज्न पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको पर्यटन मेला, वेष्टर्न ट्राभल मार्ट शनिबार सकिएको छ । नेपाल तथा भारतका विभिन्न ठाउँबाट नेपालगन्ज आइपुगेका पर्यटन व्यवसायीहरुलाई औपचारिक कार्यक्रम बीच बिदाई गर्दै ट्राभल मार्ट समापन गरिएको हो ।

समापनअघि वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले आगामी फागुन १३, १४ र १५ गते तद्अनुसार फेबु्रअरी २५, २६ र २७ तारिख नेपालगन्जमा पर्यटन मेलाको दोस्रो संस्करण घोषणा गरे । ‘तमाम अनिश्चितता बीच छोटो तयारीमा जे जति गर्न सकियो हामी सन्तुष्ट छौं’, भारतीय टुर अपरेटर तथा नेपाली पर्यटन व्यवसायीहरुलाई बिदाई गर्दै अध्यक्ष सिग्देलले भने, ‘अर्को बर्ष बृहत तयारीका साथ भव्य आयोजनाको प्रतिबद्धता व्यक्त गर्दछौं ।’

मूल आयोजक नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको उपस्थितिमा आयोजकका तर्फबाट अध्यक्ष सिग्देलले दोस्रो संस्करणमा सहभागिताका लागि आमन्त्रण पनि गरे । उनले त्यसो भनिरहँदा चार दिनसम्म नेपाल यात्रा सकेर फर्किदै गरेका भारतीय पर्यटन व्यवसायीहरुले हर्ष पूर्वक ताली बजाएर स्वागत गरेका थिए ।

‘यो हाम्रो लागि निकै ठूलो उपलब्धी हो’, सफलतापूर्वक ट्राभल मार्ट आयोजना गरिएकोमा खुसी हुँदै सञ्चालन तथा व्यवस्थापन समितिका सचिव कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘सीमित स्रोत, साधन र समय बीच यत्तिको आयोजनाले हामीलाई सन्तुष्ट बनाएको छ, अबको तयारीका लागि हामीसँग प्रशस्त समय भएकाले निजी क्षेत्र एक ढिक्का भएर लाग्नु पर्दछ ।’

फागुन २६ गते विहान प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर परिसरबाट मार्चपास गरी सुरु गरिएको वेष्टर्न ट्राभल मार्टको पहिलो संस्करणको औपचारिक उद्घाटन राउटे समाजका मुखियाले गरेका थिए । कार्यक्रममा सहभागी झण्डै ७० जना भारतीय टुर अपरेटरहरुले यसबीच विभिन्न पर्यटकीय गन्तव्यका लागि सय बढी बुकिङ्गहरु गरेको आयोजकले जनाएको छ । ‘यसको परिणाम बर्षभरी नै आउने हो’, आयोजक समितिका सदस्य समेत रहेका नाट्टा नेपालगन्ज च्याप्टरका उपाध्यक्ष डिल्ली रेग्मीले दैनिक नेपालगन्जसँग भने, ‘राम्रो सुरुवात भएको छ ।’

आयोजक समितिका उपाध्यक्ष समेत रहेका हान बाँकेका दिवाकर खनालले वेष्टर्न ट्राभल मार्टको सफलताले पर्यटन व्यवसाय सँग सरोकार राख्ने विभिन्न गतिविधिको योजना बनाइएको बताए । ‘पोखरा, काठमाडौं, चितवन जस्ता ठाउँमा गरिने इभेन्टहरु अब नेपालगन्जले आयोजना जरुरी छ’, वरिष्ठ पर्यटन व्यवसायी खनालले दैनिक नेपालगन्जसँग भने, ‘आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी अबका इभेन्टहरु हानले पनि आयोजना गर्नेछ ।’ उनले खासगरी फुड फेष्टिबललाई जोड दिंदै भने, ‘स्ट्रिट फुड फेष्टिबल, बियर फेष्टिबल, म्युजिकल फेष्टिबल लगायतका आयोजनाहरु अबका दिनमा गर्न जरुरी छ ।’

आज सकिंदै ‘वेष्टर्न ट्राभल मार्ट’, राफ्टिङमा रमाए पर्यटक

प्रतिक्रिया

प्रतिक्रिया