जैन धर्मावलम्वीहरुका प्रसिद्ध जैनमूनि, नेपाल केसरी डा. मणिभद्र मूनिजी महाराज एवं श्रीविरागमूनिजी महाराजले नेपालगन्जमा प्रवचन दिएका छन् ।
‘गुरुदेवले ८५ हजार किलोमिटरको पदयात्रा पूरा गर्नुभएको छ, उहाँको अमृतवाणि सुनेर हामी धेरै धन्य भएका छौं ।’
मानव मिलन संस्थाका संस्थापक, जैनमूनि पोखरादेखि भारतको दिल्ली मेरठसम्मका लागि सर्वोदय शान्ति पदयात्राका क्रममा बिहीबार नेपालगन्जमा स्थानीय जैन समुदायले भव्य स्वागत, सम्मान पछि प्रवचन कार्यक्रम गरिएको हो ।
स्वागत, सम्मानमा सहभागी मारवाडी महिला मञ्चकी उपाध्यक्ष कुसुम दुगडका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाको प्रमुख आतिथ्यतामा जिल्लाका विभिन्न सरकारी अधिकारीहरु समेतको सहभागितामा जैनमूनिको स्वागत सत्कार गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, नेपाली सेना भैरवप्रसाद गणका गणपति जनमत कार्की, मारवाडी महिला संघकी उपाध्यक्ष रश्मी कनोडिया, मारवाडी समाजका अध्यक्ष डा. सुरेश कनोडिया, जैन समाजका अध्यक्ष कन्हैयालाल वैद्य, मारवाडी महिला मञ्चकी अध्यक्ष संगिता अग्रवाल लगायतले जैनमूनि सहित पदयात्रामा सहभागीहरुलाई कलशयात्रा सहित स्वागत सम्मान गरिएको थियो । ‘गुरुदेवले ८५ हजार किलोमिटरको पदयात्रा पूरा गर्नुभएको छ’, दुगडले दैनिक नेपालगन्जसँग भने, ‘उहाँको अमृतवाणि सुनेर हामी धेरै धन्य भएका छौं ।’