आज सकिंदै ‘वेष्टर्न ट्राभल मार्ट’, राफ्टिङमा रमाए पर्यटक

बिहीबारदेखि नेपालगन्जमा आयोजना भएको पर्यटन मेला, वेष्टर्न ट्राभल मार्ट आज शनिबार औपचारिक समापन गरिंदैछ । बाँके, बर्दियाको पर्यटकीय क्षेत्रमा प्रत्यक्ष अवलोकन भ्रमण, व्यवसायिक साझेदारी, विषयगत छलफल लगायतका कार्यक्रमसँगै तीन दिने पर्यटन मेला आज समापन हुन लागेको हो ।

‘हामीले सोचे भन्दा राम्रो सहभागितामा मार्ट आयोजना भएको छ’, शुक्रबार साँझ बर्दियाको ठाकुरद्वारा स्थित डल्ला होम स्टेमा सय बढी भारतीय तथा नेपाली पर्यटकहरु बीच थारु सांस्कृतिक प्रस्तुति हेरिरहेका आयोजक तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘शनिबार कतिपयलाई बिदाई र कतिपय बस्न चाहनुहुनेहरुलाई थप पर्यटकीय गन्तव्यमा लगिनेछ ।’

नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मूल आयोजनामा नाट्टा बाँके च्याप्टरले पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान, होटल व्यवसायी संघ नेपालगन्ज बाँके लगायतका साझेदारहरुसँगको सहकार्यमा पहिलो पटक पर्यटन मेलाको आयोजना गरेको हो । दोस्रो दिन शुक्रबार नेपालगन्जमा विभिन्न व्यवसायिक साझेदारहरु बीच छलफल गरेका भारतीय टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीहरु दिउँसो विभिन्न दृश्यावलोक गर्दै बर्दियाका गन्तव्यहरुमा पुगेका हुन् ।

‘कोठियाघाट पुल, कर्णाली नदीको अवलोकन गर्दै ठाकुरद्वारा स्थित डल्ला होमस्टेमा सांस्कृतिक कार्यक्रम र मौलिक खाना खाने कार्यक्रम भयो’, अध्यक्ष सिग्देलले भने, ‘शनिबार बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी लगायतका कार्यक्रम पछि नेपालगन्जमा समापन समारोह गरिनेछ ।’

भारतीय पर्यटकहरु ठूलो समूहले शुक्रबार कर्णाली नदीमा भव्य जलयात्रा गरेको छ । वेष्टर्न ट्राभल मार्ट आयोजक तथा व्यवस्थापन समितिका सदस्य समेत रहेका पर्यटन व्यवसायी देवराज जैसीका अनुसार, ६० जना भारतीय टुर अपरेटर र पत्रकारले करिब ५ किलोमिटर लामो जलयात्रामा मनोरञ्जन गरे । ‘निकै उत्साहित ढंगबाट भारतीय पर्यटकहरुले र्याफ्टिङमा सहभागिता जनाउनु भयो’, कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लिका प्रबन्ध निर्देशक जैसीले दैनिक नेपालगन्जसँग भने, ‘साहसिक जलयात्रामा भारतीय पर्यटकको सहभागिता बढ्ने आश आजको कार्यक्रम पछि बढेको छ ।’

आयोजक समितिका सदस्य समेत रहेका नाट्टा बाँकेका उपाध्यक्ष डिल्ली रेग्मीले भारतीय पर्यटकहरु कर्णाली तटीय क्षेत्रको अवलोकन सँगै जलयात्रामा रमाएर निकै हर्षित भएको प्रतिक्रिया आफुले पाएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया