हात्तीपाइले नियन्त्रणमा असफल बाँके

राज्यको लगानी पानीमा !



हात्तीपाइले निवारणमा बाँके असफल भएको छ । ६ बर्ष हात्तीपाइले विरुद्ध औषधी खुवाएपछि निवारण हुनुपर्नेमा बाँके पटकपटक असफल हँुदै आएको हो । अहिले बाँकेले १२औं पटक औषधी खुवाउने तयारी गरेको छ । विडम्वना निवारणको निर्धारित समयको दोब्बर पटक औषधी खुवाउँदा पनि बाँकेमा हात्तीपाइले निवारण हुन नसक्नु । यसरी पूर्वनिर्धारित समयमा हात्तीपाइले निवारण नहुँदा राज्यले पटकपटक बाँकेमा त्यस विरुद्ध अभियान चलाउनु परेको छ । जसले गर्दा अनावश्यक रुपमा राज्यको करोडौं लगानी बालुवामा पानी भनेजस्तै बिलाएर गएको अवस्था छ । सुधारोन्मुख हुँदा पनि निवारण मापदण्ड भेट्न नसक्नुले बाँके आगामी बर्षमा पनि औषधी खुवाउनका लागि राज्यको आर्थिक स्रोत खर्च गर्नुपर्ने देखिन्छ ।

मानिसमा हात्तीपाइलेको जीवाणु भएपनि त्यसले तत्काल प्रभाव देखाउँदैन । त्यसले गर्दा पनि मानिस आफु स्वस्थ रहेको ठानेर लिएको औषधी पनि नखाएर फालिदिन्छन् । जसको प्रभाव सर्वेमा देखिन्छ, अनि जिल्ला मापदण्डमा फेल हुन्छ ।
बाँकेमा हात्तीपाइले विरुद्धको औषध खुवाउन सुरु भएपछि पाँच पटक परीक्षण सहितको सर्भे भएको छ । जसमा बाँके फेल हुँदै आएको छ । यद्यपि, पहिले भन्दा रिपोर्ट भने सकारात्मक छ । देशका अधिकांस जिल्ला हात्तीपाइले निवारणको स्तरमा पुग्दा पनि बाँकेले भने मापदण्ड प्राप्त गर्न नै सकेको छैन ।

पछिल्लो पटक यसै महिना बाँकेको दुई ठाउँमा हात्तीपाइले अवस्था बारे प्रि टास्क सर्भे भएको थियो । जसमा पनि बाँके फेल भएको स्वास्थ्य कार्यालय बाँके नेपालगन्जका प्रमुख धीर जंगशाहले जानकारी दिएका छन् ।
कोहलपुरको रझेना र नेपालगन्जमा प्रि टास्क सर्भे गरिएको थियो । जसमा निवारण लेभल भन्दा बढी हात्तीपाइले संक्रमित भेटिएका थिए । पहिलो पटक बाँकेमा भएको बेसलाइन सर्भेमा सन् २००१ मा बाँकेमा २०.८ प्रतिशत संक्रमित फेला परेका थिए । त्यसपछि त्यो रेसियो भने घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, प्रि टास्कमा सन.् २०१५ मा बैजनाथ र नेपालगन्जका सर्भे गरियो । जसमा बैजनाथमा १८.५ र नेपालगन्जमा १३.२ प्रति प्रतिशतमा संक्रमण देखियो । दोस्रो प्रि टाक्स सर्भे सन् २०१७ मा बैजापुर, रझेना र नेपालगन्जमा भयो । जसमा रझेनामा सर्भेमा सहभागी मध्ये २२.३, बैजापुरमा ५.३, नेपालगन्जमा ८ प्रतिशतमा परीक्षण गराएका मध्येमा पोजेटिभ देखियो ।

हात्तीपाइले विरुद्धको अभियान निरन्तर चल्यो, प्रि टाक्स सर्भे तेस्रो पटक पुन २०१९ मा तेस्रो पटक भयो । तेस्रो पटक रझेना र नेपालगन्जमा प्रि टाक्स सर्भे गरियो । जसमा पनि बाँके फेला भयो । रझेनामा परीक्षण गराएका १८ र नेपालगन्जमा ३.५ प्रतिशतमा हात्तीपाइले देखियो । चौथो पटक प्रि टाक्स सर्भे रझेना र नेपालगन्जमै भयो केही समय अघि । जसमा पनि बाँकेले निवारणको मापदण्ड प्राप्त गर्न सकेन । रझेना ५.५ र नेपालगन्जमा २.८ प्रतिशतमा सर्भेमा सहभागी मध्येमा हात्तीपाइले देखियो ।

प्रि टास्क सर्भेमा बाँकेको रझेनामा ३ सय २६ को नमूना संकलन गर्दा १८ पोजेटिभ पाइए । अर्को नेपालगन्जको एउटा वडामा ३ सय १७ को नमूना परीक्षण गर्दा ९ जनामा हात्तीपाइलेको जीवाणु पाइयो । २ प्रतिशत भन्दा तल संक्रमण भेटिए मात्रै निवारणको अवस्था मानिने गरेको मापदण्ड रहेको छ ।

अब पनि आम नागरिकले औषधी नखाएमा निवारणको अवस्थामा बाँके पुग्न नसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

‘औषधी लिए खाएनन्’
धीरजंग शाह
प्रमुख
जनस्वास्थ्य कार्यालय बाँके

यसअघि हात्तीपाइले विरुद्धको अभियानमा घरघर स्वयंसेवक पुग्दा घरमा नभेटिने सदस्यका लागि औषध दिइयो । जसले तथ्यांकमा औषधी सेवन गर्नेको संख्या बढ्यो । तर, हालको परिणामले दिइएको औषधी नखाएको हाम्रो अनुमान छ । यसअघि वितरित औषधी खाएको भए बाँके निवारणको स्तरमा पुगिसक्थ्यो ।

यस पटक सबै स्थानीय तहका जनप्रतिनिधि, नागरिक, राजनीतिक दल, संघ, संस्थाले हात्तीपाइले विरुद्धको अभियानमा हातेमालो गर्नुपर्दछ । हामीले पनि यसअघि जस्तो परिवारका सदस्यलाई औषधी दिने भन्दा आफैले खुवाउने पर्ने नियम बनाएका छौं ।
अहिलेको औषधी पहिलेको भन्दा एउटा थप गरिएको छ । जुन निकै प्रभावकारी छ । जसले एक बर्षमै हात्तीपाइले निवारण गर्न सक्दछ । त्यसैले अब १४ दिन बाँकेका घरघरमा पुगेर स्वयंसेवक आफैले औषधी खुवाउनु हुनेछ ।

राज्यले निःशुल्क रुपमा दिएको औषधी नागरिकले सेवन गर्नुपर्दछ । औषधी बारे ढुक्क भए हुन्छ । औषधीका विषयमा कुनै संकोच र समस्या लागे स्वयंसेवक सँग छलफल गर्नु सक्नुहुन्छ । हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । बाँकेमा हात्तीपाइले निवारण गर्न बाँकेका प्रत्येक नागरिकले हात्तीपाइलेको औषधी सेवन गर्नुपर्दछ । यसअघि जतिपटक हात्तीपाइलेको औषधी खाएको भएपनि पुनः खाँदा कुनै स्वास्थ्य समस्या आउँदैन । औषधी सेवनकै कारण कुनै समस्या भए स्वास्थ्य स्वयं सेविका, गाउँपालिका, जनस्वास्थ्य तथा अस्पतालमा सम्पर्क गर्न सकिन्छ । त्यसैले ढुक्क भएर सबै औषधी खाएर बाँकेलाई हात्तीपाइले निवारणको अवस्थासम्म पुर्याउन योगदान पुर्याउनु पर्दछ ।

फागुन २८ देखि अभियान
औषधी थप, उचाइ हेरेर औषधी

स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति दुर्गा गौतमले आगामी फागुन २८ गतेदेखि दुई सातासम्म हात्तीपाइले विरुद्धको औषधी जिल्ला भर खुवाउने अभियान सञ्चालन हुने जानकारी दिएकी छन् ।
सोमबार अभियानका बारेमा जानकारी दिन सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा गौतमले भनिन्, ‘यसपटक औषधी उचाइ अनुसार र थप औषधी दिने व्यवस्था भएको छ ।’ गौतमले हाल हात्तीपाइले विरुद्धको औषधी यसअघिको भन्दा प्रभावकारी रहेको बताएकी छन् । ‘हालको औषधी सेवनले बाँके हात्तीपाइले निवारणको अवस्थामा पुग्ने विश्वास लिएको छु’, उनले भनिन् ।
जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले बाँकेको सञ्चार क्षेत्रले सरकारी अभियानमा सधै सकारात्मक साथ दिंदै आएको बताएका थिए । ‘सञ्चार क्षेत्र हात्तीपाइले विरुद्धको अभियानमा सफल बनाउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्छ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया