वेष्टर्न ट्राभल मार्ट आयोजना निश्चित


आन्तरिक तथा बाह्य पर्यटनको विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना हुने निश्चित भएको छ । लामो समयदेखि आयोजनाको टुङ्गो लागेपनि विभिन्न व्यवधानले अनिश्चित बन्दै गएको ट्राभल मार्ट यही फागुन २६ देखि २८ गतेसम्म नेपालगन्जमा हुने भएको हो ।

‘सबै बाधा, व्यवधान चिरेर छोटो तयारीमै भएपनि सफलतापूर्वक मार्ट आयोजनाको काम भैरहेको छ’, आयोजना व्यवस्थापन समितिका संयोजक समेत रहेका नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘यसलाई नेपालगन्जले मात्रै होइन पश्चिम नेपालले नै अपनत्व लिन जरुरी छ ।’ उनले आयोजनाको सफलताबाट पश्चिम क्षेत्रकै पर्यटकीय गन्तव्यको विकास र बिस्तारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सोमबार बाँकेका पत्रकारहरुसँग छलफल आयोजना गरेको वेष्टर्न ट्राभल मार्ट आयोजना व्यवस्थापन समितिले मार्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ‘यसले पर्यटन सम्बन्धी व्यापार आदानप्रदानमा मात्रै होइन यस क्षेत्रका पर्यटकीय गन्तव्यलाई विश्वमाझ उजागर गर्न सहयोग पुर्याउँछ’, अध्यक्ष सिग्देलले पत्रकारहरुसँग भने, ‘यसका लागि सबैले हातेमालो गरेर सहयोग पुर्याइदिन हाम्रो अपिल छ ।’


पत्रकारहरुसँगको छलफलमा सहभागी नेपाल टुरिजम बोर्डका पर्यटन बजार प्रबन्धक गोविन्द ओलीले पश्चिम नेपालको पर्यटकीय सम्पदाको उजागर र प्रचारप्रसारमा वेष्टर्न ट्राभल मार्टले ठूलो योगदान दिने अपेक्षा गरे । ‘आन्तरिक र बाह्रय टुर अपरेटरहरु बीच व्यापार आदानप्रदानको सम्झौतामा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ’, वेष्टर्न ट्राभल मार्टको समन्वय अधिकृतका रुपमा खटिएका ओलीले पत्रकारहरुसँग भने, ‘भारतबाट मिडियाकर्मीहरु पनि निम्त्याइएकाले नेपाली पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्नेछ ।’ ओलीका अनुसार, पर्यटन मेलामा भारतका ३० जना टुर अपरेटर आउने निश्चित भैसकेको छ भने कम्तिमा १५ जना सीमावर्ती भारतीय सहरका पत्रकारहरुले सहभागिता जनाउने छन् ।


पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ हुन लागेको हो । कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सहआयोजनामा मार्ट गर्न लागिएको हो ।


अध्यक्ष सिग्देलका अनुसार, मार्टमा १ सय वटा स्टल राखिनेछ । जहाँ पर्यटन व्यवसायीहरुले आफ्ना आकर्षण प्रस्तुत गर्नेछन् । ‘यस क्षेत्रका सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिनेछ’, सिग्देलले पत्रकारहरुसँग भने, ‘मार्टलाई फगत औपचारिकता भन्दा एउटा विशेष प्रस्तुतिका रुपमा नेपालगन्जको परिचय स्थापित गर्न लागि परेका छौं ।


नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजन गर्न लागिएको बोर्डका अधिकृत ओलीले जानकारी दिए । ‘वेष्टर्न ट्राभल मार्ट प्रादेशिक मार्टको अवधारणा उद्घाटन कार्यक्रम हो’, आयोजकको भनाइ छ ।
मार्टमा पर्यटकीय गतिविधि सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथिलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइने कार्यक्रम रहेको छ । मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजक व्यवस्थापन समितिका संयोजक सिग्देलले बताए ।

बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने व्यवस्था समेत गराइएको छ । वेष्टर्न ट्राभल मार्टमा आउने अतिथिका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको अध्यक्ष सिग्देलको भनाइ छ ।


नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रवन्धक गोविन्द ओलीले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुर्याउने विश्वास गरे । ‘पश्चिम नेपालमा थुप्रै पर्यटकीय स्थल हुँदा हुदैपनि लाभ लिन नसकेको अवस्था छ, यो मार्ट सञ्चालन भएपछि यहाँको पर्यटकीय स्थलको प्रचार–प्रसारमा पक्कैपनि टेवा पुग्नेछ,’ उनले भने । यसले भारतीय सिमावर्ती बजारका पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्ने बताए ।


नेपालगन्जमा पहिलो पटक हुन लागेको उक्त मार्टलाई सफल गराउनमा यसक्षेत्रका सबैको बराबर दायित्व भएको वेष्टर्न ट्राभल मार्टका सदस्य एवम् वरिष्ठ पत्रकार झलक गैरेले बताए । ‘यो नेपालगन्ज क्षेत्रबासीको साझा कार्यक्रम हो, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो, यसको प्रचार–प्रसारमा सबै सञ्चारकर्मीले साथ दिन जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया