श्रमिक महिला दिवसको सार्थकता

आज बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा हामी समय सान्द्रभिक विषयमा चर्चा गर्नेछौं । आठ मार्च अर्थात अन्तरराष्ट्रीय श्रमिक महिला दिवस जसलाई विश्वभरी उत्सवकै रुपमा मनाइन्छ । आज विश्वभरी नै श्रमिकहरुको अधिकारका लागि समान कामको समान ज्याला भन्ने नाराका साथ वकालत गरिन्छ । तर घरमा बस्ने घरलाई घर बनाउन दिनरात मिहेनत गर्ने महिलाको श्रमको मुल्यांकन बारे कसैले विचार पुर्याउँदैन । किनकी हाम्रो समाजमा श्रमको मुल्यांकन बारे फरक परिभाषा छ । श्रमको मुल्यांकन भनेकै आर्थिक संग जोडिएर आउँछ । तर आफ्नो आमाबुवा दाईभाई, दिदीबैनी आफ्नो घरपरिवारलाई त्यागेर आएकी बुहारी र पत्नी जो घरमा चौबिसै घण्टा श्रम गर्छिन् तिनका बारे पनि चर्चा हुन आवश्यक छ । तिनलाई श्रम बापत आर्थिक मुल्यांकन चाहिदैन । जब आर्थिक मुल्यांकन चाहिदैन भने कस्तो मुल्यांकन हुनुपर्छ त भनी तल व्याख्यात्मक रुपमा उल्लेख गरिएको छ ।

विश्व स्तरको कुरा गर्ने हो भने ई.स. सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बीजारोपण भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो तर ८ मार्चकै दिन मनाउनुपर्छ भनी कुनै विचार साझा गरे थिइनन् । उनले ई.स. १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन् । त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाएका थिए । पहिलो पटक ई.स. १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो । त्यसको १०० वर्ष ई.स. २०११ मा मनाइयो । यो वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ । संयुक्त राष्ट्रसङ्घले ई.स. १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो । जसलाई आज विश्व भरी नै निकै उत्साहका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइन्छ ।

अब इस्लामको बारेमा कुरा गर्ने हो भने शरीयते इस्लाममा श्रमिक अधिकारलाई आज भन्दा १४०० वर्ष भन्दा अगाडि स्थापित गरिएको छ । त्यतिबेला नै पैगम्बरे इस्लामले हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहे वसल्लमले फरमाउनुभयो कि, कामदार श्रमिकको ज्याला भुक्तानी उसको पसिना सुक्नु भन्दा पहिला नै गरिदिनुपर्छ । यसै गरी अर्को हदीस शरीफ छ जसमा पैगम्बरे इस्लाम फरमाउनुभयो, जसले कामदार श्रमिकसंग श्रम गरायो उसलाई कामको मूल्यांकन अनुसार पारिश्रमिक दिएन् भने कयामत (अन्तिम हिसाबकिताब) को दिन उसको वकील म बन्छु । म उसको मुद्दा लड्छु ।

इस्लाममा मात्र श्रमिकको अधिकारको कुरा गरिएको छैन । उसको कर्तव्य र दायित्व बारे पनि स्पष्ट भनिएछ । यसै सन्दर्भमा एक हदीसमा श्रमिकको कर्तव्य बारे पैगम्बरे इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहे वसल्लमले फरमाउनुभयो कि, श्रमिकले आफ्नो मालिकले दिएको काम र जिम्मेवारीपूर्ण इमान्दारीका साथ निर्वाह गर्नुपर्छ । जसले पूरै इमानदारीका साथ आफ्नो मालिकले दिएको काम पुरा गर्छ र अल्लाहको इबादत पनि गर्छ । उसलाई दोब्बर अजर (पूण्य) प्राप्त हुनेछ ।

पैगम्बरे इस्लाम हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमलाई एक पटक सोधियो कि एउटा कामदारले कति पटक गल्ती गरे उसलाई माफ गर्नुपर्छ । पैगम्बर इस्लाम हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लम फरमाउनुभयो कि, एउटा कामदारले एक दिनमा सत्तरी (७०) पटक गल्ती गर्दा पनि उसलाई माफ गर्नुपर्छ । शरीयते इस्लामले जहाँ श्रमिकको श्रमको उचित मुल्यांकनका साथ पारिश्रमिक दिने आदेश दिएछ । त्यहीं श्रमिकलाई उसको धार्मिक आस्था अनुसार धर्मकर्म गर्ने समय दिने आदेश दिएको छ । यसका साथै यदि श्रमिक शिक्षा हासिल गर्ने उमेरको छ भने उसलाई शिक्षा हासिल गर्ने समय र वातावरण दिनुपर्छ भनी आदेश दिएको छ । यो त भयो आर्थिक रुपले मुल्यांकन हुने श्रमिकहरुको अधिकार र कर्तव्यका कुरा जसको बारेमा इस्लामले सौदह शय वर्ष भन्दा अघि नै व्यवस्था गरी कार्यान्वयन गर्ने आदेश दिएको छ ।

अहिले अवस्था यो छ कि कामदारले एउटा गल्ती गर्यो भने उसलाई अरुको सामु बेज्जत गर्ने उसको तलब कट्टा गरी हाल्ने यहाँसम्म कि बिना तलब दिएरै नोकरीबाट निकालेर पठाइन्छ । काम गराइहाल्छन् तर समयमा पारिश्रमिक नै दिदैनन् बिचरा कामदारहरु दिनकै धाएका हुन्छन् । आफ्नो पारिश्रमिक पाउनका लागि कति त धाउँदा धाउँदै थाकेर निराश भएर बसिहाल्छन् । यो त भयो कामदारको कुरा, पत्नी वा बुहारीको अवस्था पनि त्यही छ । बुहारीले जति राम्रो गरे पनि उसको काममा कमी कमजोरी निकल्ने पत्नीले गरेका कामलाई अरुसंग तुलना गरी उसलाई निकम्मा र कामचोर ठहराउने गरिन्छ । बुहारीले जति मन बचनले काम गरे पनि खुशी नहुने गर्छन् । पत्नी र बुहारीमाथि झर्किनु रिसाउनुलाई त सामान्य कुरा ठानिन्छ । छोरीले ठुलै गल्ती गर्छिन् भने ढाकछोप गरीहाल्ने तर बुहारीबाट सानो गल्ती हुँदा तिलको पहाड बनाइ दिने कुरा लम्बियाउँदै उसको माइती सम्मै पुर्याउने उसको घर परिवार वा टोलछिमेकको जो कोही आउँदा बुहारीको कुरा काट्ने उसको साना गल्तीलाई अपराध सरह प्रस्तुत गर्ने गरिन्छ । जसले गर्दा सानो कुरामा ठुलो विवाद सृजना भइ परिवार नै छुट्टिने गरिन्छ ।

एक महिला जो दिनभरी घरमा थकाइ नमानीकन काम गर्छिन् । घरमा रहेका वृद्ध सासुससुराको स्याहार गर्छिन् । बच्चाको देखभाल र पालनपोषण गर्छिन् । पतिका आवश्यकताहरु झ्याउ नमानीकन पुरा गर्छिन् । खाना पकाउछिंन् । लुगा धुन्छिन् । घरको सरसफाई गर्छिन् । पाहुनाको स्वागत सत्कार गर्छिन् । बच्चाहरुको टिफिन र सासुससुराको लागि नास्ता बनाउछिन् । यहाँसम्मकी घरमा कोही न उठ्दा उनी एकाबिहानै उठ्छिन् अनि सबै जना सुतिसकेपछि आफ्नो भएभरका काम सकाएर मात्र सुत्छिन् । घरपरिवार को अनुपस्थितिमा एक सुरक्षागार्ड सरह घरको देखभाल र रक्षा गर्छिन् । तथापि समाजमा महिलाको श्रमको कुनै मुल्यांकन नै छैन् । आखिर एक महिलाका लागि उसको श्रमको मूल्यांकन के छ त भनी सोच्दै हुनुहोला । हो एक महिलाको श्रमको मुल्यांकन मात्र उसको कामको प्रशंसा गरिदिने, उसले पकाएको खानामा कमि कमजोरी हुन गए पनि सहर्ष मिठो मानेर खाइ दिने, उनको काममा आफुले पनि सक्दो सघाइदिने यदि सघाउन नसके पनि मुस्कानका उनले गरेका काम राम्रो छ भनी दुई शब्द तारीफमा बोल्दिने, गल्ती भइदिएमा माफ गरी दिने गल्ती सुधार्न प्रेमका साथ धैर्यताका साथ सुझाव दिने यही त हो अरु के नै चाहान्छिन् र । यति गरिदिएमा घर परिवारमा शान्ति आउनेछ । काम गर्नेले पनि आफ्नो श्रमको उचित कदर भएको महसुस हुनेछ । उसलाई सन्तुष्टि हुनेछ । अनि सन्तुष्टि भएपछि दुईगांस कम खाना पाए पनि उनलाई कुनै आपत्ति हुँदैन । उनले वर्षै पिच्छे नयाँ लुगा लगाउन नपाउँदा पनि कुनै गुनासो हँुदैन । यस कारण हरेक व्यक्तिले गरेको श्रमको उचित मुल्यांकन गर्नुपर्छ । साथै श्रम गर्ने व्यक्ति श्रमिकको कदर गर्नुपर्छ । अनि काम गर्ने व्यक्ति चाहे त्यो कामदार होस् वा पत्नी वा बुहारी यिनले पनि आफ्नो दायित्व इमानदारी निभाउने प्रयास गर्नुपर्छ । काम गर्दा गल्ती हुँदा क्षमा माग्ने र अगाडिको दिनमा ती गल्ती सुधार गर्दै जानुपर्छ । यसरी जीवन सहज हुँदै जानेछ अनि विश्व श्रमिक महिला दिवसको सार्थकता हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया