भारतका पाँचवटा राज्यमा निर्वाचन चलेको छ । यहि फागुन २६ गते त्यहाँको निर्वाचनको परिणाम पनि आउने छ । सरकारहरु बन्ने भत्किने छन् । तर त्यहाँको राज्यहरुमा भएको निर्वाचनले नेपालगञ्जको दैनन्दिनीमा कस्तो असर गर्छ भन्नेकुराले यहाँ कुनै महत्व राख्दैन । अरु चार राज्यको निर्वाचनले खासै कुनै असर नगरेतापनि हाम्रो सीमासँग जोडिएको राज्य उत्तरप्रदेशमा हुने सत्ताको उलटफेरले यताको छिमेकमा केहि नै केहि त असर पक्कै गर्छ । त्यसैले पनि यहाँका जनताको चासोको बिषय उत्तरप्रदेशको निर्वाचन बन्ने गरेको छ ।

नेपालको तराइमा बस्ने र नेपाल सीमाबाट बीस तीस किलोमीटर भारतको भूमिमा बस्ने जनताको नातेदारी देखि कामकाजसम्मको सिधै सम्बन्ध एकअर्कासँग जोडिएको छ । यहि सीमाभित्र मात्रै पनि कुनैसमय भारतका गृहमन्त्री राजनाथसिंहले दिएको मन्त्तव्यलाई आधार मान्ने हो भने बीसौं लाख मानिसको सिधैसम्बन्ध रहेको छ ।

उत्तर प्रदेशको यसपटकको निर्वाचन नेपालमा मात्रै होइन संसारका धेरै पत्रकारहरु, बुद्धिजीवीहरु र बिभिन्न देशलाई निकै चासोको बिषय भएको छ । यसो हुनुको मुख्य कारण भनेको त्यहाँका फायरब्राण्ड भगवाधारी सन्त मुख्यमन्त्री योगी आदित्यनाथ र उनको पछिल्लो पाँच बर्षको काम नै हो । उनीमाथि त्यहाँ रहेका अल्पसंंख्यक भनिएका मुस्लिमहरुको अधिकारमा भएको हस्तक्षेपको आरोप छ । गरिखाने भनिएका केहि नवावरुपी मुस्लिमहरुको उगाही गतिमा कतै न कतै धक्का पुगेको हुनुपर्छ । यसैले योगी एउटा कट्टर हिन्दूवादी नेता मात्रै होइन ठोकोवादी नेता पनि भएका छन् । उनको छवि यस्तै बनेको छ या न्यारेटिभ बनाइएको छ । यो बिषय अलग्गै हो ।

यसमा कुनै शंका छैन कि उनको पार्टी भाजपाको छवि नै हिन्दूवादी पार्टीको रहेको छ । अयोध्यामा मुगलहरुको अतिक्रमणको निशानीको रुपमा रहेको बाबरी मस्जिदलाई सन् १९९२ मा भाजपा र हिन्दू स्वयंसेवक संघको संयुक्त प्रयासमा भत्काइएपछि स्वयंय सेवक संघ निर्देशित, दिक्षित भाजपाको छवि नै कट्टर हिन्दूवादीको रुपमा स्थापित गरियो । संसारका धेरै मिडियाहाउसहरु देखि हिन्दू अस्मिताबाट मुटु पोल्नेहरुका लागि त्यो घटना चानचुने कुरा हुनै सक्दैनथ्यो । आजसम्म पनि त्यहि घटनाको वरिपरि ती तत्वहरुले आफ्नो धर्मनिरपेक्षताको दुपट्टा खोजिरहेका छन् । दोकान चलाइरहेका छन् ।

पछिल्ला केहि बर्षहरुमा हिन्दूहरुलाई देखिसक्न नचाहनेहरुले भाजपालाई हिन्दू खतरामा छ भन्ने न्यारेटिभ बनाएर सत्तासीन भै रहेको र मुस्लिमहरु माथि अत्याचार गरेको आरोप लगाएर निकै मानवतावादी भएको गौरव गर्छन । यसमा कति सत्यता छ भन्ने कुरा केहि यी तथ्यांङ्कहरुले पनि प्रष्ट पार्ला कि !

भारतको बिभाजनका बेला पाकिस्तानको जनसंख्या (बंग्लादेश समेत) झण्डै ८ करोड रहेको थियो । जसमध्ये हिन्दूहरुको जनसंख्या झण्डै १३ प्रतिशत अर्थात १ करोड भन्दा धेरै रहेको थियो । जुन सन् २०२० सम्म आइपुग्दा पाकिस्तानमा जम्मा १ प्रतिशत र बंग्लादेशमा ८ प्रतिशत रहेको छ । संख्याका आधारमा नै भन्ने हो भने दुबै देशमा रहेको हिन्दूहरुको संख्या सत्तरी बर्ष पहिला रहेको संख्याभन्दा कम भएको छ ।
भारतमा सन् १९४७ ताका हिन्दूहरुको जनसंख्या प्रतिशत झण्डै ९४ रहेको थियो । त्यस बखतको भारतको जनसंख्या ३६ करोड रहेकोमा ३१ करोड हिन्दू थिए । सन् २०२१ सम्म आइपुग्दा भारतमा हिन्दूहरुको जनसंख्या झण्डै ७८ प्रतिशतमा झरेको बिभिन्न तथ्याङ्कहरुले पुष्टि गरेका छन् । अर्थात हिन्दूहरुको जनसंख्या प्रतिशत मात्रै होइन तुलनात्मक रुपमा हिन्दूहरुको जनसंख्या नै पाकिस्तान, बंग्लादेश, भारतमा घटेको घट्यै छ । जनसंख्या घट्नुलाई जनसांङ्खिक खतरा मान्ने कि नमान्ने ?

यी सबै तथ्याङ्कहरुले कहाँनिर हिन्दू जनसंख्या खतरामा नरहेको पुष्टि गर्छ ? यहाँ हिन्दू इतरहरुको जनसंख्याको बृद्धि हेर्ने हो भने पाकिस्तान होस् बंग्लादेश, नेपाल, भारत जहाँसुकै अप्रत्यासित रुपमा बढेको बढ्यै छ । एउटा अनुसन्धानले त अबको १० बर्षमा पाकिस्तानमा र २५–३० बर्षमा बंग्लादेशमा हिन्दूहरु नै रहने छैनन् ।

गत दूर्गापूजाका बेला बंग्लादेशमा हिन्दूहरु माथि आक्रमण भयो । मलाई बंग्लादेशका केहि हिन्दूहरुले आफ्ना दुखेसा सुनाउनु भयो । नेपालमा भर्खरै छठको पूजा र सरस्वती पूजाका बेला जनकपुरमा हिन्दू माथि ज्यादती भयो । भारतको पश्चिम बंगाल राज्यमा काली पूजा दूर्गा पूजाका बेला हिन्दूहरु माथि आक्रमण नभएको कुनै बर्ष नै छैन । फेरि पनि हिन्दू कुनै खतरामा छैन । यो कस्तो न्यारेटिभ हो ?
बंग्लादेश की महसुर लेखिका तसलीमा नसरीनले आजभन्दा दुईदशक पहिला आफ्नो पुस्तक ‘लज्जा’ मार्फत बंग्लादेशमा भएको हिन्दू माथिको बर्बता होस् सुनाएकै कारण देश निकाला भएकी होइनन् र ?पाकिस्तानी बुद्धिजीवी तारिक फतहले पाकिस्तानमा भएको बर्बताको उजागार गरेकै कारण निर्वासनमा बस्न बाध्य भएका छैनन् र ?आजसम्मका सबै घटनाहरुले हिन्दूहरु माथि गैर हिन्दूबाट भएको अत्याचार नै देखिन्छ त ।

एउटा अनुसन्धान प्रतिवेदनका अनुसार बंग्लादेशको निर्माण ताका त्यहाँ भएको हिन्दूहरुको नरसंहारमा झण्डै तीस लाख हिन्दूहरुलाई बेघर बनाइएको र ४ लाख महिला तथा बालिकाहरु बलात्कृत भएका थिए । बंग्लादेशबाट प्रताण्डित बनाइएकाहरु जो भारतमा आएर शरणार्थीको रुपमा बसेका छन् उनीहरुका सन्तानले आजपनि आफ्नो मातृभूमि बंग्लादेशप्रति माया त गर्छन् तर तीअत्याचारका दिनहरु सम्झनै चाहँदैनन् ।

अहिले हिन्दूहरुको उदारचरितानां वसुधैव कुटुम्बकम् को आर्दशलाई तेजोबध गर्नमा आनन्द मान्ने धर्मनिरपेक्षको नौटङ्की गर्नेहरुका आँखामा ‘हिन्दू खतरामा छ‘ भन्ने कुरा न्यारेटिभ मात्रै लाग्छ । आजपनि केहि गलत न्यारेटिभ बनाउनेहरु नेपालमा रहेको मौलिक धर्म, सँस्कृति, भाषा, सभ्यता र नेपाली मौलिकताको बिनासलाई सम्पन्नता, अधिकार र विकास मान्छन् । नेपालको ‘डेमोग्राफि’ परिवर्तन गर्ने लक्ष्य राखेर मिशनमा लागेहरुले देख्ने र लेख्ने पनि यहि हो कि ‘हिन्दू कहाँ खतरामा छ र ? छैन नि !’

हिन्दू बाहुलता हुँदाहुँदै पनि भारतका हिन्दूहरुले पटकपटक ठूलो क्षति मात्रै बेहोरेका छैनन् आफ्नो पुस्तनी घरबास थातथलोबाटै पलायन हुन बाध्य भएका छन् । १९४७–४८ होस् या १९९० मा भारतीय राज्य कश्मीरमा हिन्दूहरुको नरसंहार भएको कुरा संसार सामु छर्लङ्ग छ । आज हिन्दू बोल्दा लेख्दा या आफ्नो साँस्कृतिक पहिचानलाई सुरक्षित राख्न खोज्दा हिन्दू अतिवादी हुन्छ । आफ्नो साँस्कृतिक धरातल र हिन्दू सनातनको भूमिको साँस्कृतिक बिरासत माथि खुलेआम हस्तक्षेप भैरहँदा त्यसको प्रतिरोध गर्नसम्म पनि नसक्ने अवस्थामा आएको छ । पछिल्ला दिनहरुमा नेपाल जस्तो देशमा समेत रौतहट, जनकपुर, सिराहा, बाँके र सुनसरी जस्ता ठाउँहरुमा हिन्दूका छोरीबेटीहरुलाई फकाउने उठाउने काम भए । उजुरी गर्न जाँदा प्रशासनले धार्मिक सम्प्रदायिकताको पाखण्डी जवाफ दिएर आफ्नो उत्तरदायित्वबाट पन्छियो । रौतहटमा त उजुरी गर्न गएकालाई नै थुनेर निकै गौरव गर्यो । यी र यस्ता घटना त प्रतिनिधी घटना मात्रै हुन । बर्षौ देखि नै हिन्दूहरुको मौनतालाई आफ्नो शक्ति मान्नेहरुको मनमानी आजपर्यन्त चलेकै छ । यहि स्थिति रहे अझै बढ्ने छ ।

भारतमा सन् २०१४ पछि मात्रै हिन्दू सनातनीहरुले वास्तविक रुपमा ठाडो शिर गर्न थालेका हुन । झण्डै एक हजार बर्षको मुगल र अँग्रेजहरुको गुलामीको जंजीरबाट भारतीय सँस्कृतिले भर्खर स्वतन्त्रताको प्रयास गरेको छ । हिन्दूले कोहि कसैको आजसम्म धार्मिक नरसंहार गरेर बलियो बन्ने प्रायस गरेको छैन । आजपनि हिन्दूको सर्वधर्म समभावको नीति यथावत छ । तर यो शान्तिप्रिय सम्प्रदायलाई गाली गरेर बिभिन्न ‘न्यारेटिभ’ बनाएर असत्य साबित गर्नेहरुले हिन्दू सनातनको वैविध्यता, यसभित्रको ज्ञान परम्परा, यसभित्रको नैतिकता र हिन्दू सनातनको सभ्यताको लामो इतिहास र तथ्य इमान्दार भएर कुनै पक्षपात रहित भएर अध्ययन गरुन् । कसले कुन उद्देश्यका लागि के भन्यो भन्नू भन्दा पनि वास्तवमा नै ‘आज हिन्दू खतरामा छ ’ यो सत्य हो । यो त विगत र वर्तमानले देखाएको तथ्य हो ।

प्रतिक्रिया

प्रतिक्रिया