
१) टुर दि ठाकुरद्वारालाई कसरी पर्यटकीय आयोजना बनाउन सकिन्छ ?
बिगत केही बर्ष देखि आयोजना भइरहेको टुर दि ठाकुरद्वारा आफैमा एउटा चिनारी बनिसकेको छ । समग्र बाँके र बर्दियाबासीको पहिचान सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जोड्ने सेतुको काम गरेको छ यो आयोजनाले । अझै यसको बृहत्तर बिकासको लागि एकिकृत रुपमै बाँके देखि बर्दियासम्मको ९० किमि साईकिल रुटलाई ग्रामीण साइकल रुट भनेरै सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले सोही अनुरुप सडकको निर्माण, ठाउँ ठाउमा साइकल बिसौनी र शौचालयको निर्माण कार्यक्रम अगाडि बढाउनु पर्ने हुन्छ । जसले यस्ता बार्षिक कार्यक्रम मात्रै नभै पारिवारिक तथा युथहरु बीच साइकलमै ठाकुरद्वाराको यात्रा गर्ने परम्पराको बिकास हुन गई साइकल होलिडे कल्चर पनि बिकास गर्न मद्दत पुग्छ । जसले आन्तरिक तथा बाह्य पर्यटनको बिकासमा ठुलो परिवर्तन ल्याउने छ ।
२. के गर्याे भने ठाकुरद्वाराको पर्यापर्यटनलाई आर्थिक सामाजिक रुपमा जोड्न सकिन्छ ?
सम्बन्धित पालिकाहरुबीचको बीचमा यस बिषयमा समान उद्देश्यका आयोजना जसले साइकल यात्रामा सहजता ल्याउन सकोस् र यात्रीहरुमा यात्रा अबधिको सुरक्षाको अनुभूति गर्न सकुन् । साइकलको प्रयोगमा उत्प्रेरणा भर्न सकोस् जसले ईन्धनको प्रयोगमा कमि ल्याई वातावरणीय प्रदुषण पनि कम गर्न सहयोग पुग्नेछ र यसमा केन्द्र तथा प्रदेश स्तरबाट पनि फागुन १८ गतेलाई (स्वास्थको लागि साइकल) राष्ट्रिय साइकल दिवसको रुपमा मनाएरै यो अभियानलाई ब्यापकता दिनु पर्ने देखिन्छ ।
साथै अर्काे पाटोमा ब्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा भन्दा पनि आपसी समन्वयको बाटोबाट होटलको स्तरीकरण, सरसफाई तथा ग्राहक सेवा सुविधामा ध्यान केन्द्रित गरि आवश्यक दक्ष जनशक्ति प्रयोग गरि ग्रामीण स्तरमा रहेका अदक्ष जनशक्तिलाई आवश्यक प्रशिक्षण प्रदान गरि दक्ष बनाई स्थानीय स्तरमै जनशक्तिको प्रयोग गरि ‘दोहोरो फाइदा’को रणनीति अवलम्वन गरि संचालन खर्चमा केही कटौती हुन गई प्रत्यक्ष अप्रत्यक्ष रुपमा ग्राहक बर्गमा सुपथ मुल्यमा सेवा दिन सकिने हँुदा यस्ले आन्तरिक पर्यटनको बृद्धिमा धेरै सहयोग पुग्ने देखिन्छ ।
३. वास्तवमा मानिस ठाकुरद्वारा किन आउने ?
जैविक विविधताको खानी नेपाल कै ठुलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज आफैमा प्राकृतिक रुपमा सुन्दर त छदैछ । पछिल्लो दिनमा निकुञ्ज स्थापना भएयता आहार प्रजाति संगै बाघको संख्यामा बृद्धि पनि प्रमुख कारण हुन सक्छ । त्यसमा पनि स्थानीय थारु कम्युनिटिको भेषभुषा, आथित्यता अनि साधारण प्रबृत्तिको जीवनशैलीले यसलाई अझै श्रृगारेको छ । जसको बिबिधता र सुन्दरताले जो कोहीलाई पनि आकर्षण गर्छ नै ।











