भारतीय रुपैयाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
भारतीय सुरक्षाकर्मीले बिसीसँग ६ लाख ४० हजार भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको बताएको छ । भारत उत्तरप्रदेश निर्वाचनका क्रममा रहेकाले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । स्रोतका अनुसार, बिसीले आफुले ल्याएको रकमको स्रोतबारे प्रहरीलाई जानकारी दिएपछि जबर्जस्ती प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । ‘अनाहक नियन्त्रणमा लिइएको देखिन्छ’, एक भारतीय पत्रकारले भने ।
नेपालबाट भारतमा मानिसहरु श्रमका लागि जाने गरेका छन् । उनीहरु बर्षौसम्म त्यही काम गर्ने र नगद लिएर फर्कने गरेका छन् । एउटै व्यक्तिले अन्य साथीभाईको पैसा समेत फर्कदा लिएर आउने गरेका छन् । भारतमा नेपालीले बैंक खाता खोल्न निकै अप्ठ्यारो हुने, बैंकिङ्ग प्रणालीबारे थाहा नै नहुने र निरक्षर तथा सामान्य पढेलेखेका नेपालीले यसरी पैसा लिएर आउँदा फसाउने कार्यले सीमावर्ती नेपालीले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘भारतबाट नेपाल र नेपालबाट भारत नगद पैसा बोकेर नै कारोबार हुने गरेको छ, तर दुःख दिने नियत हुने यस्ता कार्यले दुई देश बीचका नागरिकमा असन्तुष्टि पैदा हुन्छ’, सीमामा आउजाउ गर्ने एक व्यवसायीले भने, ‘यस्ता घटना नहोस् भनेर दुवै देशका अधिकारी गम्भीर हुनुपर्दछ ।’