कोरोना कहरका कारण अनिश्चित हुँदै गएको साइकल उत्सव, ‘टुर दी ठाकुरद्वारा’को चौथो संस्करणको औपचारिक तयारी सुरु गर्दै सचिवालय उद्घाटन गरिएको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबले चौथो संस्करणको टुर दी ठाकुरद्वाराको सचिवालय मंगलबार नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले उद्घाटन गरिन् ।
यससँगै यात्रामा सहभागिताका लागि दर्ता खुला गरिएको आयोजनाका संयोजक सुरेन्द्रदिप कार्कीले जानकारी दिए । सचिवालय शुभारम्भ गर्दै उपप्रमुख थापाले नेपालगन्जका साइकल यात्रीले बाँके जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धन गरेको उल्लेख गरिन् ।
क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार, आगामी फागुन २० र २१ गते नेपालगन्ज साइकल फेस्टिभल–२०२२ का रुपमा बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न साइकल यात्रा हुनेछ । ‘आयोजनालाई अघिल्ला संस्करण भन्दा पृथक र भव्यता दिने कोशिश हो’, क्लब अध्यक्ष निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘तर, निर्वाचन घोषणा र कोरोना कहरको अवस्था कायमै रहेकाले जसरी हुन्छ आयोजनालाई निरन्तरता दिऊ भन्ने अभियानमा लागेका छौं ।’ यद्यपि आयोजनालाई सक्दो उत्सवमय बनाउने क्लब अध्यक्ष निरौलाको भनाइ छ ।
दैनिक नेपालगन्जसँग संक्षिप्त कुरा गर्दै निरौलाले पहिलो संस्करण सन् २०१९ मा ५० जनाको सहभागिताबाट आयोजना सुरु भएको सम्झिए । ‘दोस्रो संस्करणमा सहभागिता संख्या दोब्बर भएको थियो भने सन् २०२१ मा गरिएको तेस्रो संस्करणमा १ सय ५० जना सहभागिता रह्यो’, अघिल्ला तीन वटै संस्करणका कार्यक्रम संयोजक रहेका निरौलाले भने, ‘यसपटक कम्तिमा दुई पटक साइक्लिष्ट सहभागिताको आशा गरेका छौं ।’

किन आवश्यक टुर दी ठाकुरद्वारा ?
नेपालगन्ज सहरमा देशभर र छिमेकी मुलुक भारतका साइक्लिस्टहरुलाई ल्याउने र बाँके, बर्दियाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि टुर दी ठाकुरद्वारा आयोजना गर्न लागिएको हो । यसले बाँके र बर्दियालाई भावनात्मक रुपमा त जोडेको छ नै आन्तरिक तथा बाह्य पर्यटकीय दृष्टिले पनि लिंकअप गर्न खोजेको छ ।
अघिल्ला भन्दा यस पटक फरक तयारी के हो ?
यसपटक हामी नेपालगन्ज साइकल उत्सवका रूपमा टुर दी ठाकुरद्वारलाई स्थापित गर्ने प्रयत्न गरेका छौं, सहभागिताका हिसाबले यो संस्करण बिशेष र फरक हुनेछ भन्ने विश्वास छ । सोही अनुसार हामीले तयारीलाई अगाडि बढाएका छौं ।
नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजकका दृष्टिले गरेको अपेक्षा के हो ?
हामीले यो संस्करणमा देशका सबै सहर र भारतका प्रमुख सहरबाट सहभागिताको अपेक्षा गरेका छौं । विश्वास छ, समय कम भएपनि बढीभन्दा बढीले सहभागिता जनाउनु हुनेछ । त्यसका लागि तपाईहरु सबै सञ्चारकर्मीदेखि बाँके, बर्दियाबासी नागरिकले विशेषत आ–आफ्नो ठाउँबाट सघाउनुहुनेछ भन्ने पनि अपेक्षा छ ।
स्थानीय सरकारले कत्तिको सकारात्मक भूमिका खेलिरहेका छन् ?
स्थानीय सरकारलाई हामी यो कार्यक्रमको महत्वका बिषयमा बुझाउन सफल भएका छौं । बाँके र बर्दियाका स्थानीय सरकारबाट राम्रो रेस्पोन्स पाएका छौं । यो कार्यक्रम सिङ्गो नेपालगन्ज सहरको कार्यक्रम हो । हामी आयोजक त यसको माध्यम मात्रै हौं । त्यसैले नेपालगन्ज सहरबासी र उपमहानगर र ठाकुरबाबा नगरपालिकाले यसको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।











