अहिलेको कुरा मात्र होइन विश्वमा नै सदियौं देखि एउटा धर्म समुदाय विशेष छ जसलाई निशाना बनाएर सत्ताको रोटी सेक्ने इतिहास रहेको छ । तपाई जब विश्व इतिहास खोतल्नु हुन्छ तब भेटाउनु हुनेछ कि कसरी त्यो धर्म समुदायको नामलाई बद्नाम गरेर सत्ताधारीहरुले आफ्नो कुर्सी पाउन र जोगाउनका लागि हिंसा गराए, नरसंहार गराए अनि आफु मुकदर्शक भइ बसे ।


हो त्यो धर्म इस्लाम हो । जसको धार्मिक समुदायलाई मुसलमान भनिन्छ जुन समुदायको धार्मिक ग्रन्थ अवतरित किताब कुरानपाक हो । जुन किताबभित्र मानव जीवन सहज बनाउन सुझाव सहितको आदेश विवाह, तलाक, सबै धर्मलाई सम्मान गर्ने, शिक्षाको अधिकार, अनाथ बालबालिकाहरुका अधिकार, बाल अधिकार, एकल महिलाका अधिकार,पत्नीका अधिकार, छोरीका अधिकार,समानताको अधिकार, अभिभावकको दायित्व, सन्तानको दायित्व, छिमेकीको अधिकार, पर्दाको आवश्यकता, पृथ्वी,आकाश, समुन्द्र, चन्द्र, सूर्य, नक्षत्र, मानव, जीवजन्तु, पशुपंक्षी, रुखविरुवा, स्वर्ग, नर्क आदिको सृष्टिको इतिहास देखि अन्तिम दिन प्रलयको बारेमा विस्तृत जानकारी रहेको छ ।
बेला बेलामा यही तीन नामसंग जोडिएका कुरालाई उचालेर केही व्यक्तिहरु आफु आधुनिक, सेक्यूलर, उदारवादी र मोर्डन भनी दर्शाउन यिनमाथि सवाल खडा गर्छन् । कहिले कोही आउंछ र भन्छ कुरानपाकबाट यी आयात निकाल्नुपर्छ , कसैले भन्छ इस्लाम कट्टरवादी धर्म हो , कसैले भन्छ इस्लाममा त बहुविवाह छ, कोही भन्छ इस्लाममा महिलाहरुलाई दासी बनाएर राखिन्छ । तर यी कथित बयानबाजी भन्दा इस्लामको यथार्थ फरक छ ।जसलाई गहिराईमा गएर बुझेपछि मात्र सत्यतथ्य थाहा हुन्छ ।


अरु बेला महिला अधिकार, महिला स्वतन्त्रता र मेरो शरीर मेरो अधिकार भनी नारा लगाउने गर्छन् । स्वतन्त्रताको अधिकारका नाममा सभ्यताबाट टाढा गरिदिन्छन् । मेरो शरीर मेरो अधिकार भनेर महिलाहरुको अंग प्रदर्शन गराइ हिडाउने गर्छन् तब कसैले खुलेर यो भन्दैन् कि यो गलत हो । तर, त्यहीं ठांउमा त्यही महिला अधिकारको प्रयोग गरी कुनै मुस्लिम महिला हिजाब वा नकाब लगाउंछिन र महिला स्वतन्त्रता र मेरो शरीर मेरो अधिकारको उपभोग गर्दै स्वेच्छाले आफुखुशीले हिजाब लगाउंछिन् । तब केही अतिवादी सोचधारकहरु त्यसको विरोध गर्न थाल्छन् यो भनेर की इस्लाममा महिलाहरुको स्वतन्त्रता हनन् गरिएकोछ । भन्छन् कि जबर्दस्ती उनीहरुलाई पर्दा गराएर उनीहरु पहिचान लुकाइन्छ । वास्तवमा ती भ्रममा छन् जसले भन्छन् कि मुस्लिमहरु हिजाब र नकाबमा पहिचान बिहीन हुन्छिन् यथार्थमा त हिजाब र नकाबले उनलाई छुट्टै पहिचान दिलाइरहेको हुन्छ कि उनी इस्लामको अनुसार अति महत्वपूर्ण, मूल्यवान, बहुमूल्य शहजादी हुन् जो कुदृष्टिबाट आफुलाई सुरक्षित गर्न हिजाब र नकाबमा हुन्छिन् । जसको उदाहरण रुपमा तल सलमा बेगम मिंयाले भनेकी छिन् आफ्नो जीवन अनुभवमा ।

आजको मुद्दा छ बालिकाहरुलाई हिजाब लगाएर विद्यालय र क्याम्पस जान दिनुपर्छ कि नाई भन्ने सन्दर्भमा । हुन त यो मुद्दा छिमेकी मुलुक भारतमा उठेको हो जुन हाल अन्तर्राष्ट्रीय स्तरमा चर्चा र बहसको विषय भइरहेको छ ।
यसैक्रममा विश्वभरि धार्मिक स्वतन्त्रताका घटना ट्र्याक गर्ने र रिपोर्ट गर्ने संयुक्त राज्य अमेरिकाको निकायले क्याम्पसमा मुस्लिम छात्राहरूले हिजाब लगाएको विवादको बीचमा कर्नाटक सरकारको आलोचना गरेको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता (आइआरएफ) राजदूत राशद हुसैनले भने, ‘विद्यालयहरूमा हिजाबमा प्रतिबन्ध लगाइएको धार्मिक स्वतन्त्रताको उल्लङ्घन हो ।’

कर्नाटक घटनालाई लिएर हिजाबको सपोर्ट गर्दै संयुक्त राज्य अमिरात (युएइ)की शहजादीले ट्वीट गर्दै प्रश्न गरेर भनिन् ‘कसैले हामीलाई यो जवाब देऊ कि यी ५० जना पुरुषले विश्वविद्यालय भित्र एउटी छात्रालाई किन दुर्व्यवहार गरे ?’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीमा एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा कर्नाटक घटनालाई उठाउदैं भने ‘केही व्यक्तिहरूले मुस्लिम महिलाहरूलाई दबाउन खोजिरहेका छन् र उनीहरूको विकासमा बाधा पु¥याउने नयाँ उपाय खोजिरहेका छन् । हामी मुस्लिम महिलाको साथमा छौं ।’

भारतीय कांग्रेस पार्टीका राहुल गांधीले ट्वीट गरी भने ‘छात्राहरुको हिजाबलाई उनीहरूको शिक्षामा बाधा पु¥याएर भारतका छोरीहरूको भविष्य लुटिरहेका छौं । माता सरस्वतीले सबैलाई ज्ञान दिन्छिन् उनी विभेद गर्दिनन् ।’

स्कुल कलेजलाई धार्मिक स्थल बनाउनु हुँदैंन भनिदैंछ । किनभने हिजाब लगाउनेहरुसंग नाम जोडिएको छ मुसलमान । यदि साँच्चिकै विद्यालय क्याम्पस हिजाब लगाएर शिक्षा हासिल गर्न खोजेमा विद्यालय कलेजहरु धार्मिक स्थल भइहाल्ने नै हो, भने विद्यालयहरुमा पढ्ने सबै समुदायका हिन्दु, मुस्लिम, शिख, इसाइ विद्यार्थीहरुले दिने रकमबाट वर्षौं देखि गरिंदै आएको सरस्वती पूजाले भइहाल्ने थियो, सबै विद्यार्थीहरु त्यही धर्म मान्न थाल्नु पर्ने थियो होइन ? तर त्यसो त भएन । त्यो त शैक्षिक संस्थान नै रह्यो, रहन्छ । भने, हिजाब लगाएर विद्यालय गएपनि धार्मिक स्थल बन्दैन स्पष्ट छ ।

अब सनातन धर्मको कुरा गर्ने हो भने मन्दिरमा जाँदा, घरमा भागवत कथा पाठ गराउँदा, सत्य नारायणको पूजा गराउंँदा, सत्संग जस्ता पवित्र स्थान बस्दा महिला मात्र होइन् पुरुष पनि टाउको ढाकेरै बस्छन् । किनभने उनीहरुको मान्यता छ कि यस्ता पवित्र ठाउँमा देवीदेवताको बास हुन्छ । तपाई आफै भन्नुस् के स्कुल कलेज जस्ता शिक्षाको मन्दिरमा विद्याकी देवी सरस्वतीको बास हुँदैंन र ? भने त्यहाँं कोही टाउको ढाकेर जान चाहन्छ भने आस्तिकहरुले रोक्नु पर्ने कुनै कारण देखिन्छ त छैन् नि ! भन्ने हो भने जसले रोक्नुपर्छ भनिरहेछन् नि तिनलाई आफै थाहा छैन कि तिनको आफ्नो धर्ममा के छ । सबै धर्मले सभ्यताको पाठ सिकाउंछ । यस कारण उनी आफ्नो दिदीबहिनीहरु शरीर ढाकेकै हेर्न मन पराउंछन् । कसैले उनको दिदीबहिनीमाथि कर्के आंखा नलगाओस् भन्ने पूरा ख्याल र चाहना हुन्छ ।

सबै धर्मले मानवता, भाईचारा, एकता, सम्मान, सहकार्यकै पाठ सिकाउँछ । होइन भने समुदायमा बसेका फरक फरक धार्मिक आस्था र विश्वास रहेका छिमेकी एक आपसमा परिवार सरह मिलेर बसेका छन् । कसैलाई हिजाबसंँग न दिक्कत छ, नत कसैलाई पगडीसंग कुनै समस्या, अनि न त कसैलाई कसैको टीका जमरा जनै मंगलसूत्र वा सिन्दूरसंग कुनै आपत्ति छ । सब संगै बसेका फरक आस्था रहेका परिवारले एक अर्काको चांडपर्वमा खुशी साटासाट् गर्छन् । तर तुच्छ र घटिया राजनीति भन्ने कुरा सामाजिक एकता रहँदासम्म सम्भव हँुदैंन यस कारण सामाजिक एकतालाई भंग गरी आफ्नो राजनीतिक पद र कुर्सीका लागि यस्ता घटिया खेल खेलिन्छ ।
भनिन्छ, विद्यार्थीहरुलाई धार्मिक आस्था र राजनीतिबाट टाढा राख्नुपर्छ । तिनलाई यही थाहा छैन् कि धार्मिक मुल्य मान्यता अनुसार असल व्यक्ति बनाउने सही ठाउँ नै विद्यालय हो जहांँ बच्चाहरु संस्कार सिक्छन् नैतिकता सिक्छन् । अनि रह्यो कुरा राजनीति को त विद्यालय कलेज नै ती स्थान हुन् जहां बच्चाहरु राजनीति बारे पढ्छन् र राजनीतिक विषयमा पढेर विद्यार्थी नेता बनेर विद्यालय स्तर समस्या समाधान गर्दै कुशल राजनीति गर्न सक्ने योग्य राजनीतिज्ञ बन्छन् । जसले विद्यालयबाट सिकेका नैतिकता, संस्कार, सभ्यतालाई व्यवहारमा उतारेर जब समाजका मुद्दा बुझेर राजनीति गर्छन् । तब मात्र कुनै पनि समुदायको उत्थान र विकास सम्भव हुनेछ ।

हिजाबले मुस्लिम बालिकाहरुलाई अगाडि बढ्नबाट रोक्दैन् बरु उनीहरुको आत्मविश्वास बढाउंँछ उनले हिजाबमा आफुलाई सुरक्षित महसुस गर्छन् । बिना हिजाबमा जाँदा यौनहिंसाको शिकार हुने डरले परिवारले आफ्नो छोरीहरुलाई अगाडि पढ्न पठाउँदा डराउँदथे । तर हिजाब लगाएर जाने वातावरण भइसकेपछि मुस्लिम बालिकाहरु पनि उच्च शिक्षा हासिल गरी समाजमा योगदान पुर्याउदैंछन् । नेपालमा पनि यसका अनेक उदाहरणहरु छन् । आज चर्चाको मुख्य विषय हिजाब रहेकोले यस बारे केही व्यक्तित्वहरुको विचार पनि साझा गरिदैंछ ।

स्वंयसेविका कमरुनिशा अंसारी भन्छिन्, म बिहे भए देखि नकाब लगाउदैंछु । मलाई नकाब लगाएर एक्लै हिड्दा पनि असहज महसुस हँुदैंन । नकाब लगाएर हिड्दा आफ्नो आत्मविश्वास बढेको महसुस गर्छु । म आफु स्वयसेविका भएकोले मलाई खोप लगाउन, गर्भवती जांच गराउन बाहिर बाहिर हिड्नु पर्ने हुन्छ । अनि नकाबले ढाकेको हुनाले घाममा हिड्दा सुर्यको किरण र ताप अनि फोहोर धूलो आदिबाट मेरो शरीर, कपाल, अनुहार हात खुट्टा सुरक्षित हुन्छ । म हिजाब वा नकाबले मुस्लिम महिलालाई अगाडि बढ्ने र समाजमा योगदान पुर्याउने अवसर दिन्छ जसको एउटा उदाहरण म आफै स्वयं रहेको छु ।

रुपनी जि.एम. पेशाले पत्रकार र धार्मिक आस्थाले क्रिस्चियन हुन् । उनी भन्छिन्, म आफु क्रिस्चियन धर्म मान्छु र पत्रकारिता गर्छु । नेपालगन्ज जस्तो संवेदनशील ठाउँ जहाँं वर्षायाममा अति वर्षा, जाडोयाममा अति चिसो र गर्मीयाममा अति गर्मी पर्ने गर्छ । त्यस्तो ठांउमा पत्रकारिता गर्दा रिपोर्टिंग गर्ने क्रममा हिड्दा घामको पोलाइ र डढाइबाट बच्नका लागि म संधै हिजाब लगाएर हिड्ने गर्छु ।
साँच्ची भनूँं भने वातावरणीय रुपले नेपालगन्ज जस्तो संवेदनशील ठाउँमा हिजाब लगाएर हिड्दा मलाई राहत महसुस हुनेगर्छ । जुनकि मैले आफ्नो स्वेच्छाले आफ्नो सुरक्षाका लागि लगाउने गर्छु । मान्छेले नराम्रो काम गर्नु भएन् । राम्रो काम गर्नका लागि कसैलाई कुनै बहानामा रोक्नु वा कसैमाथि जबर्जस्ती गर्नु उचित कार्य होइन् । कसले के लगाउने त्यो उसको आफ्नो इच्छाको कुरो हो । यदि मुस्लिम समुदायका बालिकाहरु स्वेच्छाले हिजाब लगाएर शिक्षा हासिल गर्न चाहन्छिन् भने कसैले रोक्नु हुदैंन, न समाजले र स्कुल कलेजले । शिक्षा पाउनु सबैको अधिकार हो र कुनै पनि दबाब वा बहानामा यस अधिकारबाट कोही कसैलाई बन्चित पार्नु हुदैंन ।

सलमा बेगम मिंया जो पेशाले काठमाडौंको एक ठुलै अस्पतालमा नर्स हुन् । उनी भन्छिन्, मैले करिब सात वर्ष देखि हिजाब लगाइ रहेकी छु । मैले नुवाकोटबाट डिप्लोमा गरिरहँदा संगसगै इस्लामिक शिक्षा पनि आर्जन गरेँ । अनि मैले पनि हिजाब लगाउन सुरु गरेँ ।
सुरुमा मैले हिजाब लगाउँदा आफ्नो समुदायमा त सम्मान नै गरियो । अनि कलेजमा पनि साथीहरुले सकारात्मक रुपले नै लिए । मेरो पोष्टिंग काठमाडौंको ठुलै अस्पतालमा भयो म त्यहां ड्यूटी जाँदा पनि हिजाब लगाएर नै जाने गरँे । अहिले पनि म जहाँं जुन पनि सार्वजनिक स्थान, मीटिंग, कार्यक्रमहरुमा जाँदा हिजाब लगाएर जाने गर्छु । मलाई हिजाब लगाएपछि आफ्नो पहिचान दर्शाउंछ र आफ्नो पहिचानमाथि मलाई निकै गर्व छ । मलाई हिजाबले न पढ्नमा कुनै बाधा गर्यो न ड्यूटी गर्दा कुनै अड्चन नै । एकदमै कम्फर्टेबल महसुस गर्छु म हिजाबमा आफुलाई । हिजाबले गर्दा पहिचान हुन्छ र पहिचानले सोंच र व्यवहार परिवर्तन गर्छ ।


एक पटक होलीको बेला म जादैं थिए बच्चाहरुले लोला हान्दै थिए । अनि उनको अभिभावकले मेरो तर्फ देखाउदैं भने, ‘अरुलाई लोला हान्दा फरक परेन् त ऊ नानी जस्तो टाउको छोपेकी वा कालो कपडा (बुर्का) लगाएकी दिदीबैनीलाई नहान्नु है । किनकि उनीहरुको धर्म रंग लगाउनु हँुदैंन ।’ त्यतिखेर मलाई आफुले हिजाब लगाएकोमा निकै गर्व महसुस भयो ।

नेपालगन्ज बस्ने शाहीन बानो जो एक गृहणी हुन् उनी भन्छिन्, म कक्षा दशसम्म अध्ययन गरेकी छु । मेरो श्रीमान बिहानै पसल गइहाल्नुहुन्छ । घरमा दुई छोरा दुई छोरी र हुन्छु । अब पति दिनभरी पसलमा रहने हँुदा कहिले बच्चा बिरामी भए भने अपरझट्ट जचाउनका लागि मैले नै लग्नुपर्छ । म नकाब लगाएर बच्चालाई जचाउन होस् , स्कुल फीस तिर्न वा अभिभावक मीटिंग होस्, घरका लागि आवश्यक सरसामान ल्याउन बजार जाने सब आफै गरिरहेकीछु । पति फुर्सद हँुदैंन भने घरका जरूरी काम त रोकिनु भएन । मैले नकाब लगाएर बजार, बच्चाहरुको स्कुल, अस्पताल आदि ठाउँमा जाने सारा जिम्मेवारीहरु आफै निर्वाह गरिरहेकी छु । यसमा मलाई सुरक्षित महसुस हुन्छ र त म लगाइरहेकी छु ।


नेपालगन्ज निवासी हसीना बानो पेशाले एक समाजसेवी हुन् । उनी भन्छिन्, म एम.ए. सम्म डिग्री हासिल गरेकी छु । मैले यू.एन. को नेपालगन्ज आफिसमा इन्टर्नशिप गरेकीछु । मैले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जमा पनि इन्टर्नशिप गरेकीछु ।
मैले मदरसामा कार्य समिति सदस्य रही जिम्मेवारीहरु निर्वाह गरेकीछु । यी जिम्मेवारीहरु निर्वाह गर्दा होस् वा एम. ए. सम्म शिक्षा हासिल गर्दा होस् । मैले हिजाब र नकाब लगाएंँ । मलाई हिजाब र नकाबले अगाडि बढ्नबाट कहिल्यै रोकेन बरु अझ् अगाडि पुग्ने अवसर, साहस, सुरक्षा र आत्मविश्वास दियो । म अहिले पनि नकाब र हिजाब लगाइरहेकी छु ।

प्रतिक्रिया

प्रतिक्रिया