बाँकेमा गत तीन आ.व.मा चोरी, डकैतीका २ सय ७० मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटको तथ्यांक अनुसार गत दुई आ.व.मा लकडाउन भएकाले चोरी, डकैतीका मुद्दामा कमी आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, साधारण चोरीका घटना आ.व. २०७५/०७६ मा ८०, आ.व. २०७६/०७७ मा ५७, आ.व. २०७७/०७८ मा २८ दर्ता भएका छन् । आ.व. २०७८/०७९ को गत चार महिनामा साधारण चोरीका २३ घटना दर्ता भएका छन् ।
त्यस्तै, डाँका चोरीका मुद्दा आ.व. २०७५/०७६ मा ५, आ.व. २०७७/०७८ मा ३ दर्ता भएका छन् । नकबजनी चोरीका आ.व. २०७५/०७६ मा ४, आ.व. २०७६/०७७ मा १४, आ.व. २०७७/०७८ मा ३२ मुद्दा दर्ता भएका छन् । आ.व. २०७८/०७९ को गत चार महिनामा नकबजनी चोरीका ४ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, जबर्जस्ती चोरीका आ.व. २०७५/०७६ मा १, आ.व. २०७६/०७७ मा २ मुद्दा दर्ता भएका छन् भने सवारी चोरीका आ.व. २०७५/०७६ मा १५, आ.व. २०७६/०७७ मा ११, आ.व. २०७७/०७८ मा १२ मुद्दा दर्ता भएका छन् । आ.व. २०७८/०७९ को गत चार महिनामा सवारी चोरीका ६ वटा मुद्दा दर्ता भएका छन् ।
बर्दिया र खजुरामा डकैती अभियोगी प्रहरी नियन्त्रणमा
बाँकेको खजुरा गाउँपालिका र बर्दियामा भएको डकैती घटनाका अभियोगी पक्राउ परेका छन् । गत पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजारमा हतियार देखाई लुटपाट भएको थियो । सोही प्रकृतिको घटना माघ १७ गते खजुरा गाउँपालिकामा डकैती भयो ।
घटना प्रकृति र डकैतीको संलग्नहरु हुबहु मिलेपछि बर्दिया र बाँके प्रहरीले घटना संलग्नलाई खोजेको थियो । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले दुवै घटनामा संलग्न व्यक्तिहरु एउटै भएको अनुसन्धानबाट खुलेका बताएका छन् ।
‘घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका छौं’, उनले भने, ‘घटना हेर्दा भारतबाट आएर लुटि भारत तर्फ नै फरार हुने गरेको प्रारम्भिक रुपमा खुलेको छ ।’ उनले उनीहरु अन्य कुन, कुन ठाउँमा डकैती अथवा अपराधिक घटना घटाएका छन्, अनुसन्धानको क्रममा रहेको बताए ।
प्रहरीले बाँके र बर्दियामा मिल्ने खालको घटना प्रकृति भेटेपछि अनुसन्धानका लागि सूचना संकलनका लागि सञ्जाल नै बनाएको प्रहरीले स्रोतले बताएको छ । ‘स्थानीयको सहयोग लिने देखि सुराकीहरु खटाउनेसम्मका कार्यपछि अपराधी समातिएको हो’, एक प्रहरी अधिकारीले भने, ‘यसखालका अपराधलाई निरुत्साहित गर्न प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’ शान्त रहेको सुरक्षालाई खल्बल्याउने, तर्साउने खालको घटना भएकाले प्रहरीले अपराधीहरुको विगत समेत पत्ता लगाउने प्रहरी अधिकारीले बताएका छन् ।
गत पुस २९ गते बर्दिया बढैयाताल गाउँपालिका ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट राती पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको नगद र सुन डकैती भएको थियो । गत माघ १७ गते खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बिकको घरबाट सोही तरिका अपनाई नगद ५० हजार, सुन ३.५ तोला र २२० सि.सी.को पल्सर मोटरसाईकल डकैती भएको थियो ।
बाँके प्रहरीले घटनाका अभियोगीलाई जानकी गाउँपालिका वडा नं. ५ बुढियागाउँबाट ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरी टोलिले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । प्रहरीले घटनामा भारत रुपैडिहाका डब्लु मनिहार, भारत बाबागन्जका निजामुद्दिन कवडियालाई पक्राउ गरेको हो ।