धारा म्याराथनका साझेदारलाई आयोजकको सम्मान

गत मंसिर ४ गते शनिवारका दिन भएको सातौं धारा नेपालगन्ज म्याराथनको समीक्षा एवं साझेदारहरुलाई शुक्रवार सम्मान गरिएको छ । आयोजक क्रियटिभ ह्याण्डस्का तर्फबाट कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम ओलीले साझेदारहरुलाई सम्मान गरेका हुन् ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले उपमहानगरपालिकाले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकतामा राखेको बताइन् । नेपालगन्ज म्याराथनले सहरको ब्रान्डिङमा ठुलो योगदान दिएको हुँदा सबैले क्रमश अपनत्व लिदैं जाने धारणा व्यक्त गरिन् ।


टाइटल स्पोन्सर धारा शुद्ध तोरीको तेल उत्पादक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले धारा तेल आठौं संस्करणका लागि मुख्य प्रायोजक सुनिश्चित भइसकेको जानकारी दिए । लुुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले लुम्बिनी प्रदेशकै ठुलो प्रतियोगिताका रुपमा स्थापित नेपालगन्ज म्याराथनले यात्रा निरन्तर र नियमित भइरहेको हुँदा सबैले सहकार्य गर्न जोड दिए ।

साझेदारहरुका तर्फदेखि दैनिक नेपालगन्जका प्रधानसम्पादक तथा प्रकाशक झलक गैरेले साझेदारहरुको निरन्तरता नै नेपालगन्ज म्याराथनको सुन्दर पक्ष रहेको चर्चा गरेका थिए ।


नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् । सातौं संस्करणमा एपीएफ क्लबका किरणसिंह बोगटी र हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका थिए ।

क्रियटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको आठौं संस्करण तयारी बैशाख १ गतेदेखि थालिने धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए ।


सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा २०६३ मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगञ्ज म्याराथन आयोजना हुने गर्छ । नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई स्तरीय इभेन्टका रुपमा मान्यता प्रदान गरेका छ ।

प्रतिक्रिया

प्रतिक्रिया